धरान उपमहानगरपालिकामा मेयरको कुर्सी सम्हालेको भोलिपल्टै हर्क साम्पाङ त्यहाँ देखिएको खानेपानी संकट समाधानका लागि खटिएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेका बलिया उम्मेदवारलाई पाखा लगाउँदै लोकप्रिय मतसहित विजयी भएका हर्क साम्पाङ (हर्कराज राई) धरानको खानेपानी समस्या समाधानको खोजीमा लागेका हुन्।
उनी बुधबार दिउँसो धरानमा वितरण गरिने सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहान अवलोकनमा पुगे।
निजी मोटरसाइकल चढेर केही सहयोगीसहित मुहानमा पुगेका उनले त्यहाँ भएका कमजोरी सच्याउने र फोहोर गर्न नदिन निर्देशन दिएका छन्।
उनी सर्दु जलाधारको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिएका छन्।
साम्पाङले बिहीबार धरान पुछारको जंगल क्षेत्रस्थित सेउती खोलाको पानी पनि अवलोकन गर्ने भएका छन्। उनले आफ्नो कार्यकालमा धरानमा पानीको समस्या हटाउने वाचा गरेका छन्।
काकाकुल धरामा खानेपानी समस्या समाधान गर्ने प्रमुख एजेन्डा उठाएरै उनले चुनाव जितेका थिए।
धरानमा केही लिटर पानीका लागि घण्टौँ लाइन बस्नु पर्ने बाध्यता उपभोक्तामा छ। धरानमा एसियाली विकास बैंकको सहयोगमा भूमिगत पानी निकालेर संकट टार्ने प्रयास असफल भइसकेको छ।
हर्कसहितका अभियन्ताले एडीबीको परियोजनामा भ्रष्टाचार मात्रै भएको आरोप लगाएका छन्। हर्कले धरानको पानी समस्या दीर्घकालीन समाधानका लागि सप्तकोसी नदी उचित विकल्प भएको बताउँदै आएका छन्।
प्रतिक्रिया