कोरोना महामारीको तेस्रो लहरअन्तर्गत पर्सामा पहिलोपटक संक्रमितको मृत्यु भएको छ।
वीरगन्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ।
कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्यु हो। सङ्क्रमित पुरुष वीरन्जञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ देखिएको थियो।
कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो।
मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। रासस
प्रतिक्रिया