ad ad

समाज


दरबार हाइस्कुलकी प्रधानाध्यापक भन्छिन्ः महिला भएकै कारण हेपिएको महसुस हुन्छ


मीना खड्का
माघ ३, २०७८ सोमबार १२:२८, काठमाडौँ

विद्यालयमा चलिरहेको परीक्षाको चटारो। कोरोनाका कारण पुनः विद्यालय बन्द गर्नु पर्छ कि भन्ने सन्त्रास। प्रध्यानाध्यापकका टेबलमा आइपुगेका सहकर्मी शिक्षकहरुका बिदा सिफारिसका चाङ।

काठमाडौँको रानीपोखरीस्थित नेपालकै पहिलो दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) की प्रध्यानाध्यापक शारदा पौडेल कामको बोझमा थिचिएकी थिइन्।

त्यहीबेला छेउमा बसेर विद्यालय व्यवस्थापन समितिका एक सदस्य भनिरहेका थिए, ‘महिला भएकाले सबै कुरा म्यानेज गर्न सक्नुभएन। भन्नुस् व्यवस्थापन चुस्त बनाउन हामीले के गर्नुपर्ने हो?’

तत्काल कुनै पनि कुरामा प्रतिक्रिया नजनाउने शारदाको अनुहार गम्भीर भयो।

जीवनको यो कालखण्डसम्म आइपुग्दा उनले यस्ता कयौँ प्रश्नको सामना गर्नुपरेको छ। जीवनमा उनले उठाएको जिम्मेवारी र पद सधैं गौण रह्यो। विद्यालयमा नभएको स्रोतसाधन र असहयोगी साथीको कहिले हिसाब भएन।महिला हुनु नै असक्षमताको सबैभन्दा ठूलो कारकका रुपमा उनका अघिल्तिर बारम्बार प्रश्न तेर्स्याइयो।

उनले विद्यालयमा मात्रै होइन, यस्ता अप्ठ्यारा र जटिलता समाजका विभिन्न ठाउँमा भोग्दै आइन्। तर, हिम्मत हारिनन्।

उनका बुबा शिक्षक थिए। काम जस्तोसुकै गरे पनि त्यसले समाजको भलो गर्नुपर्छ भन्ने सोच थियो उनका बुबामा। छोरी शिक्षक बनोस्, समाजमा चेतना बाँडोस् भन्ने थियो। त्यसैले त बुबाले छोरीलाई शिक्षक बन्ने सपना देख्न सघाएका थिए।

‘आमाले पढ्नुभएको थिएन। नपढेको भए पनि छोरा र छोरी दुवैलाई पढाउनुर्छ भन्ने विवेक थियो,’ शारदाले भनिन्।

छोराछोरीमा समान लगानी थियो। अपेक्षा, र अवसर पनि तलमाथि थिएन। समाजसेवाका लागि अगाडि दुईवटा विकल्प थिए– डाक्टर र शिक्षक। तर बुबाको दरिलो जिम्मेवारी, आमाको साथ र शारदाको दृढ इच्छाशक्ति र आत्मबलले बुबा र छोरी दुवैको साझा सपना पुरा भयो। 

शारदाको जन्मथलो पोखरा हो। तर उनको बाल्यकाल र शिक्षादीक्षा भने काठमाडौँमै भयो। महेन्द्ररत्न माध्यामिक विद्यालयमा उनले प्राथमिक शिक्षा पुरा गरिन। उनले पढ्दा विद्यालयमा हुने छात्राको सहभागिता र अहिलेको कक्षा ५ मा पढ्ने छोरीहरुको सहभागितामा तुलना गर्दा आकासपातालकै भिन्नता छ।

‘अहिलेका छोरीले पाएको जस्ता अवसर मैले त्यतिबेला पाएको भए धेरै गर्थेँ। अहिलेका छोरीहरु छोराभन्दा ट्यालेन्ट छन्,’ उनले भनिन्, ‘छोराले जस्तै सपना देख्ने आँट छोरीसँग पनि छ। संख्यात्मक हिसाबले विद्यालयमा धेरै छन् र सक्रियता पनि कम छैन, तर उमेर बढ्दै जाँदा विद्यालयमा आउने छोरीको संख्या घट्दै जाने रहेछ।’     

अध्यापनका तितामिठा अनुभव
समाजसेवाको हुटहुटीले डोर्याएको शिक्षण पेसा। थपिँदै गएको जिम्मेवारी। शारदा दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को प्रधानाध्यापक भएको पाँच महिना मात्रै भयो। १६ वर्ष अघिदेखि शिक्षण पेसामा छिन्। तर, १६ वर्षको भन्दा पाँच महिनायताका अनुभव र सिकाइ उनलाई महत्वपूर्ण लाग्छ। 

चुपचाप काम गर्ने, बोलेर होइन गरेर देखाउँछु भन्ने उनको सोच छ। तर, उनको स्वभावलाई कामसँग तुलना गरेर बिनाकारण कहिलेकाहीँ उनलाई कमजोर ठान्नेहरुलाई ठूलो स्वरले प्रतिरोध गर्नुपर्छ भन्ने लाग्ने रहेछ उनलाई। 

‘कम बोल्ने बानी छ। यो सुधार्न मन छ,’ उनी भन्छिन्, ‘एउटा जिम्मेवार पदमा बसेर काम गर्दा धेरै कुरा सहनुपर्ने रहेछ। कहिँलेकाहीँ महिला भएकै कारण हेपिएको महसुस हुन्छ। तर सबै उस्तै हुँदैनन्, सक्दो सहयोग गर्नुपर्छ भन्ने भावना भएका मानिसहरु पनि छन्। केही सहकर्मी पुरुषको सोचको संकुचन देख्दा बोलेरभन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने लाग्छ।’ 

कतिपय तिता अनुभवलाई बिर्सेर उनी दिनरात काममा खटिरहन्छिन्। 

‘संस्था बनाउनको लागि त खट्नैपर्छ,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म विद्यालयमा नै हुन्छु, कसले के के भन्छन्, कहिलेकाहीँ धेरै चित्त दुख्छ, तर निराशालाई तागत बनाउनुपर्छ।’ 

कार्यालय र घरमा पनि मध्यस्तकर्ताको जिम्मेवारी आफूले निभाउनुपर्ने उनले बुझेकी छन्। सोहीकारण शारदा कुनै पनि विषय र प्रसंगमा तुरुन्तै प्रतिक्रिया जनाइहाल्दिनन्। 

‘यस्तो भूमिका निभाउनेले केकस्ता कुराहरु सहनुपरेको छ भन्ने मान्छेले नबुझेपछि दुःख लाग्छ,’ उनी भन्छिन्, ‘मलाई सही र गलत थाहा हुन्छ, बोल्नुपर्ने कुराहरु बोल्छु, कतिपय अवस्थामा तुरुन्तै प्रतिक्रिया जनाइहाल्न मन लाग्दैन। किनकि नतिजा तुरुन्तै आइहाल्दैन। यसलाई धेरैले मेरो कमजोरी ठान्छन् तर म सबैका कुरा सुनेपछि आफ्नो धारणा बनाउँछु।’

‘छोरीले सपना देख्नुपर्छ’
सानो सानो कुराले प्रभावित नभई आफ्नो सपनाको बाटोमा एउटा अडानसहित लाग्ने हो भने सबै सफल हुने उनको भनाइ छ। 

भन्छिन्, ‘मलाई लाग्छ छोरी मान्छे ठूलो सपना नै नदेख्ने रहेछन्। विगतलाई फर्केर हेर्ने हो भने पनि मेरा धेरै साथीहरु १० कक्षा पास नगर्दै बिहे गरेर गइसकेका हुन्थे।’

शारदालाई समस्या नआएका होइनन्। एसएलसी उत्तीर्ण हुनुअगावै विवाहका प्रस्ताव आएका थिए। तर शिक्षक बन्ने सपना कहिल्यै डगमगाएन।

‘परिवारमा छोरीलाई पढाउनुपर्छ भन्दै साथ दिए पनि कति छोरीले नपढेको देखिन्छ,’ उनले भनिन्, ‘दृढ इच्छाशक्ति र सही बाटो भयो भने परिवार पनि साथ दिन बाध्य हुन्छ। छोरीहरु सपना देख्न सक्ने हुनुपर्छ।’ 

शारदा दरबार हाइस्कुल आएदेखि धेरै परिवर्तन आइसकेको छ। अझै अघि नेतृत्व पाएको भए धेरैथोक गर्न सकिने उनलाई लाग्छ। 

‘सही नेतृत्वले समयमै अवसर पायो भने धेरै गर्न सक्छ, १० वर्षपहिला नै यो जम्मेवारी पाएको भए धेरै गर्न सक्थेँ जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘समयले धेरै फरक पार्ने रहेछ, त्यो बेला उमेर, जाँगर र सपना सबै थियो। अहिले पनि समस्या पहिचान गर्न, सुधार गर्न र विद्यालयप्रति देखेका अपुरा सपना पुरा गर्न कटिबद्ध भएर लागेकी छु।’

विद्यालयलाई स्तर उकास्ने र विद्यार्थीलाई जीवनयापन गर्न सिकाउने व्यवहारिक शिक्षा दिन सक्नेगरी काम गर्ने उनको योजना छ। 

‘अहिले विद्यालयलाई प्रविधिको धारमा अघि बढाउँदैछौं,’ उनले भनिन्, ‘विद्यार्थीले पढेर देशमै केही गर्ने बनाउँछौँ। पढिसकेपछि काम नपाएर भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने हाम्रो योजना छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .