ad ad

समाज


बडा दसैँ अन्तर्गत आज महानवमी पर्व मनाइँदै

बडा दसैँ अन्तर्गत आज महानवमी पर्व मनाइँदै

नेपालखबर
असोज २८, २०७८ बिहिबार ७:१७, काठमाडौँ

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हिन्दुधर्मालम्बी नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।

आज घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने प्रचलन छ। 

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्छन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने प्रचलन छ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।

यसैबीच हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक खुल्ने तलेजु भवानीमो मन्दिर आज खुल्दै छ। यो मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने गर्छ।  कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी भएको अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .