ad ad

समाज


मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको अन्तिम चरणमा

मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको अन्तिम चरणमा

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०७९ शनिबार १०:१२, बागमती

सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौंडा) सडक खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
 

अहिहले राजमार्गको पश्चिम खण्डको काम तीव्र रूपमा भइरहेको छ। हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौंडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए।     

यो राजमार्गमा पर्ने बागमती नदीमा पुलसमेत निर्माण भई सञ्चालनमा आइसकेको छ।

पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्म सडकको लम्बाई ११५ किलोमिटर छ। 

वि.सं २०७३ कात्तिकमा सम्झौता भएको यो राजमार्गको निर्माण गर्न विभिन्न समयमा अवधि थप भएको थियो। थपिएको ममय अनुसार २०७७ फागुनभित्र सडक सम्पन्न गर्नुपर्ने थियो। तर, कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी अहिले तीव्र रूपमा काम भइरहेको छ।

पश्चिम खण्डमा राजमार्गको निर्माणको जिम्मा कालिका, स्वच्छन्द र रकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माणको जिम्मा लिएका छन्।

एघार मिटर चौडाइ रहेको सडक खण्डको अधिकांश स्थानमा कालोपत्रे भइसकेको छ। सात मिटर चौडाइ रहेको दोस्रो लेयरमासमृत कालोपत्र भएको दासले जानकारी दिए।

सिन्धुली सदरमुकाम कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो।

राजमार्गको नक्सांकनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ। 

यस राजमार्गको  अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .