नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएका दुबैजना संक्रमण मुक्त भएका छन्।
७ मंसिरमा एक विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि भएको थियो। मंगलबार गरिएको परीक्षणमा उनीहरु दुबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।
उनीहरुको सम्पर्कमा रहेका ६६ जनाको रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको थियो। ‘मंगलबार गरिएको पीसीआर परीक्षणमा दुबैको रिपार्ट नेगेटिभ आएको हो,’ प्रवक्ता अधिकारीले भने, ‘उहाँहरू कोरोनामुक्त हुनुभयो, यसअघि पिसिआर गर्दा ओमिक्रोन भेरियन्ट देखिएको थियो।’
उनीहरु दक्षिण अफ्रिका हुँदै नेपाल आएका थिए। कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएपछि ६६ वर्षीय विदेशी र ७१ वर्षीय नेपालीको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको थप विवरण भने सार्वजनिक गरिएको छैन।
उनीहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए। उनीहरू आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्र पूरा गरेको पाइएको थियो।
उनीहरु दुबैको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेनसिङ गर्दा मंसिर १९ आइतबार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो।
Shares
प्रतिक्रिया