ad ad

समाज


बर्जुमा वितण्डा : म नै सरकार भन्दै जब गाउँपालिका अध्यक्षले सिडिओलाई दिए चुनौती

कोरोना कहरबीच जबरजस्ती महोत्सवले दुर्घटना
बर्जुमा वितण्डा : म नै सरकार भन्दै जब गाउँपालिका अध्यक्षले सिडिओलाई दिए चुनौती

नेपालखबर
माघ ५, २०७८ बुधबार १३:४५, काठमाडौँ

सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार एकजना भारतीय कलाकारलाई लिएर वितण्डा मच्चाइयो।

भारतीय कलाकार खेसरीलाल यादवको नाम बेचेर बर्जु सामुदायिक विकास केन्द्रले सयौँ स्थानीयलाई टिकट बेचेपछि तनाव भएको थियो। 

बर्जु तालमा भइरहेको महोत्सवस्थलमा भोजपुरी कलाकार यादव नआउने थाहा पाएपछि स्थानीयले तोडफोड गरेर वितण्डा मच्चाएका थिए। 

महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार यादव आउने आशमा हजारौँ स्थानीय जम्मा भएका थिए। तर यादव नआउने थाहा पाएपछि स्थानीयले महोत्सवस्थलको काउन्टर कक्ष हुँदै कुर्सीदेखि चारवटा गाडी तोडफोड र आगजनी गरे। 

आयोजकले दुई दिनअघिदेखि नै खेसरीलालको नाममा तीन सय र पाँच सय रुपैयाँ दरको टिकट बेचेको थियो। 

आयोजकले खेसरीलाई बर्जुमा ल्याउन १६ लाख रुपैयाँ अग्रिम दिएको पनि खुलेको छ। 

तर पुस २३ गतेदेखि महोत्सव चलाउन अनुमति दिएको जिल्ला प्रशासन कार्यालयले कोरोना ह्वात्तै बढेपछि २७ गते बन्द गर्न गाउँपालिका र आयोजकलाई पत्र पठाएको थियो।

तर गाउँपालिकाले समेत जिल्ला प्रशासनको परिपत्रलाई पनि चुनौती दिँदै महोत्सव रोक्न अटेरी गर्यो। प्रशासनको निर्देशन लत्याउँदै गाउँपालिका अध्यक्षको साथ पाएका आयोजकले खेसरीलालको नाममा टिकट बेचिरहे, प्रचार गरिरहे।

मंगलबार खेसरीलाल महोत्सवमा नआएपछि दर्शकहरू आक्रोशित भए। आक्रोशित उनीहरुले तोडफोड सुरु गरे। महोत्सवको स्टेज, साउण्ड सिस्टम, कुर्सी र ४ वटा स्कर्पियो गाडी उनीहरुको निशानामा परे। एउटा सिटी सफारी र  मोटरसाइकल पनि जलाइयो। भीडले इलाका प्रहरी कार्यालय दुहबीको गाडीलाई पनि निशाना बनाए। घटनामा चारजना प्रहरीसमेत घाइते भए। 

खेसरीलालका नाममा टिकट बेचेर पनि नल्याएको भन्दै तोडफोड र आगजनीमा उत्रिएका दर्शकलाई रोक्न त्यहाँ तैनाथ सुरक्षाकर्मीले ठूलो संघर्ष गर्नुपर्यो। प्रहरीले १५ सेल अश्रु ग्यास हानेर भिड तितरबितर बनायो।

कसरी भयो घटना?
कोरोना ह्वात्तै बढेपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुस २७ देखि नै महोत्सव रोक्न भन्दै आयोजक र बर्जु गाउँपालिका अध्यक्षलाई पत्राचार गरेका थिए। 

तर बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले प्रजिअको परिपत्र अनुसार महोत्सव रोक्न मानेनन्। 

पुस २७ को परिपत्रलाई अटेरी गरेपछि कोरोना बढेको भन्दै प्रशासनले माघ २ गते अर्को पत्र पठाएर महोत्सव रोक्न भनेको थियो। 

तर अध्यक्ष चौधरीले स्थानीय सरकार आफू भएकाले प्रशासनलाई महोत्सव रोक्ने अधिकार नभएको जिकिर गरे। उनको तर्क थियो,‘स्थानीय सरकार मै हो। मेरो गाउँपालिकामा भएको कार्यक्रम रोक्ने अधिकार कसैलाई छैन।’ 

प्रजिअ यादवसँग फोनमा पनि उनले त्यही भनेर विवाद गरेको प्रशासन स्रोतले जनाएको छ।

सोमबार सदरमुकाम इनरुवामा केही दलका नेतासँग भएको छलफलमा पनि उनले बर्जु गाउँपालिका अध्यक्षले अटेरी गरेको गुनासो गरेका थिए। उनले ‘मेरो राज्यमा कसैको आदेश चल्दैन’भन्दै चौधरीले महोत्सव रोक्न नमानेको कुरा राखेका थिए।  

‘प्रजिअले मंगलबारको महोत्सव रोकौँ भनेर धेरै पटक आग्रह गर्नु भएको थियो’ सुनसरीस्थित एक नेताले भने, 'स्थानीय सरकारको अधिकार क्षेत्रमा अरुले हस्तक्षेप गर्न नहुने जवाफ अध्यक्ष चौधरीले दिएका थिए।'

महोत्सव कोरोना फैल्याउने कारण हुन सक्ने भन्दै खेसरीलालाई प्रशासनले रोक्ने बताएको थियो। तर अध्यक्ष चौधरीले प्रजिअ यादवलाई रोकेर देखाउन चुनौती नै दिए। 

प्रजिअसँगको छलफलका क्रममा पनि अध्यक्ष चौधरीले धम्कीपूर्ण भाषा प्रयोग गरेको स्रोतले बताएको छ। उनले इनरुवाबाटै मेला आयोजक समिति अध्यक्ष सन्तोष उरावलाई फोन गरेर प्रशासनले जे भने पनि महोत्सव जारी राख्न आग्रह गरेका थिए। 

तर प्रजिअको पत्र र आग्रहलाई लत्याएका चौधरी आफैं अहिले मेलामा भएको क्षतिको दोष प्रशासनलाई नै देखाइरहेका छन्। तर प्रजिअसँग छलफलमा रहेका दलहरुले यो क्षतिको दोषी अध्यक्ष चौधरी नै भएको बताएका छन्। 

कांग्रेसबाट निर्वाचित बर्जु गाउँपालिका अध्यक्ष चौधरीले सत्ताको आड देखाउँदै अटेरी गरेको निष्कर्ष प्रशासनले पनि निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .