ad ad

समाज


निर्मला हत्या प्रकरणः यातना भोगेका विशालको उजुरी किन लिएन प्रहरीले?

निर्मला हत्या प्रकरणः यातना भोगेका विशालको उजुरी किन लिएन प्रहरीले?

गोकुल जोशी
असार ७, २०७६ शनिबार ६:२,

निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना भोगेका विशाल चौधरीको यातनाविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

कञ्चनपुरका तत्कालीन डीएसपी कृष्णराज ओझासहित चार प्रहरीले आफूलाई हिरासतमा शारीरिक र मानसिक यातना दिएको उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय पुगेका चौधरीको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो।

प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि दर्ता गराउनका लागि सरकारी वकिलसमेत गुहारेका विशालको जाहेरी अहिले पनि अलपत्र छ। प्रहरीले म्याद नाघेर आएका कारण जाहेरी दर्ता नहुने जवाफ दिएको छ।

बुधबार र बिहीबार दुई दिन प्रयास गर्दा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी विरुद्धको यातनाको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि शुक्रबार विशाल चौधरी र अधिकारकर्मीहरुले जिल्ला सरकारी वकिल कार्यालय गुहारेका थिए।

जाहेरी दर्ता नभएमा माथिल्लो प्रहरी निकाय वा जिल्ला सरकारी वकिल कार्यालयमा त्यसको व्यहोरा खुलाई निवेदन गर्न सक्ने कानुनी व्यवस्था छ। त्यही व्यवस्था अनुरुप विशाल प्रहरीविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयसम्म पुगेका हुन्।

यस्तो अवस्थामा जिल्ला सरकारी वकिल कार्यालयले उक्त निवेदनको अभिलेख राखी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था रहेको छ।

यसै व्यवस्था अनुसार जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता देवराज भारतीले प्रहरी कार्यालय कञ्चनपुरलाई उक्त उजुरी उपर कारबाहीका लागि पत्र पठाएको बताए। तर, सरकारी वकिलको सहायता लिएका विशालको जाहेरी दर्ता भएन्। यातनाविरूद्ध उजुरी दिने ६ महिने हदम्याद शुक्रबार सकिँदै थियो।

हदम्यादभन्दा १५ मिनेट ढिला जाहेरीको पत्र आएका कारण जाहेरी दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर विष्टले बताए।

सुरुमा चौधरीले डीएसपी ओझासहित अन्य ४ जनाविरुद्ध उजुरी दर्ताको प्रक्रिया अगाडि बढाए पनि पछि कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख (एसपी) कुवेर कडायत, डीएसपी ओझा, विशेष अनुसन्धानमा खटिएका प्रहरी उपरिक्षक दुर्गा सिंह (चन्द) र अन्य २ जना नाम नखुलाइएका विरुद्ध यातनाको उजुरी दर्ता प्रक्रिया थालेका थिए।

बिहीवार आफ्नो क्षेत्राधिकार बाहिर भएको भन्दै डीएसपी ज्ञानबहादुर विष्टले जाहेरी दर्ता गर्न मानेका थिएनन्। चौधरीले तयार गरेको पछिल्लो उजुरीमा भीमदत्तनगर–१८ स्थित सालघारीको अस्थाई प्रहरी पोस्टका तत्कालीन प्रमुख (असई) रामसिंह धामीको नाम हटाइएको छ।

निर्मला हत्या प्रकरणमा काठमाडौँबाट पक्राउ परेका प्रदीप रावलको बयानपछि विशाल गत मंसिर १९ गते कञ्चपुरको सालघारीबाट पक्राउ परेका थिए। दुवैलाई महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा राखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितको टोलीले बयान लिएको थियो।

यसअघि उनीहरु दुवैजनाले आफूहरुलाई हत्या स्वीकार गर्न प्रहरीले शारीरिक र मानसिक यातना दिएको बताएका थिए। यातना दिएर निर्दोषलाई घटना कबुल गर्न लगाइएको समाचार प्रकाशित भएपछि र डीएनए रिपोर्ट नमिलेपछि उनीहरुलाई प्रहरीले छाडेको थियो।

अनुसन्धानको क्रममा प्रहरीले आफूहरुलाई यातना दिएर अपराध कबुल गर्न लगाएको विशालले बताएका छन्। ‘अनुसन्धानको क्रममा धेरै यातना दिइयो, पेस्तोल देखाएर डराउने काम भयो, आँखामा पट्टी बाँधेर कुटपिट भयो’, विशालले भने,’ त्यसैले यातना विरुद्धमा ती प्रहरीविरुद्ध जाहेरी दिन लागेको हुँ तर दर्ता भएन।’

उता अधिकारकर्मीहरुका अनुसार प्रदीप रावलले पनि जाहेरी दिने तयारी गरेका छन्। काठमाडौँबाट पक्राउ परेकोले प्रदिपले त्यहीँबाट मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएका छन्।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

घटना घटेको एक बर्ष पुग्नै लाग्दा समेत हत्याराको पहिचान हुन सकेको छैन। घटनाको अनुसन्धानका लागि सातवटा छानविन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .