ad ad

समाज


दक्षिण एसियामै धेरै नागरिकलाई खोप लगाउने मुलुकको सूचीमा नेपाल

दक्षिण एसियामै धेरै नागरिकलाई खोप लगाउने मुलुकको सूचीमा नेपाल

नेपालखबर
माघ १३, २०७८ बिहिबार ५:१६, काठमाडौँ

सरकारले प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप निःशुल्क लगाएपछि नेपाल पनि दक्षिण एसियामै आफ्नो जनसंख्यामध्ये धेरै प्रतिशत नागरिकले खोप लगाउने मुलुकमा परेको छ।

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशत नागरिकलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशत नागरिकले दुवै मात्रा खोप लगाइसकेका छन्। 

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ‘खोप, खोप र खोप’को नीतिअनुसार अघि बढ्दा दक्षिण एसियामै कोरोनाविरुद्धको खोप धेरै प्रतिशत नागरिकलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो। प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व लिएपछि खोप खरिद द्रुत गतिमा अघि बढेको, खोप केन्द्र आवश्यकताअनुसार बढाइएको र खोप लगाउने जनशक्तिमा व्यापक वृद्धि गरेका कारण खोप व्यवस्थापन चुस्त भएको हो। 

हाल सबै प्रदेशमा कोभिसिल्ड/एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाउने क्रम जारी छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ।

प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्ण मात्रा खोप प्राप्त गरेका छन्। यस्तै मधेस प्रदेशमा ६१ प्रतिशत नागरिकले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

यसैगरी बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्ण मात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशत नागरिकले पूर्ण मात्रा लगाएका छन्। लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशत नागरिकले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या १ करोड ३१ लाख ६ हजार ७२६ पुगेको छ। त्यसमध्ये कोभिसिल्डको पूर्ण मात्रा लगाउनेको संख्या २९ लाख १७ हजार ३०४ छ भने भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या ७८ लाख २१ हजार ४०६ छ।  यस्तै २३ लाख २४ हजार ८०७ जनाले जोनसेनको पूर्ण मात्रा लगाउँदा फाइजरको पूर्ण मात्रा लगाउने ४३ हजार २०९ जना छन्।

यसैगरी १ करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसमध्ये कोभिसिल्ड ४५ लाख ३० हजार ७८७, भेरोसेल ९७ लाख ४६ हजार २७० र फाइजर २ लाख ५९ हजार ९४० जनाले पहिलो मात्रा लगाएका छन्। यस्तै १७ लाख ९६ हजार ९४० जनाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका छन्। यसबाहेक सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि सरकारले दिइरहेको छ। हालसम्म २ लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन्।

कूल जनसंख्याको ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउँदा ५४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने जोनसेनको खोपसहित ६१ प्रतिशतले कम्तीमा खोपको पहिलो मात्रा लगाइसकेका छन्। यसमा १८ वर्षमाथिका व्यक्तिमा ६६ प्रतिशतले खोपको पूर्णमात्रा लगाइसकेका छन् भने ७३ प्रतिशत पहिलो मात्रा लगाएका छन्। यस्तै १२ देखि १७ वर्षसम्मका ५३ प्रतिशतले पहिलो मात्रा लगाउँदा शून्य दशमलव १ प्रतिशत नागरिकले पूर्ण मात्रा लगाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .