ad ad

समाज


कार्की परिवारको हत्या स्थल पुग्यो कुकुरसहितको टोली, मंगलबारबाट अनुसन्धान

कार्की परिवारको हत्या स्थल पुग्यो कुकुरसहितको टोली, मंगलबारबाट अनुसन्धान

नेपालखबर
भदौ २१, २०७८ सोमबार २३:३६, काठमाडौँ

एउटै परिवारका ६ जनाको हत्या भएको संखुवासभाको मादी नगरपालिका १ उमलिङमा फरेन्सिक र कुकुरसहितको अनुसन्धान टोली पुगेको छ।

घटना अनुसन्धानका लागि संघीय प्रहरी इकाई धरानबाट यो टोली घटनास्थलमा पुगेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए।

आइतबार राति परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको छ। 
उक्त घटना प्रहरीले मंगलबार बिहानबाट मात्रै अनुसन्धान गर्ने भएको छ। सोमबार दिनभर प्रहरीले घटनास्थल सुरक्षित गरेको छ। शवहरु जहाँ जस्तो अवस्थामा छन् त्यस्तै छाडिएको छ। 

‘डगसहितको टोली आउने भएपछि हामीले शवहरु छोएका छैनौं। शव रहेका चारै स्थान सुरक्षित गरेर राखेका छौं। मानिसहरुलाई छेउछाउ जान दिएका छैनौं।  के कसरी हत्या भएको छ भन्ने अहिले पनि हामीलाई थाहा छैन, धारिलो हतियार प्रहारबाट हो भन्ने देखिएको छ, विस्तृत भोलिमात्रै थाहा हुन्छ’, सोमबार साँझ नेपालखबरसँग डीएसपी सुवेदीले भने।

डग स्नाफिङ गर्ने र फरेन्सिक टोलीले चेकजाँच गरेपछि मात्रै मंगलबारै शव उठाइने छ।

पैसा लुट्न हत्या भएकाे शंका
प्रहरीले प्रारम्भिक सोधपुछपछि कार्की परिवाारको हत्याको पछाडी आर्थिक कारण हुनसक्ने शंका गरेको छ।

कार्की परिवारले झापामा ८० लाख रुपैयाँको जग्गा किनेको र पास  गर्ने समय भएकाले उनीहरुसँग भएको रकम लुटानका लागि हत्या भएको आशंका गरिएको छ।

‘आर्थिक कुराहरु पनि सुनिएको छ। तर अहिले नै यहि भन्ने अवस्था छैन। अब अनुसन्धानसँगै सबैकुरा खुल्दै जालान्’, डीएसपी सुवेदीले भने।

तेजबहाहदुरका दुवै छोरा विदेशमा छन्। जेठो रमेश मलेसियामा र कान्छो नरेश दुबईमा छन्। कान्छाका भने श्रीमती र छोरा पनि झापामै बस्छन्। जेठाका भने श्रीमती र छोराछोरीको पनि हत्या भएको छ।

घरमा भएका मध्ये भने ९० वर्षीय बृद्ध बौद्धमान कार्की मात्रै जोगिएका छन्। बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या भएको छ। उनको शव घरभित्रै फेला परेको हो।

५२ वर्षीय तेजबहादुरको शव घर नजिकै सडकमा भेटिएको छ।

तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना (रमेशकी श्रीमती) को शव घर नजिकै रहेको खोल्सामा फेला परेको छ।

रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गोमाको शव घर माथि मकै बारीमा फेला परेको छ।

लाशको प्रकृति हेर्दा लखेटि लखेटि हत्या गरेको प्रहरीको अनुमान छ।

राति परिवारका सबै सदस्यको हत्या भए पनि ९० वर्षीय वृद्धले भने केही थाहा नपाएको बताएका छन्। बौद्धमान राम्रोसँग कान सुन्न र आँखा राम्रोसँग देख्दैनन्।

घटना बारे छिमेकीले इलाका प्रहरी कार्यालय चैनपुरमा सोमबार बिहान ९ः ४० बजे खबर गरेका थिए। शव देखेपछि उनीहरुले हत्या भएको थाहा  पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .