ad ad

समाज


अफगानिस्तानबाट एक सातामा ६ सय नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट एक सातामा ६ सय नेपाली स्वदेश फर्किए

नेपालखबर
भदौ ५, २०७८ शनिबार १७:५७, काठमाडौँ

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछिको संकटबीच काबुलसहितका सहरबाट उद्धार गरिएका ६०० नेपाली स्वदेश फर्किएका छन्।

गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। 

अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन्।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भदौ १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिएका छन्। 

शनिबार बिहान मात्रै दुई उडानमा २७ र ९ गरी ३६ नेपाली स्वदेश फर्किएका छन्। शनिबार राति पनि केही सङ्ख्यामा नेपाली स्वदेश फर्किने उडान तालिका रहेको छ।

स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानमार्फत आएका हुन्। अफगानिस्तानबाट काठमाडौँ आएका नेपालीलाई गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ। 

नेपाली सेनाले सामाखुसी र इचङ्गुनारायणमा होल्डिङ सेन्टर बनाएको छ। हालसम्म नेपाल फर्किएकालाई सामाखुसीको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको र आवश्यक परेमा मात्रै अर्को होल्डिङ सेन्टरमा लगिने नेपाली सेनाले जनाएको छ।

सरकारले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै (साउन ३२ गते भएको मन्त्रिपरिषद् बैठकले) नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो। 

उक्त बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिएको थियो।

अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले साउन ३१ गते परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो। 

कार्यदलमा मध्यएशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य छन्। 

रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता व्यवस्था गरिएको छ। अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ।

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ। आफ्नो अवस्थाबारे जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ। 

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .