ad ad

समाज


विभिन्न स्थानमा वर्षा-हिमपातको सम्भावना, २४ घण्टाका लागि चेतावनी जारी

विभिन्न स्थानमा वर्षा-हिमपातको सम्भावना, २४ घण्टाका लागि चेतावनी जारी

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०७८ शनिबार ६:४६, काठमाडौँ

पश्चिमी वायुको प्रभावले यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई जनाउँछ) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

यस क्रममा आज काठमाडौं उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। ‘तर सम्भावना एकदमै कम छ’, शनिबार बिहान नेपालखबरसँग उनले भनिन्। 

मौसमविद् नगरकोटीका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस छ। देशका अन्य स्थानका न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे मात्र प्रकाशन हुनेछ।

महाशाखाको बुलेटिनअनुसार आज राति (भन्नाले साँझ ६ बजेदेखि भोलि आइतबार बिहान ६ बजेसम्मको अवधिलाई जनाउँछ) पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यो पनिनेपालमा अर्काे मौसम प्रणाली प्रवेश गर्दै, सोमबारसम्म हिमपात–वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .