समाज


प्रेमको बदला करेन्ट, जलेको शरीरसहित अस्पतालमा बेवारिसे राधिका

यातना दिने रोशनको खोजीमा दिएन प्रहरीले चासो
प्रेमको बदला करेन्ट, जलेको शरीरसहित अस्पतालमा बेवारिसे राधिका

जनकपुर अस्पतालमा उपचाररत राधिका कार्की। तस्बिर : नेपालखबर


शैलेन्द्र महतो
असार ५ , जनकपुरधाम

प्रादेशिक अस्पताल जनकपुरधामको सर्जिकल वार्ड। बेड नम्बर १४०। जीवन मरणको दोधारमा उनको श्वास चलेको छ। बेडमा छटपटाइरहेकी राधिकाका न आफन्त छन्, स्याहार गर्ने कुरुवा नै।

१० दिनपछि होसमा आएकी उनलाई जेठ १६ गते राति ८ बजे धनुषा प्रहरीले अस्पताल भर्ना गरेको थियो। 

करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा जनकपुरको थापाचोकस्थित एक घरबाट उद्धार गरेर प्रहरीले अस्पताल पुर्‍याएको थियो।
 

अहिले उनलाई​ अस्पतालकै स्वास्थ्यकर्मी र सुरक्षा गार्डले उपचार र स्याहार गरिरहेको छन्।

उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार ती युवतीको दुवै हात, दुवै गोडा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन्।

१० दिनपछि होस आएपछि मसिनो स्वरमा अलिअलि उनी बोल्न थालेकी छन्। उपचारमा संलग्न चिकित्साअनुसार घटनाको प्रकृति हेर्दा उनले दोस्रो जीवन पाएकी हुन्।

ती युवतीको नाम राधिका कार्की हो। सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा नं. २ बस्ने डम्बर कार्कीकी छोरी हुन् राधिका। 

‘घरको छतमाथि एक्लै बस्ने गरेकाले प्रहरीले उद्धार गरी अस्पतालमा भर्ना गरिदियो। ठीक भएपछि उहाँ जानु भयो', धनुषाका डीएसपी प्रदीप बहादुर क्षत्रीले भने, 'सिन्धुली प्रहरीको सम्पर्कमा पुगेको थाहा थियो। मैले लगेर भेटाइदिनु भनेको थिएँ। पछि के भयो थाहा भएन, बुझ्नु पर्छ’ 

डीएसपी क्षेत्रीको नजरमा यो घटना एकदमै समान्य हो। त्यसैले अस्पताल भर्नापछि प्रहरीले उनको घटनाबारे चासो चिन्ता राखेको देखिँदैन। तर, घटनाको प्रकृति र राधिका होसमा आउँदा दिएको बयानले उनको बर्बतापूर्वक हत्याकै प्रयास भएको छ।

राधिका अस्पताल भर्नाप्रश्चात चासो नराखेपछि घटनाको अनुसन्धान र दोषी को भन्ने तिर प्रहरी लाग्ने कुरै भएन। 

बेलाबेला स्थानीय सेक्युरिटी गार्ड हर्कबहादुर लामा अन्य अर्का सेक्युरिटी गार्डले राधिकालाई औषधि, खाना खुवाउने, दिसापिसाव गराउनेसहित हेरविचार गरिरहेका छन्।

सेक्युरिटी गार्ड लामाले राधिकाका आफन्त सम्पर्कमा आए पनि उनलाई यस्तो अवस्थामा हेरविचार गर्ने कोही नआएको बताए। 

‘३/४ दिन यता अलि अलिक होस आउँदा बोल्न थालेकी छन्। बेवारिसे अवस्थामा रहेकाले हामीले हेरविचार गरिरहेका छौं। उनले दोश्रो जीवन पाएकी छन्,’ लामाले सुनाए।

‘औषधोपचार प्रादेशिक अस्पतालले निःशुल्क गरिदिएको छ। उनको कोही नभएका थाहा पाएपछि औषधि, उपचार, चेकजाँच सबै हामीले निःशुल्क गरेका छौं’ अस्पताल प्रमुख डा. केडी दासले भने। राधिकाको शरीरको ६ ठाउँमा लागेको करेन्टको गहिरो घाउले जलेको छ।

केही भागलाई काटेर हटाउनु पर्ने उपचारमा संलग्न चिकित्सक बताउँछन्। ‘करेन्ट लागेका केही भागहरु जलेको छ। केहीको अप्रेशन गरिसक्यौँ। १/२ वटा अप्रेसन अझै गर्नुपर्छ। केही गोडा र हातका औँला पनि काम नलाग्ने हुन सक्छ। हामी प्रयासरत छौं, उनको एउटा औँला पनि काट्नु नपरोस् ,’ डा. यादवले भने। 

राधिकालाई कसले गर्‍यो। यस्तो हालत? राधिका जीवनको ठूलो संकटसँग जुधिरहेकी छन्। प्रेमीले यो अवस्थामा पुर्याएको उनी बताउँछिन्।

राधिकाले आफ्ना प्रेमी करिब २८ वर्षीया अरुण साहले नै आफूलाई हत्या गर्ने प्रयास गरेको बताइन्।

राधिकाका अनुसार अरुणको घर धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर हो। प्रेम विवाह गरी जनकपुरको थापाचोकस्थित डेरामा दुवैजना ८ महिनादेखि बस्दै आएका छन्।

जेठ १६ गते समान्य विवाद हुँदा अरुणले साँझ ७ बजे बिजुलीको तारले पहिला खुट्टामा करेन्ट लगाए। बेहोस भएपछि हात, पेटमा लगाए आफूलाई मार्ने प्रयास गरेको राधिकाले सुनाइन्। 

‘समान्य विवाद भएको थियो। अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए। म बेहोस भएपछि कहाँ के गर्यो। मलाई थाहा भएन। कसरी हस्पिटल पुगेँ त्यो पनि थाहा पाइनँ। होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् । घटना भएकै बेलादेखि रोशन बेपत्ता छन्।

प्रहरीले उनको सोधखोज गरेको छैन। राधिका र र अरुण बस्ने कोठा तीन तल्ला माथि छ। छतमा भएको एउटै कोठामा सँगै बस्ने गरेकाले विवादबारे अरुले तत्कालै जानकारी नपाएको राधिका सुनाउँछिन्। 

एकवर्ष अघि खोटाङमा राधिका र अरुणको चिनजान भएको थियो। त्यो चिनजान प्रेममा बदलियो। राधिका र अरुणले सँगै मर्ने बाँच्ने कसम खाए।

८ महिना अघि अरुणले आफूसँग प्रेम विवाह गरेर जनकपुरको थापाचोकमा सँगै राखेको राधिकाले बताइन्। 

राधिकाका अनुसार अरुणले केही दिन जनकपुरको डेरामा बस्ने त्यसपछि आफ्नो घरपरिवारमा लग्ने वचन दिएका थिए। 

त्यही विषयमा राधिकाले अब ८ महिना भयो कहिले घर लाग्नु हुन्छ जिज्ञासा गरेपछि विवाद भएके उनले सुनाइन्।

अरुण कपडा पसलमा आफू काम गर्ने गरेको बताए पनि सो विषयमा राधिकालाई केही थाहा छैन। अरुणले आफूलाई जनकपुरकै केही  होटेल र हस्पिटलमा काम लगाएको राधिकाले बताइन्।

अरुणले काम छाड्न भनेपछि तीन महिनादेखि आफू कोठामै बस्ने गरेको राधिकाले सुनाइन्। प्रेम विवाह गरेर आफूलाई हत्या प्रयास गर्ने अरुणमाथि कडा कारबाही हुनुपर्ने राधिकाको माग छ। 

‘प्रेम विवाह गरेर ८ महिना मेरो यौन शोषण गरे। वाचाअनुसार घर लग्न भनेपछि निर्मतापूर्वक मेरो शरीरको अंगहरूमा करेन्ट लगाएर एक प्रकारले मेरो हत्या नै गरे। मैले दोश्रो जीवन पाएकी छु। अरुणमाथि कडाभन्दा कडा कारबाही होस्', उनले भनिन्। 

राधिकाले आफ्नो न्यायका लागि पहल गरिदिन सबै पक्षसँग गुहार गरिन्। धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले होसमा आएकी घाइते युवतीसित बुझेर घटना विषयमा अनुसन्धान अघि बढाउने बताए।

असार १, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.