ad ad

समाज


नेपालमा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव, सतर्कताका लागि विशेष बुलेटिन

नेपालमा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव, सतर्कताका लागि विशेष बुलेटिन

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०७८ बुधबार ९:३३, काठमाडौँ

नेपालमा अहिले एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव परेको मौसमविद्ले बताएका छन्। 

बुधबार बिहान माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। 

जसका कारण आज (बुधबार) देखि विभिन्न प्रदेशमा हिमपात तथा वर्षा हुने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

मंगलबार साँझ नै विशेष बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज (मंगलबार) साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।’ 

अगाडि भनिएको छ, ‘सो प्रणालीका कारण भोलि बुधबारदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराइका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।’ 

यो मौसम प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ। 

यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उक्त प्रदेशको उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श जारी गर्दै भनेको छ– 

‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात सम्भावना र देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन अनुरोध छ।’ ​

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०/११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो। मौसम सफा भनेको कतै बादल नलागेको अवस्था हो।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .