ad ad

समाज


यी तीन ‘क्लु’, जसले प्रहरीलाई फेरि मादी हत्याको अनुसन्धानमा फर्कायो

यी तीन ‘क्लु’, जसले प्रहरीलाई फेरि मादी हत्याको अनुसन्धानमा फर्कायो

उजिर कार्की
असोज ४, २०७८ सोमबार १६:४२, काठमाडौँ

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या लोकबहादुर कार्कीले मात्रै गराएको निष्कर्षसहित प्रहरीले भदौ २७ गते उनलाई सार्वजनिक गरेको थियो। धेरैले त्यतिबेलै प्रहरीको दाबीमाथि आशंका गरेका थिए, ‘एक्लैले ६ जनाको हत्या सम्भव छ?’

तर प्रहरीले भन्यो, ‘मानसिक रुपमा अस्वस्थ व्यक्तिले एक्लै यस्तो घटना घटाउन सक्छ।’ 

लोकबहादुर अस्वस्थ हुन्। उनीबाहेक अन्यको संलग्नता नभएको दाबी प्रहरीले गर्यो।

त्यसैले प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली र संघीय प्रहरी इकाई धरानको टोलीले लोकबहादुर एक्लैले चिर्पटले हानेर ६ जनाकै हत्या गरेको निष्कर्ष निकाल्यो। र, अनुसन्धान सकिएको भन्दै फर्कियो। 

राम्रो अनुसन्धान गरेको भन्दै डीआईजी बिसीलगायत ५ जनालाई प्रहरी महानिरीक्षक शैलेश थापाले नगदसहित पुरस्कृत पनि गरे। तर, आईजीपीले स्याबासी दिएका प्रहरीहरुको अनुसन्धान कच्चा रहेको तब खुल्यो, जब लोकबहादुरका भाइ नरेशले मृतक रन्जनाको मोबाइलमा आफ्नो सिम हालेर चलाउन थाले।  

संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी भन्छन्, ‘एकपछि अर्को क्लु फेला पर्न थाले। जसले लोकबहादुर एक्लैले हत्या गरेको होइन भन्नेतर्फ हामीलाई डोहो¥यायो।’

डीएसपी सुवेदीका अनुसार पोस्टमार्टम रिपोर्टका दुई तथ्य र मोबाइल नभेटिएका कारणले प्रहरीले मादी घटनामा पुनः अनुसन्धान गरेको थियो। इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा १० जनाको टोलीले घटनास्थल छाडेको थिएन।

‘घटनापछि गाउँले त्रसित थिए। प्रोटेक्सन गर्नका लागि प्रहरी टोली गाउँमै थियो। मोबाइल नभेटिँदा थोरै भए पनि शंका त बाँकी थियो,’ डीएसपी सुवेदी भन्छन्, ‘पोस्टमार्टम रिपोर्टले थप शंका गर्नुपर्ने ठाउँ दियो।’

८ वर्षीय दीपेन र ५ वर्षीया गोमाको हत्याको कारणमध्ये नाकमुख बन्द गरेर भएको पोस्टमार्टम रिपोर्ट आयो। लोकबहादुरले एक्लै चिर्पटले सबैको हत्या गरेको बताएका थिए। प्रहरीले पनि २७ गते पत्रकार सम्मेलनमा त्यही सुनाएको थियो।

तर, पोस्टमार्टम रिपोर्टमा धारिलो हतियार पनि प्रयोग गरेको उल्लेख भयो। यी रिपोर्ट र मोबाइलका कारण प्रहरी फेरि मादी घटनाको अनुसन्धानमा केन्द्रित भएको डीएसपी सुवेदी बताउँछन्। 

हराएको मोबाइल प्रहरीको निगरानीमा थियो। लोकबहादुरका भाइ नरेशले आफ्नो सिम लगाएर प्रयोग गर्न थालेपछि पत्ता लाग्यो। त्यसपछि नरेशमाथि प्रहरीले निगरानी बढायो र नियन्त्रणमा लिएर सोधपुछ गर्न थाल्यो। 

गाउँका अरुमाथि पनि पुनः सोधपुछ सुरु भयो। त्यसपछि घटनाका थप तथ्य खुल्दै गए।

परिवार हत्यामा अर्को परिवारै संलग्न 
लोकबहादुरको परिवारमा पहिल्यै सल्लाह भएको रहेछ, ‘प्रहरीले कसैलाई पक्रियो भने अरुको संलग्नता नखुलाउने।’ 

पक्राउ परेपछि लोकबहादुरले एक्लै हत्या गरेको बताए। बाबु, भाइ, काका र काकाको छोराको संलग्नताबारे बोलेनन्। 

तर, मुख्य योजनाकार नै उनका काका रहेछन्। घटनाको अघिल्लो रात योजना बनेको प्रहरी बताउँछ। 

लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर कार्की मुख्य योजनाकार रहेको र खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीको पनि संलग्नता रहेको भन्दै उनीहरुलाई सोमबार सार्वजनिक गरिएको छ। 

प्रहरीका अनुसार घटनाको अघिल्लो साँझ ८ बजे लोकबहादुरकै घरमा योजना बनेको थियो। भोलिपल्ट तेजबहादुरको घरमा उनीहरु खेताला जाने सल्लाह भयो। घटना भएको दिन बिहान पनि तेजबहादुरलाई लोकबहादुरको घरमा खड्गबहादुरले नै पठाएको खुलेको छ। 

सोही योजनाअनुसार तेजबहादुर लोकबहादुरलाई खेताला निश्चित गर्न गएको र योजनाअनुसार नै उनीहरुले हत्या गरेको पाइएको संखुवासभा प्रहरी बताउँछ। 

‘जजसले देख्छन् उनीहरुको हत्या गर्ने र मिलेसम्म तेजबहादुरको घरको धनमाल समेत चोरी गर्ने उनीहरुको योजना रहेछ,’ डीएसपी सुवेदी भन्छन्, ‘ंलोकबहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु भनेर पठाएछन्, अनि हत्या गरेछन्।’

खड्गबहादुर र हस्तबहादुर घरपछाडि चिर्पट बोकी तयारी हालतमा बसे। लोकबहादुरलाई उठाएर खेताला निश्चित गरेर तेजबहादुर फर्किंदै गर्दा सुरुमा लोकबहादुरले प्रहार गरेको र पछि उनीहरुले पनि चिर्पट प्रहार गरेको प्रहरी बताउँछ। 

हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएर बाटोमा झारे। तेजबहादुरले ‘लोकेले मार्यो मलाई’ भन्दै हा गुहार गरेपछि उनकी पत्नी कमला र बुहारी रन्जना पनि गए।

लोकबहादुरले कमलालाई चिर्पटले हानेको र हस्तबहादुरले घाँटीमा चक्कु प्रहार गरेको प्रहरी बताउँछ। रन्जनालाई नरेशले धकेलेर खोल्सामा झारेको र हत्यापछि रणबहादुर र नरेशले कमलाको लास भएको स्थानसम्म पु¥याएको पाइएको छ।

खड्गबहादुरले रक्सी खाएर परिवारमाथि कुटपिट गर्दा तेजबहादुरले गाली गरेका कारण हत्या गरेको उनीहरुले बताएका छन्। त्यतिबेला उनले तेजबहादुरलाई मार्छु भन्ने गरेका थिए।

नरेशलाई तँ डुँडे काम नलाग्ने भइस् भन्ने, रणबहादुरलाई समेत तँ लठेब्रो केही गर्न सक्दैनस् भन्ने गरेको र जहिले पनि हेपेको भन्दै आफूहरुले हत्या गर्ने योजना बताएको उनीहरुले प्रहरीलाई बताएका छन्। 

धनी भएर फूर्ति दिएको भन्दै इखले हत्या गरेको उनीहरुले बताएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .