स्थगित गरिएका परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परमादेश दिएको छ।
न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो। स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न सर्वोच्चले परमादेश दिएको छ।
आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोकेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परीक्षा फल रोक्न भनेपछि आयोगले परीक्षाफल प्रकाशित गरेको छैन।
तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो। आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न निर्देशन दिइएको छ।
समायोजनमार्फत प्रदेश र पालिकामा गएका कर्मचारीलाई पुनः सङ्घीय निजामती सेवामा ल्याउन नमिल्ने फैसलासमेत सर्वोच्चले गरेको छ।
समायोजन भएर प्रदेश र पालिकामा गएका शाखा अधिकृतहरूको तर्फबाट दायर भएको रिट खारेज गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो।
सर्वोच्चले उनीहरूको वृति विकासका लागि थप प्रबन्ध गर्न सरकारलाई आदेश दिएको छ।
Shares
प्रतिक्रिया