ad ad

समाज


मर्ने बेला हजुरबाले रेखदेख गर्नु भनेका थिए, नातिले परिवार नै सिध्याइदिए

खेताला भन्न आएका तेजबहादुर घर पुग्न पाएनन्
मर्ने बेला हजुरबाले रेखदेख गर्नु भनेका थिए, नातिले परिवार नै सिध्याइदिए

उजिर कार्की
भदौ २७, २०७८ आइतबार १३:२८, काठमाडौँ

संखुवासभाको मादी नगरपालिका-१ खोला गाउँमा एकै परिवारका ६ जनाका हत्या अभियुक्तलाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ। 

इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले त्यही गाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। 

गत सोमबार बिहान ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन भन्ने दिपेन्द्र कार्की, ५ वर्षीया गोमा कार्की र ८४ वर्षीया पार्वता कार्कीको हत्या भएको थियो। 

उनीहरु ६ जनाकै हत्या भतिजा नाता पर्ने छिमेकी लोकबहादुरले गरेको निष्कर्षमा प्रहरी पुगेको हो। 

घटनाको दिन बिहानै तेजबहादुर लोकबहादुरको घरमा गएका थिए। घरबाट एक घण्टा टाढा रहेको मादी-३ स्थित पिप्लेमा रहेको खेतमा काम गर्नु थियो। तेजबहादुरले गाउँबाट खेताला लिएर जाँदै थिए। 

काम सघाउन लोकबहादुर र उनका भाइलाई पनि भनिएको थियो। सोमबार बिहानै तेजबहादुर खेतालाको टुंगो गर्न थाले। 

त्यही क्रममा उनी घर नजिकै रहेका लोकबहादुरलाई भेट्न गए। लोकबहादुरले आफू र भाइ आउने बचन दिएर काका तेजबहादुरलाई पठाए। 

उनका बुवा र भाइ घरमा थिएनन्। भाइले बिहानै गाईवस्तुका लागि खोले पकाए। चिया खाएर बुवा र भाइ दुवैजना घाँस काट्न गए। 

दुई भाइ खेताला आउने निश्चित भएपछि तेजबहादुर घर फर्किँदै थिए। उनै काका तेजबहादुर आफ्नो घरबाट अलिक पर पुगेपछि लोकबहादुर चिर्पट दाउरो बोकेर पछिपछि गए। 

‘आफूलाई पागल र काम गर्न नसकेको भन्दै गाली गरेको त्यतिबेला सम्झिएँ। दाउरो टिपेर पछ्याउँदै गएँ। बारीको डिलमा रहेको गोगनको बोटनजिकै प्रहार गरेँ, काका चिच्याउँदै ढले’, लोकबहादुरले प्रहरीसँग भनेका छन्। 

भिरालो ठाउँमा ढलेका तेजबहादुर लड्दै तल पुगे। तल पुगेपछि ‘लोकेले मलाई मार्यो’ भन्दै उठ्न खोजेका थिए। 

लोकबहादुर त्यतिबेला त्यहीँ पुगेर फेरि टाउकोमै प्रहार गरेर लडाए। त्यसपछि तेजबहादुर उठेनन्। 

तेजबहादुरले चिच्याएको उनको परिवारले मात्रै थाहा पाए। तेजबहादुरकी श्रीमती कमला घटनास्थलतर्फ जाँदै थिइन्। 

तर लोकबहादुर वरै आएर उनीमाथि पनि चिर्पट प्रहार गरे। टाउकोमा चिर्पट हानिएपछि उनी बाटोमुनि खोल्सामा झरिन्। 

उनीसँगै आएकी बुहारी रञ्जना भने सासु ढलेको देखेर बेहोस भइन्। बेहोस भएर ढलेकी रञ्जनालाई उठ्न खोज्दा खोज्दै टाउकोमै चिर्पट प्रहार गरे। पटक पटक टाउकोमा हानेर सासु ढलेकै खोल्सातिर खसालिदिए। 

हजुरबुबाको हारगुहार सुनेर दुई जना बच्चा पनि घर नजिकै बारीको डिलमा निस्किएका थिए। लोकबहादुर तीनजनाको हत्या गरेर त्यहाँ पुगे। 

र, उनीहरुमाथि पनि चिर्पट बजारे। दुई बालकको हत्या गरेपछि घर पुगेका लोकबहादुरले खोले पकाइरहेकी ८४ वर्षीया पार्वताको कपालमा समातेर भित्तामा टाउको ठोकाइदिए।

पटक पटक टाउको ठोक्काइदिएपछि पार्पता पनि त्यही ढलिन्। त्यसपछि घर फर्किएका लोकबहादुरले त्यो चिर्पट आगोमा हालेर नष्ट गरे। मानसिक रोगी लोकबहादुर अघिल्लो रात सुतेका थिएनन्। 

‘अघिल्लो रात निद्रा नलागेर छटपटी भएर बसेको थिएँ। एक्लै घरमा भएका बेला काका आइपुगे। खेताला टुंगो गरेर फर्किँदै गर्दा मनमा उनीप्रति आक्रोश आएर यही हो मौका भन्दै हानेँ’, लोकबहादुरले प्रहरीसँग भनेका छन्। 

लोकबहादुर सन् २०१४ मा कतार गएका थिए। कमाइ राम्रो भएन। त्यसपछि २०१६ मा मलेसिया पुगे। तर स्वास्थ्यमा समस्या आएपछि काम गर्न नसकेर फर्किनु पर्यो। 

गएको केही महिनामै फर्किए। आफू जाँदाको ऋण पनि तिर्न सकेनन्। दोश्रो पटक २०१९ मा कतार पुग्दा पनि त्यस्तै भयो। काम गर्न सकेनन् र फर्किनु पर्यो। 

त्यसपछि घरमै बसेका उनको ब्यबहारले परिवार पनि आजित थिए। रिसको बेला घरमा बिगार गर्थे। बुबा र भाइलाई पनि हिर्काउँथे। उनी आवेशमा आएको बेला जे भेट्यो त्यसैले हान्थे। राति नसुत्ने, एक्लै हिँड्ने । घरमा प्रायः झगडा गरिरहन्थे।

उनका बुबा काम कम सुन्छन्। बोलि लटपटिने छ। घरको आर्थिक अवस्था कमजोर छ। लोकबहादुरका बुबाको स्वास्थ्य पति त्यस्तो भएकै कारण उनका हजुरबुबाले मर्ने बेलामा तेजबहादुरलाई घर रेखदेख गरिदिन भन्थे। 

घरका जेठा छोरा लोकबहादुरलाई अह्राउन अरुले सक्दैनथे। तेजबहादुरले नै अह्राइ कराइ गर्थे। बेला बेला उनी घरमै गएर सम्झाउँथे। घरमा झगडा भएको बेला पनि उनै पुगेर साम्य पार्थे। घरमा काम नगरेपछि किन नगरेको भन्दै गाली गर्थे। गाली गर्ने क्रममा उनले पागल, अल्छी तँ काम लाग्दैनस् भन्थे। 

यो कुराले आफूलाई पीडा दिएको लोकबहादुरले बताएका छन्। जुन कुरा आफूलाई लामो समयदेखि चित्त दुखिरहेकाले त्यो दिन पनि यही कारण हत्या गरेको लोकबहादुरले बताएका छन्। 

लोकबहादुरका हजुरबुबा बित्ने बेलामा दिएको जिम्मेवारी पूरा गर्ने क्रममा भतिजलाई गाली गरेका तेजबहादुरको अन्ततः त्यही कारण परिवारै सखाप भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .