ad ad

समाज


दुई साता बित्यो, खुलेन भूपेन्द्र हत्याको कारण

दुई साता बित्यो, खुलेन भूपेन्द्र हत्याको कारण

गोकुल जोशी
मंसिर ९, २०७८ बिहिबार १२:२५, महेन्द्रनगर

कैलालीका २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको दुई साता बितिसकेको छ। तर प्रहरीले अझै हत्याको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन। 

धारिलो हतियारले हानेर भूपेन्द्रको हत्या के कति गरिएको थियो भन्ने रहस्य अझै खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय (कैलाली) का एसपी विश्व अधिकारीले अझै हत्याको कारण  भने खुल्न नसकेको बताए।

‘अहिले पनि हामी अनुसन्धानकै क्रममा छौँ, घटनाको के कति कारणले भएको हो, अझै स्पष्ट हुन सकेको छैन’, एसपी अधिकारीले नेपालखबरसँग भने, ‘पक्राउ परेकाहरूको बयान लिने र कागज गर्ने काम भइरहेको छ।’

कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्कीबजारका भूपेन्द्रलाई एक समूहले गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ मा चक्कुले हानेर मारेको थियो। यसको एक सातापछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली आएको हो। 

टोलीले कैलालीमा बसेर घटना अनुसन्धानमा सघाइरहेको छ। तर भूपेन्द्र हत्याको रहस्य अझै खुलेको छैन। 

जिल्ला प्रहरी कार्यालय (कैलाली) को अनुसन्धान टोलीलाई सीआईबीको टोलीले प्रावधिकतर्फ सघाइरहेको हो। 

‘सीआईबीले प्रावधिक पाटोमा सहयोग गरिरहेको छ। सूक्ष्म रूपले घटनाको अनुसन्धान जारी छ’, एसपी अधिकारीले नेपालखबरसँग भने, ‘फरारको खोजी पनि भइरहेको छ।’

भूपेन्द्रको हत्या आरोपमा प्रहरीले १० जना युवकलाई नियन्त्रणमा लिएको छ। भूपेन्द्रका परिवारले चिसापानीका नवीन रावलसहित १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय (टीकापुर) मा किटानी जाहेरी दिएका छन्। 

तीमध्ये घटनाका ‘योजनाकार’ नवीन रावलसहित ६ जना अझै फरार छन्। आरोपितमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई भने प्रहरीले केही दिनअघि मात्र सुनसरीको धरानबाट पक्राउ गरेको छ। 

यसअघि हत्या आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का  २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्कालाई पक्राउ गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .