ad ad

समाज


त्यो साइनिङ, यो गण्डकी अनि फर्किन लागेको मणिपाल

त्यो साइनिङ, यो गण्डकी अनि फर्किन लागेको मणिपाल

दायाँबाट क्रमशः साइनिङ अस्पताल, गण्डकी अस्पताल र मणिपाल अस्पताल।


वाशुदेव मिश्र
भदौ ११, २०७८ शुक्रबार १७:४८, काठमाडौँ

वि.सं. १९९० सालतिर पोखरामा वैद्यखाना खोलियो। 

वैद्यखानाले आयुर्वेदिक ओखती चलाउँथ्यो। असाध्य रोगको उपचार सम्भव थिएन। 

२००२ सालतिर पोखराकै रानीपौवामा आधुनिक सेवा दिने गरी वडाहाकिम धन शमशेरले अर्को अस्पताल सुरु गराए। 

वैद्यखानामा गणेशलाल रञ्जित कम्पाउन्डरको रुपमा बिरामी हेर्थे। 

पछि काठमाडौंका दयावीर कंसाकारले पोखरामा एलोपेथिक उपचार पद्धतिमा टेकेर क्लिनिक खोले। 

२००६ सालतिर बागलुङका वैद्य मेखलाल वैद्यले पोखराको भैरवटोलमा वैद्यखाना खोले। मेखलालको औषधालयमा मान्छे झुम्मिन्थे।

त्यही बेला सिकागो हिस्ट्री म्युजियमका डाक्टर कार्ल इ मिलर बटौली हुँदै पोखरा र मुस्ताङसम्म पुगेर आधुनिक चिकित्सा पद्धतिअनुसार बिरामीको उपचारमा खटिएका थिए। 

उनले नै लेखेको ‘मेडिकल सर्वे अफ कालीगण्डकी एन्ड पोखरा भ्याली’ नामक लेखमा पोखरा बस्दा ८६६ जना बिरामीको उपचार गरिएको उल्लेख छ। 

उता, नेपाल केही खुल्ला हुँदै थियो। अमेरिकी क्रिस्टियानिटी मिसनसँग आबद्ध रहेका डाक्टरहरूले बटौलीमा उपचार सुरु गरिसकेका थिए।  

इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ)को आधिकारिक वेबसाइटका अनुसार लिली र हिल्डाको नेतृत्वमा मिसनरीले २००९ सालमा पोखराका क्लिनिक खोलेर काम थालिसकेको थियो। 

२०१३ सालमा त्यही क्लिनिकलाई बढाएर यहाँको टुँडिखेलमा साइनिङ अस्पताल स्थापना गरियो। 

पाेखराका रैथाने लेखक रवीन्द्र माकाजूका अनुसार २०१९ सालतिर साइनिङ अस्पताल नदीपुरको बुद्धविहार अगाडि थियो। 

‘२०१३ सालमा मात्रै सरेको हो। कान्छी डाक्टर्नी प्रसिद्ध थिइन्। २०१८–२०१९ सालतिर पोखरामा बसाइँसराइ बढ्यो’, उनले भने, ‘२०४५ सालतिर गण्डकी अस्पतालमा विलय भएको हो।

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षाराज्यमन्त्री मीनबहादुर गुरुङद्वारा लिखित ‘मेरो जीवनमा बुद्धधर्म’पुस्तकका अनुसार राणाकालमा पोखरामा उपचारको लागि सानो डिस्पेन्सरी मात्रै थियो। 

वर्षायाममा मान्छेहरू बिरामी पर्थे तर उनीहरूको लागि आधुनिक उपचार गर्ने अस्पताल थिएन। 

धामीझाँक्री लगाएर, पात्लो दोबाटो चढाएर पनि निको भएन भने बिरामीहरू बजारका वैद्यहरूकहाँ आउँथे। वैद्यहरूले जडीबुटी पिसेर बनाएको गोली दिन्थे। 

‘गर्भावस्थाका आइमाईहरू प्रसव हुन सकेन भने त्यसको पत्ता लगाउनेको तथ्य काँचो वायु, देवी देवताको भाकल गरिन्थ्यो’, उनले लेखेका छन्, ‘धेरै मान्छेहरूको मृत्यु उपचार नपाएर हुन्थ्यो।’ 

त्यो दुःख देखेका गुरुङले पोखरामा क्रिश्चियन मिसनरीले अस्पताल राख्ने जग्गा खोजेको थाहा पाए। उनीहरूलाई अस्पताल बनाउन दिँदा क्रिश्चियन धर्मको प्रचार हुन्छ भनेर रोकियो। उनले पोखराजस्तो ठाउँमा स्कुलजस्तै अस्पताल पनि चाहिन्छ भन्ने सोचे रे!

‘पछि मैले ५० शय्याको अस्पताल राख्न पाऊँ भनेर स्वास्थ्यमन्त्री नरबहादुर गुरुङलाई दिएँ र पुनः उनै मिसिनरीहरूलाई दरखास्त दिन लगाएँ अनि प्रधानमन्त्री मातृकाबाबु (मातृकाप्रसाद कोइराला) सँग मैले भनेँ– यदि कुनै सरकारी अस्पताल दिन सकिँदैन भने अस्थायी साइनिङ अस्पतालको आदेश इजाजत दिनुहोस्’, उनले लेखेका छन्, ‘जोड गरेपछि अस्पतालको आदेश भयो। पहिला रामघाट र पछि टुँडिखेलमा जग्गा प्राप्त भएपछि अस्पताल खोलियो, अस्पताल खोलेपछि गर्भस्थहरूको र रुखबाट लडी लंगडा र अपाङ्ग हुनेहरूको मुख्य उपचार र अरु उपचार सुरु भयो।’ 

उनका अनुसार त्यो बेला साइनिङले सुरुमा २५ र पछि ५० पैसा शुल्क लिएर उपचार गथ्र्यो। 

आधुनिक चिकित्सा पद्धतिअनुसार बिरामीको सेवा गर्ने साइनिङ अस्पतालले २०१३ सालतिर गोर्खाको आँपपीपलदेखि मध्यपश्चिममा केही ठाउँमा पनि सेवा विस्तार गर्‍यो। 

२०४४–०४६ सालतिर मिसन अस्पताल गण्डकीमै मिसियो।  

यता, भारतीय सेनाबाट रिटायर्ड मेजर वीरसिंह गुरुङले पोखरामा आधुनिक अस्पताल र स्कुलको सपना देखे। 

उनकै पहलमा पोखरा २०१३ चैत १३ गते पोखरामा सोल्जरबोर्ड स्कुल (हालको अमरसिंह उच्च मावि) र सोल्जरबोर्ड अस्पतालको नाममा गण्डकी अस्पतालको स्थापना भयो। 

कालान्तरमा त्यही अस्पताल जिल्ला र क्षेत्रीय अस्पतालमा रुपान्तरण गरियो। यो गण्डकीकै सुविधासम्पन्न र सस्तो अस्पताल हो। 

गण्डकीमा १० रुपैयाँको टिकट काटेर जनताले ओपीडी सेवा लिन सक्छन्। यहाँ रहेका दर्जनभन्दा बढी निजी अस्पतालमा यही सेवा लिन ५ सय रुपैयाँभन्दा बढी तिनुपर्छ। अस्पतालको बेड र अन्य सेवाको शुल्क त छोइनसक्नु छ। 

मणिपालको प्रवेश 
गण्डकी अस्पतालले बिरामीको चाप धान्नै नसक्ने। मुटु, क्यान्सर, किड्नीजस्ता समस्या देखिए सोझै काठमाडौं वा भारत जानुपर्ने अवस्था रहेकै बेला पोखरामा एकाएक भारतको प्रतिष्ठित मणिपाल शिक्षण अस्पताल भित्रियो। 

यो अस्पताल कसरी पोखरा आयो? धेरै जानकारी सार्वजनिक भएको छैन तर सन् १९९२ अक्टोबर १८ मा नेपाल सरकार र मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुप भारतबीच भएको सम्झौतापछि नेपालकै पहिलो निजी मेडिकल कलेजको रुपमा मणिपाल नेपाल पोखरा भित्रिएको थियो। 

१९९४ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै मणिपालले चिकित्साशास्त्रको अध्ययन सुरु गर्‍यो। सन् १९९८ मा ७५० बेडको शिक्षण अस्पताल निर्माण गरेको कलेजले सन् २००१ मा एमबीबीएस तथा सन् २००५ बाट एमडीको अध्यापन सञ्चालनमा ल्याएको थियो। 

अहिले मणिपाल कलेजमा एमबीबीएस, पिजी र नर्सिङका कक्षा सञ्चालनमा छ। यस अस्पतालले एमबीबीएस अध्यनका लागि वार्षिक १०० जना विद्यार्थी भर्ना गर्न अनुमति पाएको छ। तीमध्ये २० प्रतिशत नेपाली विद्यार्थीहरू छात्रवृत्तिमै पढ्छन्। यहाँ श्रीलंकादेखि क्यानाडासम्मका विद्यार्थीहरू अध्ययनरत छन्। 

सस्तो थियो, महंगो हुन्छ कि भन्ने चिन्ता 
मणिपाल अस्पतालले असाध्य रोगको विशिष्टीकृत सेवा प्रदान गर्छ। क्यान्सरको किमियो र वायोस्पी सेवा यहीँ उपलब्ध छ। समग्रमा मणिपाल गरिबहरूको लागि सहयोगी बनेर पोखरा आयो।

अहिले पनि मणिपालमा ५० रुपैयाँ शुल्क तिरेर ओपीडी सेवा पाइन्छ। नेपाल स्वतन्त्र कर्मचारी युनियन मणिपाल इकाइका अध्यक्ष नवराज भण्डारीका अनुसार प्रसूति सेवाको लागि ७० रुपैयाँ शुल्क तोकिएको छ। 

‘यहाँको सेवा सस्तो छ, निजी अस्पताल जान नसक्नेहरूले यही अस्पताल आउँछन्’, उनले भने, ‘यसलाई गण्डकीपछि गरिबको दोस्रो अस्पताल भने पनि हुन्छ।’ 

विभिन्न देशबाट मात्र नभएर नेपालै विद्यार्थी र कर्मचारीहरू पोखरा आउँदा र बस्दा त्यसले यहाँको आर्थिक स्तर बढाउन सहयोग पुर्‍याएको तर्क पनि उनले गरे। उनको भनाइसँग फूलबारीबासी पनि सहमत छन्। 

मणिपाल अस्पताल बनेकै कारण फूलबारी क्षेत्रको विकास भएको उनीहरू स्वीकार्छन्। 

तर, त्यही मणिपाल अस्पताल शुक्रबारबाट नेपाली व्यवसायीहरूको हातमा आएको छ। पोखराकै बतास अर्गनाइजेसन र अटोवेज प्रालिले सवा ३ अर्बमा मणिपालको स्वामित्व लिएका छ्न्। 

मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुप बाहिरिएपछि अब त्यहाँ विदेशी विद्यार्थी आउँछन् कि आउँदैनन्? ओपीडीलगायतका शुल्कहरू बढ्छन् कि बढ्दैनन् र कार्यरत करिब नौ सय कर्मचारीको भविष्य के हुन्छ? भन्ने प्रश्नहरू तेर्सिएका छन्। 

नेपाल स्वतन्त्र कर्मचारी युनियन अध्यक्ष नवराज भण्डारीकै शब्दमा उनीहरूलाई अस्पतालको स्वामित्व हस्तान्तरणबारे केही बताइएको छैन। 

‘हाम्रो जागिर के हुन्छ, हाम्रो सञ्चयकोषमा भएको पैसाको अवस्था के छ भन्ने केही थाहा छैन’, उनले भने, ‘मणिपालले हिजो गरिबलाई सस्तोमै ओपीडी सेवा दिन्थ्यो, अब त्यो अवस्था रहन्छ कि रहँदैन भन्ने पनि बुझ्न सकिएको छैन।’

उनीजस्तै यहाँका राजनीतिक दलहरूले पनि मणिपालमा के हुँदै छ भन्ने बुझेका छैनन्। मणिपालको स्वामित्व लिएको भनिएको नयाँ समूहले पनि सम्झौता कस्तो हो खुलाएको छैन। 

अन्योलकै बीच माओवादी केन्द्रका कास्की इञ्चार्ज राजकाजी गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा र स्वास्थ्य क्षेत्र निजीकरण गर्ने सवालमा जति बेला राज्य वा पार्टीहरू उदार हुन्छन्, मणिपाल जस्तो समस्या हजार आउँछन्।’  

लामो स्ट्याटस लेखेका गुरुङले नेपालका कतिपय पार्टी र नेताहरू यो मामिलामा उदार होइन आफ्नै उपस्थितिमा व्यापार गरिरहेको उल्लेख गर्दै उनीहरूले यो विषयमा बोल्नु अन्यथा लाग्दैन भने गोहीको आँशु भनेझँै रहेको उल्लेख गरेका छन्। 

‘कसैले नेपालको कानुनअनुसार व्यापार गर्नु, पैसा कमाउनु अनि कर तिर्नु खुसीको कुरा हो तर जनताको जीवन र सार्वजनिक महत्वको विषयमा हात हाल्नु सोचनीय पक्ष हो’, उनले अगाडि लेखेका छन्, ‘यही विन्दुबाट हेर्दा मणिपालको सवाल अलि संवेदनशील लाग्छ। यसको सुरु र ४९ वर्ष (सुनेअनुसार) पछि सरकारको पूर्ण स्वामित्व रहने भनिसकेपछि कसैले पनि एकपक्षीय ढंगले चल्न वा चलाउन मिल्दैन। दुवैको सहमतिबेगर तेस्रो पक्ष प्रवेशको कुरा त पूराका पूर गलत हुन्छ।’ 

अझैसम्म २ पक्षको धारणा सार्वजनिक नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘सबैभन्दा पहिला सरकारको धारणा आउनुपर्ने र त्यसको साथमा सरकारसँग सम्झौता गर्ने मणिपालको व्यवस्थापन को अनि बल्ल अरु कुरा हुन्छ नत्र खासखुस कुरा हो भने सबैले मिलेर प्रतिवाद गर्नु आजको आवश्यकता हो।’

यो पनि– 
बतास अर्गनाइजेसन र अटोवेजले ३ अर्बमा किने पोखराको मणिपाल अस्पताल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .