ad ad

समाज


महामारीमा स्वास्थ्य मन्त्रालयका ३ बेथितिः ओम्नीलाई पोस्नेदेखि अपारदर्शी खर्चसम्म

महामारीमा स्वास्थ्य मन्त्रालयका ३ बेथितिः ओम्नीलाई पोस्नेदेखि अपारदर्शी खर्चसम्म

नेपालखबर
भदौ ६, २०७८ आइतबार १७:५६, काठमाडौँ

महालेखापरीक्षकको ५८औँ प्रतिवेदनले स्वास्थ्य सेवामा थुप्रै बेथितिहरू भएको औँल्याएको छ। 

सरकारले कोभिड महामारीका बेला ऐनविपरीत अर्बौँको स्वास्थ्य सामग्री खरिद, अपारदर्शी खर्च गरेको प्रतिवेदनले देखाएको हो। 

१) ओम्नीलाई पोस्ने काम
महालेखाले स्वास्थ्य मन्त्रालयले महामारीमा ओम्नी ग्रुपलाई पोस्ने गरी काम गरेको औँल्याएको छ। 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ मा तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा पर्ने संकटलाई मध्यनजर गरी खरिद आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्न लाग्ने अवधि जस्ता विवरण तयार गरी आपूर्तकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी विशेष परिस्थितिमा खरिद गर्न सक्ने व्यवस्था छ। 

स्वास्थ्य सेवा विभागलाई नेपालमा कोभिड–१९ महामारी रोगको नियन्त्रण, रोकथाम र उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री विशेष परिस्थितिमा खरिद गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ चैत ९ मा सहमति दिएको थियो। 

तर स्वास्थ्य सेवा विभागले १९ प्रकारका स्वास्थ्य सामग्री खरिदको लागि अमेरिकी डलर ९० लाख ७७ हजारको लागत अनुमान तयार गरी खल्ला प्रस्ताव आह्वान गरेकोमा ओम्नी कम्पनीसँग अमेरिकी डलर १ करोड ३ लाख ३८ हजार (लागत अनुमानभन्दा १३.९० प्रतिशत बढी) को प्रस्ताव स्वीकृत गरी २०७६ चैत १४ मा सम्झौता गरेको महालेखाले प्रतिवेदनमा जनाएको छ। 

सम्झौतामा ओम्नीले तीन लटमा स्वास्थ्य सामग्री उपलब्ध गराउने उल्लेख भएअनुसार २०७६ चैत १७ भित्र पहिलो लटमा अमेरिकी डलर ९० लाख ५३ हजारका सामग्री उपलब्ध गराउनुपर्ने शर्त राखिएको छ। शर्तअनरुप अमेरिकी डलर २३ लाख ३४ हजारका मात्र सामग्री आपूर्ति गरेको छ। आपूर्ति भएका सामग्रीको प्राविधिक परीक्षण नगरी उपयोग गरिएको प्रतिवेदनले जनाएको छ। 

ओम्नीले सम्झौतामा तोकिएको लटबमोजिमका बाँकी सामग्री आपूर्ति नगरेको र अत्यावश्यक सामग्री आंशिक मात्र आपूर्ति गरेकोले सम्झौताबमोजिम कार्य सम्पादन नगरेको कारण जनाई २०७६ चैत १९ मा निजसँगको सम्झौता अन्त्य गरेको थियो। 

सम्झौता गर्दा राखेको कार्यसम्पादन जमानत अमेरिकी डलर ५ लाख १७ हजार जफत गरी राजस्वमा दाखिला गरेको छ। तर सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) बमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी कार्य नगर्ने आपूर्तिकर्ताबाट सरकारी बाँकी सरह असुल गर्नुपर्नेमा सो सम्बन्धी प्रक्रिया अगाडि नबढाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

अर्कोतिर कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रणको लागि अति आवश्यक सामानहरू विशेष परिस्थितिमा खरिद गर्न प्रकाशित सूचनाबमोजिम पेस भएका ७ प्रस्तावदाताको मूल्याङ्कन गर्न ऐनमा व्यवस्था भएको समिति गठन नगरी मन्त्रीको प्रमुख सल्लाहकारको संयोजकत्वमा ६ सदस्य रहेको समिति गठन गरी वार्ता गरेको थियो। जुन ऐनको व्यवस्था विपरीत समिति गठन गर्नुको आधार, कारण र औचित्य पुष्टि हुने देखिएन। कानुनमा जिम्मेवारी नतोकिएका व्यक्तिहरूबाट भएका निर्णय कानुनसम्मत नदेखिएको प्रतिवेदनमा उल्लेख छ। 

२) अपारदर्शी खर्च
त्यसैगरी मन्त्रालयले मनोमानी रुपमा खर्च गरेको पनि महालेखा परीक्षकको ५८औँ प्रतिवेदनले उल्लेख गरेको छ। 

यो वर्ष मन्त्रालय र मातहतका निकायबाट २०७६ माघदेखि २०७७ असार मसान्तसम्म कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारमा संघीय सरकारको १ अर्ब ७९ करोड ८८ लाख, प्रदेश सरकारको ६ करोड ५१ लाख र आन्तरिक स्रोतबाट ३ करोड १३ लाखसमेत १ अर्ब ८९ करोड ५२ लाख खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ। 

जसमध्ये औषधि र स्वास्थ्य सामग्रीमा १ अर्ब १५ करोड १८ लाख (६०.७८ प्रतिशत), मेसिनरी उपकरण खरिदमा २९ करोड १० लाख (१५.३५ प्रतिशत), जोखिम भत्ता वितरणमा १२ करोड ५५ लाख (६.६२ प्रतिशत), पूर्वाधार निर्माण र मर्मत सम्भारमा ९ करोड ४० लाख (४.९६ प्रतिशत) र अन्यमा २३ करोड २९ लाख (१२.२९ प्रतिशत) खर्च भएको छ। 

बजेटको शीर्षकगत बाँडफाँट नभएकोले कोभिड–१९ सँग प्रत्यक्ष सम्बन्ध नभएको करार सेवा शुल्क, बैठक भत्ता समेतमा खर्च उल्लेख नगरि अपदर्शीता देखाइएको प्रतिवेदनमा उल्लेख छ। 

३) ऐन मिचेर स्वास्थ्य सामग्री खरिद
महामारीकै बीच मन्त्रालयले ऐन मिचेर स्वास्थ्य सामग्री खरिद गरेको महालेखाले ठहर गरेको छ। 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियमको नियम ११ मा सार्वजनिक निकायले मालसामानको लागत अनुमान तयार गर्दा सम्वन्धित सार्वजनिक निकायले चालु वा अघिल्ला वर्षहरूमा सोही प्रकृतिको खरिद गर्दा लागेको वास्ताविक लागत, स्थानीय बजारमा प्रचलित दरभाउ, उद्योग वाणिज्य संघले जारी गरेको दररेटको आधारमा तयार गर्नुपर्ने व्यवस्था छ। 

तर विभागले १ अर्ब ७१ करोड ७५ लाख ६४ हजार लागत अनुमानका पीपीई. आरडीटी, भीटीएम मास्क, स्यानीटाइजर लगायतका सामग्रीहरू खरिद गर्न बोलपत्रको माध्यमबाट खरिद गर्न १ अर्ब १९ करोड ५८ लाखको सम्झौता गरी १ अर्ब १४ करोड ५७ लाख भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। 

विभागले ४ करोड ८५ लाख मूल्यका ५१ प्रकारका स्वास्थ्य सामग्री लागत अनुमान स्वीकृत नगरी अन्य अस्पतालवाट प्राप्त प्रस्तावको आधारमा सोझै खरिद गरेको छ।

कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १६ को निर्णय बमोजिम आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जी टू जी) विधिबाट खरिद गर्ने उल्लेख छ। 

नेपाली सेनामार्फत खरिद गर्ने निर्णय भएका ३९८ किसिमका सामग्रीमध्ये १५ प्रतिशतमा नबढ्ने गरी स्वास्थ्य सेवा विभागले खरिद गर्ने स्वास्थ्य मन्त्रालयका सचिवस्तरको निर्णयका आधारमा ३ आपूर्तकबाट ३६ करोड १८ लाखका स्वास्थ्य सामग्री सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ बमोजिम खरिद गरेको छ। 

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खरिदको एउटा विधि निश्चित गरिसकेपछि सो मध्येको केही सामग्री छुट्टै प्रक्रियाबाट खरिद गर्नु परेको कारण स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ। सोको आधार र पुष्ट्याईं पेस हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ। 

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को लागि प्रयोगशाला परीक्षण जनस्तरमा पुयाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त दररेट तथा स्पेसिफिकेसनबमोजिम पीसीआर किट, रिएजेन्ट तथा भी।टी।एम। खरिद कार्यको लागत अनुमान तयार गरी एक आपूर्तकसँग ४ करोड ५२ लाखमा ठेक्का सम्झौता गरेको छ। 

आपूर्तकले बोलपत्र सम्बन्धी कागजातमा एउटा कम्पनीले उत्पादन गरेको ३ एमएलको भीटीएम २५ हजार थान आपूर्ति गर्न प्रस्ताव गरेकोमा गुणस्तर परीक्षण नगरी अर्को कम्पनीको उत्पादन खरिद गरेको छ। सम्झौतामा उल्लेख भएभन्दा फरक कम्पनीबाट उत्पादित सामग्री खरिद गरेको सम्बन्धमा छानबिन गरी सम्वन्धितलाई जिम्मेवार बनाउनुपनुपर्नेमा त्यसो नगरिएको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .