ad ad

समाज


जंगलमा भन्दा पिँजडामा धेरै बाघ

जंगलमा भन्दा पिँजडामा धेरै बाघ

एलेक्स हानाफोर्ड
कात्तिक २९, २०७६ शुक्रबार १२:३१,

यस्तो समाचार शीर्षक देखियो जसलाई बेवास्ता गर्न असम्भव थियो : ‘गाँजा खानेहरुले रित्तो घरमा बाघ फेला पारे, प्रहरी भन्छः नसाको सुरमा तिनले बाघ देखेको होइन।’

गत फेब्रुअरीमा एउटा समूह गाँजा खान टेक्ससको सबैभन्दा ठूलो सहर ह्युस्टनस्थित एउटा रित्तो छाडिएको घरमा पसेको थियो। उनीहरुले त्यहाँ पिँजडामा कैद बाघ फेला पारे। नाइलनको डोरी र एउटा स्क्रुड्राइभरले मात्र पिँजडा बन्द गरिएको थियो। ह्युस्टन प्रहरीका सार्जेन्ट जेसन एल्डरेटले स्थानीय टेलिभिजनलाई भने, ‘यो लागूऔषधको असर थिएन। त्यहाँ साँच्चैको बाघ थियो!’

फेला परेको बाघको न्वारन गरियो, ‘लोकी।’ र त्यसलाई सुरक्षित स्थानमा पठाइयो। अमेरिकामा यो एक्लो घटना होइन।

जंगलमा जति बाघ छन्, त्यो भन्दा बढी अमेरिकी घरमा छन्। यो प्रायः उल्लेख भइरहने तथ्यांक हो। यूएस फिस एन्ड वाइल्डलाइफ सर्भिसका अनुसार विश्वभर जंगलमा ३२ सयदेखि ३५ सयको हाराहारीमा बाघ छन्। तर, विभिन्न अनुमानअनुसार अमेरिकामा मात्रै कैद बाघको संख्या करिब ५ हजार छ। यो संख्या अझ बढी पनि हुन सक्छ। किनभने अमेरिकी फार्म हाउस, अनुमति नलिई सञ्चालन गरिएका चिडियाखाना, अपार्टमेन्ट, ट्रक स्टप र निजी प्रजनन् केन्द्रमा कति बाघ छन् थाहै छैन। तिनको स्वामित्वसम्बन्धी राज्य, केन्द्र र काउन्टीको छुट्टाछुट्टै कानुनका कारण गडबडी पैदा भएको छ।

विश्व वन्यजन्तु कोषका अनुसार अमेरिकामा मानिसको नियन्त्रणमा रहेका बाघमध्ये ६ प्रतिशत मात्र चिडियाखाना र अनुमति लिएका स्थानमा छन्। बाँकी निजी स्वामित्वमा छन्। केहीलाई यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर्सले नियमन गरेको छ भने अन्य राज्यको कानुनअनुसार छन्। केहीको कतैबाट नियमन भएको छैन। ‘कुनैकुनै राज्यमा त स्थानीय सेल्टरबाट कुकुर ग्रहण गर्नुभन्दा बाघ किन्नु सजिलो छ,’ डब्लुडब्लुएफ भन्छ।

टेक्ससले २ सय ५४ वटै काउन्टीलाई खतरनाक जंगली जनावरको स्वामित्व नियमन गर्ने अधिकार दिएको छ। यस्तो अवस्थामा त्यहाँ कति बाघ छन्, अनुमान गर्न पनि मुस्किल छ। टेक्सस व्यक्तिगत स्वतन्त्रता प्रबद्र्धन गर्नुलाई गर्वको कुरा ठान्छ। यहाँका मानिसहरु खुलेआम एआर १५ राइफल बोक्न, क्याम्पसमा पेस्तोल लैजान मन पराउँछन्। यस्तो राज्यमा बाघ पाल्नुलाई केही मानिले ईश्वरप्रदत्त अधिकार मान्नु अनौठो होइन।

तर, ठूलो मूल्य तिरेर मात्रै यस्तो ‘अधिकार’ प्राप्त गर्न सकिने लोकीको दुःखद् अवस्थाबाट थाहा हुन्छ। लोकी ५÷३ फिटको पिँजडामा कैद थियो। पिँजडा मानिस बस्न छोडेको घरको अँध्यारो ग्यारेजमा छोडिएको थियो। पिँजडाको भुइँ प्लाइवुडबाट बनेको थियो। प्रहरीले तीन महिनापछि मात्रै बाघको मालिकलाई पक्राउ गर्‍यो। ब्रिटानी गार्जा नामक २४ वर्षीया ती महिलालाई जनावरमाथि क्रुरता देखाएको अभियोग लगाइएको छ। आफूले लोकीलाई नछोडेको र उसलाई ठाउँ सार्ने प्रक्रियामा रहेको उनले बताइन्।

ह्युमेन सोसाइटीका क्षेत्रीय निर्देशक क्याटी जार्लका अनुसार यस्ता थुप्रै घटना भइसकेका छन्।

सन् २००९ मा डेढ सय किलोको एउटा बाघ टेक्ससको एउटा घरबाट उम्कियो। त्यो बाघ ७९ वर्षीया एक महिलाको आँगनमा फेला पर्‍यो। २००७ मा एक वर्षको बाघ डलासस्थित सडककै छेऊमा गोली लागेर मरेको फेला पर्‍यो। २००३ मा डलासमै एकजना गाडी चालकले चार महिनाको बाघको बच्चा सडक किनारामा डुलिरहेको देखे। २००१ मा टेक्ससको ली काउन्टीमा आफन्तले पालेको बाघले तीन वर्षको बच्चालाई मारिदियो। ती व्यक्तिले तीन वटा बाघ पालेका थिए। २००० मा ह्युस्टनका जन्तु नियन्त्रण गर्ने अधिकारीहरुले पिँजडाबाट भागेको बाघ खोज्न तीन घण्टा खर्चिनुपर्‍यो। त्यही वर्ष टेक्ससको च्यानलभ्युमा तीन वर्षे बालकको हात उनकै काकाले पालेको १८१ किलोको बाघले चुँडाइदियो।

जार्लका अनुसार लोकीलाई पाल्ने महिलाबारे पहिलेदेखि नै सरकारी अधिकारीहरुलाई जानकारी थियो। ती महिलाले वर्षौँअघिदेखि डमरु हुर्काउँदै आएकी थिइन्।

यसै वर्ष राज्यस्तरका दुई सांसदले खतरनाक जनावरलाई निजी रुपमा पाल्न नपाइने व्यवस्थासहितको विधेयक दर्ता गरेका छन्। तर, हरेक चीजको निजी स्वामित्व हुने टेक्ससमा यो विधेयक कानुन बन्ने छैन।

एक संरक्षण च्यारिटीका अनुसार अमेरिकाका चार राज्य, अलाबामा, नेभाडा, नर्थ क्यारोलिना र विस्कन्सिनमा यस्ता जनावरको स्वामित्वलाई राज्यले नियमन नै गर्दैन। कतिपय अवस्थामा कानुनी कमजोरीको फाइदा उठाएर बाघ पाल्ने गरिएको पिपुल फर द इथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) की ब्रिटानी पिट बताउँछिन्। ‘बाघ पाल्न साह्रै सजिलो छ,’ उनी भन्छिन्, ‘एउटा फारम भरेर १०० डलरको चेक काटेपछि पुग्यो। जनावर उभिन र घुम्न पुग्ने पिँजडा छ भने तपाईंले लाइसेन्स पाइहाल्नुभयो।’

‘यो डरलाग्दो कुरा हो,’ उनी थप्छिन्, ‘यस्ता जनावर अत्यन्त शक्तिशाली र जटिल हुन्छन्। एकै पञ्जामा मान्छे मार्न सक्छन्। आफ्नो आँगनमा बाघ पाल्नेहरु विज्ञ होइनन्। आफूले के गरिरहेको छु भन्ने उनीहरुलाई थाहा छैन। त्यसमाथि यी जनावरलाई सामान्य जीवन बाँच्न आवश्यक पर्ने सबैकुरा तिनले दिन सकेका हुँदैनन्।’

बिल र्‍याथबर्न यसमा सहमत छैनन्। उनले डलासभन्दा ८० माइल पूर्वमा रहेको आफ्नो ५० एकडको फार्ममा कुनै समय ७ वटा बाघ पालेका थिए। तिनलाई आफूले पर्याप्त खानापानीको व्यवस्था गरेको उनको विश्वास छ। र्‍याथबर्न र उनकी पूर्वपत्नी लुले दुई दशकसम्म बाघ पालेका थिए। उनीहरुका लागि ती बाघ धर्मसन्तानजस्ता थिए।

मैले र्‍याथबर्नसँग फोनमा अन्तर्वार्ता लिएँ र पछि उनले मलाई राजासँग बसेको फोटो पठाए। राजा उनी र उनकी पत्नीले किनेको पहिलो बाघ थियो। पिँजडाभित्र उनी बाघसँग टाँसिएका देखिन्छन्। ‘ऊ सँग मेरो यस्तो सम्बन्ध थियो,’ उनी भन्छन्, ‘म दुस्साहसी व्यक्ति होइन। मैले नहुर्काएको हुँदो हुँ त म पिँजडाभित्र पस्ने थिइनँ। हामीले ल्याएको दिनदेखि मृत्युको दिनसम्म ऊ सबैभन्दा प्यारो जनावर थियो।’

तर, र्‍याथबर्नका सबै छिमेकी यस्तो सोच्दैनन्।

र्‍याथबर्न लस एन्जलस पुलिस डिपार्टमेन्टका पूर्व उपप्रमुख र डलास पुलिस डिपार्टमेन्टका पूर्वप्रमुख हुन्। १९९६ मा उनी एटलान्टामा भएको समर ओलम्पिकका सुरक्षा निर्देशक थिए। त्यहाँ रहँदा उनीहरुले पहिलो पटक बाघ किनेका थिए। सुरुमा बाघ पाल्दा लाग्ने खर्चका कारण आफू उद्वेलित भएको उनी स्वीकार्छन्। ‘तर, घर फर्किनेबित्तिकै म उसको प्रेममा परेँ,’ उनी भन्छन्।

loki.jpgलोकी

अर्को वर्ष यो दम्पत्तीले थप दुई वटा डमरु किन्यो। ह्युस्टनस्थित आफ्नै घरमा बाघ पाल्ने एक व्यक्तिबाट उनीहरुले ती डमरु किनेका थिए। र्‍याथबर्न र उनकी पत्नीले पनि घरमै राखेर डमरु हुर्काए। घरबाट बाहिर निस्किन नसक्नेगरी ढोका बनाए। घरबाहिर उनीहरुले ठूलो पिँजडा तयार गरे। ‘तपाईंले देखेको भए त्यो ठाउँ बाघका लागि राम्रो जीवन बाँच्न लायक छ भन्ने महसुस गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘घाँस, रुख र झाडी भएको १० हजार वर्ग फिट क्षेत्रफल। त्यहाँ बाघ दौडिन खेल्न, लुक्न र पाचन प्रणाली सुधार्न घाँस टोक्न पनि सक्थे।’

राजा २१ वर्षसम्म बाँच्यो। ‘अन्तिम समयमा ऊ उभिन पनि नसक्ने भयो,’ र्‍याथबर्न भन्छन्, ‘उसलाई विश्राम दिने समय भइसकेको थियो। पशु चिकित्सक आए र मेरो कुरामा सहमत भए। त्यसबेला म बच्चाझैँ रोइरहेको थिएँ। मेरो मुटु छियाछिया भएको थियो।’
उनीहरुले पालेको दोस्रो बाघको मेरुदण्डमा ट्युमर पलायो। त्यो बाघ मरेपछि उनकी पत्नी लुले त्यसको छालाबाट कम्बल बनाउन ढिपी कसिन्। ‘हामीले सम्बन्धविच्छेद गरेपछि त्यो कम्बल चाहिँ मैले लिएँ,’ र्‍याथबर्न भन्छन्, ‘मैले यसलाई सुत्ने कोठामा राखेको छु। उसलाई सम्झिने गतिलो माध्यम हो। म बेलाबखत ऊ सँग कुराकानी पनि गर्छु।’

अन्ततः उनका एक छिमेकीले सरकारी अधिकारीहरुसँग उजुरी गरे। छिमेकमा बाघको समस्या बढ्दै गएको गुनासो उनीहरुले गरेका थिए। ‘ग्रामीण क्षेत्रमा दुई मतले पनि चुनावमा हारजित हुनसक्छ, त्यसैले काउन्टीका अधिकारीहरु मेरो लाइसेन्स स्वीकृत गर्न चाहँदैनथे,’ उनी भन्छन्।

र्‍याथबर्न यो विषयलाई राम्रो नियमन गर्नुपर्ने पक्षमा छन्। ‘बाघ राख्ने स्थान पर्याप्त क्षेत्र हुनुपर्छ, बाघ र तिनले घाइते बनाउन सक्ने मानिसको संरक्षणको राम्रो नियम हुनुपर्छ,’ उनी भन्छन्। तर, बाघ पाल्न पाउने व्यक्तिको अधिकार कायम रहनुपर्ने उनी बताउँछन्।

अन्यत्र अनौठो लागे पनि यस्तो अप्ठेरो व्यक्तिगत विचार अमेरिकामा भने व्याप्त छ।

मार्कस कुकले १९९० को दशकदेखि नै बाघ पाल्दै आएका छन्। त्यसबेला उनी दक्षिणी टेक्ससको एउटा चिडियाखानामा काम गर्थे। सञ्चालकले चिडियाखाना बन्द गरेपछि कुकले दुई वटा चितुवा लिए र पाल्न थाले। ‘कसैले चितुवालाई वशमा राख्छु भनेर सोच्छ भने त्यो असम्भव छ,’ उनी भन्छन्, ‘तर, तिनलाई पाल्न सकिन्छ।’

कुकले अनेक प्रजातिका चितुवादेखि बाघ र सिंहसम्म पालेका थिए। उनले सन् १९९५ मा जुक्याट्स नामक कम्पनी खोलेर यस्ता जन्तु पाल्न थाले। उनी तिनलाई लिएर स्कुल, मेला र प्रदर्शनीमा लैजान्थे। कुक यी जनावरबारे जानकारी र मनोरञ्जन दिन यस्ता प्रदर्शनी गरेको दाबी गर्छन्। तर, आलोचकहरु उनले जनावरलाई नराम्ररी शोषण गरेको आरोप लगाउँछन्। उनीविरुद्ध अनेकौँ उजुरी परेका छन्।

ह्युस्टनबाट उद्धार गरिएको लोकीलाई ह्युमेन सोसाइटीले टेक्ससको मर्चिसनमा सञ्चालन गरेको विशाल फार्ममा पुर्‍याइएको छ। ५ सय ९४ जनसंख्या भएको कृषक समुदायमा बस्तीभन्दा केही पर क्लिभल्यान्ड एमोरी ब्ल्याक ब्युटी रान्च छ। सडक वरिपरि घोडा र गाइवस्तु चरिरहेको देख्न सकिन्छ।

फार्मका निर्देशक नोएल आल्मरुडले मलाई ट्रक चढाएर दुई वटा बाघ पालिएको स्थानमा पुर्‍याइन्। यो वाइल्डलाइफ पार्कभन्दा फरक देखिँदैन, तर यहाँ पर्यटक छैनन्। लोकी ०.२५ एकड क्षेत्रमा बसेको रहेछ। हरेक साता ठाउँ साटेर उसलाई सँगैको तीन एकडको क्षेत्रमा लगिँदो रहेछ।
‘हामी यसलाई दिनको साढे तीन किलो खाना खुवाउँछौँ,’ आल्मरुड भन्छिन्, ‘साताको ६ दिन मान्छेले हुर्काएका गोरु, टर्की, खरायो खुवाउँछौँ र एक दिन जंगलमा झैँ उपवास राख्छौँ।’

उद्धार गरिएका बाघको संरक्षण गर्ने उदेश्यले उनले दुई वर्षअघि ‘बिग क्याट स्यांक्चुअरी अलायन्स’ खोल्न पहल गरेकी थिइन्। ‘सडकछेऊका चिडियाखाना बन्द गरिनुपर्छ,’ उनी भन्छिन्, ‘तर, ती सबै जनावरलाई कहाँ राख्ने? सडकछेऊका चिडियाखानामा रहेका सबै बाघलाई राख्न सकिने ठाउँ छैन। त्यसका लागि धेरै पैसा र ठाउँ चाहिन्छ।’

‘तिनलाई व्यवसायभन्दा बाहिर राख्नुपर्छ,’ उनी थप्छिन्।

तर, टेक्ससबासीको बाघ पाल्ने रहर देख्दा चाँडै यस्तो हुने सम्भावना छैन।

-दि अब्जर्भरबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .