ad ad

समाज


८३ वर्षीया हजुरआमाले आफ्नो जन्मदिनमा खुवाइन् दिनदुःखीलाई खाना

८३ वर्षीया हजुरआमाले आफ्नो जन्मदिनमा खुवाइन् दिनदुःखीलाई खाना

नेपालखबर
असोज २३, २०७८ शनिबार १३:३३, काठमाडौँ

सर्लाहीको हरिवन निवासी टंकदेवी बुढाथोकीले आफ्नो ८३ औँ जन्मदिनको अवसरमा आज स्थानीय मानव सेवा आश्रमका दिनदुःखीलाई भोजनको व्यवस्था गरेकी छन्।

एकीकृत माओवादीका नेता कमल बुढाथोकीकी आमा टंकदेवीले हरिवन- ९ नयाँरोडमा रहेको आश्रममै पुगेर सहाराबिहीन नागरिकलाई बिहानको खाना खुवाएकी हुन्।

डेढ वर्षअघि स्थापना भएको आश्रममा हाल ५५ जना सहाराबिहीन बस्दै आएका छन्। सडकबाट अलपत्र अवस्थामा उद्धार गरिएका उनीहरुलाई दाताको सहयोगमा खानेबस्ने व्यवस्था गरिएको संस्थाका अभिभावक सुकदेव कार्कीले बताए। 

आफन्त कोही नभएका असहाय, दिनदुःखीलाई एक छाक भएपनि खुवाउन पाउँदा आफूलाई निकै खुसी लागेको टंकदेवीले बताइन्। उनका छोरा एवं माओवादी नेता कमल बुढाथोकीले बिहानबेलुका हातमुख जोड्नै समस्या भएका सहाराबिहीन नागरिकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आमाको जन्मदिनमा आफूहरुले दिनदुःखी नागरिकलाई सम्झिएको बताए।

‘अचेत नेपाली समाजमा पनि आफ्नो जन्मदिनमा तडकभडकसहित अनावश्यक खर्च गर्ने पश्चिमा संस्कारको विकास भइरहेको छ,’ बुढाथोकीले भने, ‘त्यसरी अनावश्यक रुपमा फजुल खर्च गर्नुको साटो यो संसारमा केही र केही नभएका असहाय नागरिकको सेवा गर्नु पून्य कर्म हो।’

उनले आश्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय तहले ध्यान नदिएको बताए।  संस्थालाई हरिवन- १ कैलाशपुरीमा निर्मित जेष्ठ नागरिक भवनमा स्थानान्तरण गर्न सके संस्था सञ्चालनमा सहयोग पुग्ने बुढाथोकीको भनाई थियो। उनले यसतर्फ हरिवन नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए।

संस्थाका अभिभावक सुकदेव कार्कीले आश्रममा बस्ने ५५ जना सहाराबिहीन नागरिकले दाताकै सहयोग अहिले दुई छाक खान पाइरहेको बताए। कार्कीका अनुसार आश्रममा बस्ने ५५ जनामध्ये आधाभन्दा धेरै भारतीय नागरिक छन्। सडकमा जीवन विताइरहेका उनीहरुलाई विभिन्न ठाउँबाट ल्याएर संरक्षण दिएर राखिएको छ। 

डेढ महिनाअघि सडकमै शिशुलाई जन्म दिएकी एक महिलालाई पनि उद्धार गरी आश्रममै ल्याएर राखिएको छ। हाल ती महिला र उनका शिशु (छोरा) को अवस्था राम्रो छ।

संस्थामा हाल डेढ महिनाको शिशुदेखि ६५ वर्षका जेष्ठ नागरिकसहित ५५ जनाको सामूहिक बसोबास छ। जसमा अधिकांश शारीरिक रुपमा असक्त र बौद्धिक अपांगता भएकाहरु छन्। 

आश्रममा बस्दै आएका ६ जना भारतीय नागरिकलाई एक महिनाअघि मात्रै संस्थाले भारतमै लगेर आफन्तसँग पुनर्मिलन गराएको छ। ‘आश्रममा बस्दै आएका सहाराबिहीनको आफन्तको खोजी गरेर हामीले उनीहरुलाई परिवारसँग पुनर्मिलन गर्ने काम पनि गर्दै आएका छौँ,’ कार्कीले भने, ‘अहिलेसम्म हामीले ३० जना जतिलाई परिवारसँग पुनर्मिलन गराइरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .