ad ad

समाज


प्राध्यापक हुँ भनी झुटाे दाबी गर्ने बीपीका भीसीको यसरी खुल्यो पोल, के होला कारबाही?

प्राध्यापक हुँ भनी झुटाे दाबी गर्ने बीपीका भीसीको यसरी खुल्यो पोल, के होला कारबाही?

कृष्ण बहाब
भदौ ३१, २०७८ बिहिबार १९:३६, काठमाडौँ

आर्थिक पारदर्शितालगायतको विषयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले विवादको भुमरीमा छ। प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरूले पदाधिकारीहरूको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै छानबिनको माग राखिरहेका छन्। 

यही क्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीको प्राध्यापक पद नक्कली भएको उनीहरुले पुष्टि गराएका छन्। आफूलाई प्राध्यापक डाक्टर बताउँदै र लेख्दै आएका ज्ञानेन्द्र गिरीको सो पदवी पुष्टि नभएको भन्दै स्वास्थ्य मन्त्रालयले भने विज्ञप्ति जारी गरिसकेको छ। 

मन्त्रालयले गत आइतबार विज्ञप्तिमार्फत उपकुलपति गिरी प्राध्यापक भएको भन्ने प्रमाण नभएको पुष्टि गरेको हो। बीपी सुधारको माग गर्दै आन्दोलनरत पक्षले उपकुलपति हुन अनिवार्य प्राध्यापक हुनुपर्ने  भए पनि डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नै नभएको जिकिर गरिरहेका थियो। 

उपकुलपति गिरीले प्रतिष्ठानका तर्फबाट जारी गरेका सूचना÷विज्ञप्तिमा पनि एकरूपता देखिँदैन। उनको नामबाट प्रकाशित विज्ञप्तिमा कहिले प्रा.डा. ज्ञानेन्द्र गिरी लेखिएको देखिन्छ भने कुनैमा डा. ज्ञानेन्द्र गिरी मात्रै। 

आन्दोलनकारीले गरेको त्यो अनुसन्धान
डा. गिरीले दाबी गरेको प्राध्यापक पद कुन विश्वविद्यालयबाट पाएको हो भनेर आन्दोलनरत पक्षले पटकपटक प्रश्न गरेको थियो। 

तर, बारम्बार चुनौती दिँदा पनि डा. गिरीले त्यसको प्रमाण पेस गर्न सकेनन्। विवाद बढ्दै गएपछि सङ्घर्ष समितिले सूचनाको हक प्रयोग गरी प्राध्यापकको पदवी कुन विश्वविद्यालयको हो भन्ने माग गरे। तर, उनीहरूले पाउन सकेनन्। 

चिकित्सक–विद्यार्थीलाई नटेरेका उपकुलपतिले एउटा टेलिभिजन अन्तर्वार्तामा कोलोराडो युनिभर्सिटी अफ हेल्थ साइन्स सेन्टरबाट आफूले प्राध्यापक पदवी पाएको दाबी गरेका थिए।

दाबी मात्र होइन उनले त्यहाँ गएर प्रमाण खोज्न समेत आन्दोलनकारीलाई चुनौती दिएका थिए। उपकुलपति डा. गिरीले बारम्बार कोलोराडो युनिभर्सिटी अफ हेल्थ साइन्स सेन्टरको दाबी गरेपछि यसबारे बुझ्न आन्दोलनकारी चिकित्सक–विद्यार्थी आफैँ तम्सिए।

विराट टिचिङ हस्पिटलको वेबसाइटमा राखिएको डा. गिरीको बायोडाटामा गिरीले अमेरिकाको कोलोराडो युनिभर्सिटी अफ हेल्थ साइन्स सेन्टरबाटै प्राध्यापकको पदवी पाएको उल्लेख गरिएको छ।

‘हामीले सुरुबाटै उहाँको प्राध्यापकको उपाधिमा शङ्का गरेका थियौँ,’ सङ्घर्ष समितिका सहसंयोजक डाक्टर उपेन्द्र पोख्रेलले भने, ‘सीभीमा कोलोराडो युनिभर्सिटी देखेपछि हामीले अमेरिकामा रहेका एक जना साथीलाई सम्पर्क गरेर बुझ्न भन्यौँ। उनैको माध्यमबाट वास्तविकता पत्ता लगायौँ।’

अमेरिकाको कोलोराडो युनिभर्सिटी अफ हेल्थ साइन्स सेन्टरबाट ‘प्राध्यापक’ पदवी पाएको भन्ने डाक्टर ज्ञानेन्द्र गिरीको दाबी सो विश्वविद्यालयले अस्वीकार गरेको थियो। यसअघि अनियमितताको आरोप लागेका उनी त्यसपछि शैक्षिक योग्यतासम्बन्धी विवादमा पनि मुछिए।

डा. पोखरेलका अनुसार कोलोराडो विश्वविद्यालय प्रशासनसँग इमेलमार्फत संवाद गरिएको थियो। ज्ञानेन्द्र गिरी नाम गरेको मान्छे विश्वविद्यालयमा कहिल्यै प्रोफेसर नभएको जानकारी विश्वविद्यालय प्रशासनले दियो।

यही आधारमा उपकुलपति डा. गिरी प्राध्यापक नभएको कुरा आन्दोलनरत चिकित्सकहरूले नै प्रचारमा ल्याए। 

नपाएको पद दाबी गरे २ वर्षको जेल!
नपाएको प्राध्यापक पदवी पाएको विषय भ्रष्टाचारजन्य गतिविधि रहेको भन्दै कानुनले भने दण्डित गरेको छ। लामो समयदेखि प्राध्यापक बताउँदै आएका गिरीको दाबी झुठो ठहरिएमा उपकुलपतिलाई दुई वर्षसम्म कैद हुने प्रावधान भ्रष्टाचार निवारण ऐन २०५९ मा उल्लेख छ।

उनी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ अनुसार कारबाहीको भागीदार बन्ने देखिन्छ।

ऐनको दफा १५ भन्छ, ‘नपाएको ओहदा पाएँ भन्नेलाई सजायः  कुनै राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले आफूले नपाएको ओहदा, अधिकार, हैसियत वा सुविधा पाएँ भनी वा कुनै राष्ट्रसेवकको ओहदा, अधिकार, हैसियत वा सुविधा प्रयोग गरेमा वा नपाएको ओहदासम्बन्धी चिन्ह, पोसाक वा निस्सा देखाएमा राष्ट्रसेवकको ओहदासम्बन्धी चिन्ह, पोसाक वा निस्सा हो भन्ने अरूले विश्वास गरोस् भन्ने मनसायले त्यस्तो चिन्ह, पोसाक वा निस्सा जस्तो देखिने कुनै कुरा लगाएमा वा देखाएमा, निजलाई कसुरको मात्रा अनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .