ad ad

समाज


यस्तो छ तेस्रो लहरको सामना गर्न स्वास्थ्य मन्त्रालयले बनाएको योजना

यस्तो छ तेस्रो लहरको सामना गर्न स्वास्थ्य मन्त्रालयले बनाएको योजना

यज्ञराज जोशी
साउन ११, २०७८ सोमबार १९:२८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोजमा नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै त्यसको सामना गर्न पाँच महिने द्रुत कार्ययोजना निर्माण गर्न लागेको जनाएको छ। 

मन्त्रालयले असोज १५ देखि कात्तिक १५ गतेसम्म तेस्रो लहर आउनसक्ने आकलन गरेको छ। यस्तै यो लहरको उछाल मंसिर महिनामा पनि देखिने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए। 

‘कोभिड–१९ को वर्तमान अवस्था तथा संक्रमण दरलाई हेर्दा असोज दोस्रो सातादेखि तेस्रो लहर आउने आकलन गरिएको छ,’ अर्यालले भने, ‘यद्यपि भेरियन्टको स्वरूप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि पछाडि धकेल्न सक्छ।’

अहिलेको स्थिर अवस्था हेर्दा अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुनसक्ने मन्त्रालयको आकलन छ। त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नु पर्ने र सो मध्ये ९ हजार ७ सय ९३ जनालाई आईसीयूमा उपचार गर्नुपर्ने आकलन मन्त्रालयले गरेको छ। 

सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्तिहरू बढी जोखिममा पर्ने सम्भावना रहेको मन्त्रालयले भनाइ छ।

जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गराउन र प्रतिकार्यको तयारी र कार्यान्वयनका लागि देशभरका स्थानीय तहहरूमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षकहरु प्रमुख जिल्ला अधिकारीको मातहतमा परिचालन गर्ने योजना मन्त्रालयले बनाएको छ।

त्यसबाहेक कार्ययोजनामा होम आइसोलेसनमा रहेका संक्रमितहरूको घरभेट, फलोअप र परामर्शलाई प्रभावकारी बनाउने, एचडीयू, आईसीयू, अक्सिजन प्लान्ट निर्माणलाई निरन्तरता दिनुका साथै बालबालिकाहरूको उपचारका लागि एनआईसीयू सुदृढ गर्ने पनि उल्लेख छ।

तेस्रो लहरमा प्रभावकारी उपचारका लागि विज्ञ जनशक्ति (क्रिटिकल केयर स्पेसलिस्ट, एनेस्थेसियोलजिस्ट, जनरल फिजिसियन) करारमा भर्ना गरी परिचालन गर्ने, चिकित्सक तथा नर्सहरूका लागि क्रिटिकल, पेडियाट्रिक केयर तथा बालरोगको तालिम सञ्चालन गर्ने कार्यक्रम पनि मन्त्रालयले बनाएको छ।

कहिले आउँछ थप खोप?
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पनि तेस्रो लहरलाई नियन्त्रणमा लिन सरकारले भौतिक क्षमता सुदृढ गर्नुका साथै खोप ल्याउने विषयलाई प्राथमिकतामा राखेको बताए। 

‘अनुदान, ऋण अथवा किनेरै भए पनि सबै नेपालीलाई खोप उपलब्ध गराइने लक्ष्य सरकारको छ,’ उनले भने, ‘कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधिहरू सुचारु गर्न सकिन्छ। हाम्रो ध्यान खोपसँगै भएका संरचनाको सुदृढ गर्नमा केन्द्रित छ।’

तेस्रो लहरअघि मन्त्रालयले कोरोनाविरुद्धको थप १ करोड डोज खोप आइसक्ने जनाएको छ। सचिव लक्ष्मण अर्यालले असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप आउने सुनिश्चित भएको बताए। 

उनका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख भदौ पहिलो साता नेपाल आउनेछ भने भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप नेपाल आउनेछ। 

त्यस्तै वैदेशिक अनुदानबाट चीन सरकारले दिने १६ लाख डोज खोप साउनकै अन्तिम हप्ता आइसक्ने उनले जानकारी दिए। त्यस्तै खरिद गरेर कोभिसिल्ड खोप भारतबाट ल्याउन बाँकी १० लाख भदौकै दोस्रो साता नेपाल ल्याइने उनले विश्वास व्यक्त गरे।  

त्यसबाहेक सरकारले चीनबाट थप भेरोसेल खोप ६० लाख मात्रा खोप किन्ने तयारी गरिरहेको अर्यालले बताए। उक्त खोप भदौ मसान्तसम्म नेपाल आइसक्ने उनको विश्वास छ। 

‘असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप ल्याइने मन्त्रालयको योजना छ,’ उनले भने। 

चैत्रसम्म कोभ्याक्सबाट निःशुल्क १ करोड १३ लाख, कोभ्याक्सबाट लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जानसेन, सिनोभ्याक आदि १ करोड ५० लाख डोज, बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउने उनले बताए। 

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १५ लाखलाई खोप लगाउने योजना बनाएको थियो। पछिल्लो समय १२ वर्षदेखि १८ वर्षसम्मका थप ४९ लाख गरी कुल २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य छ। 

आइतबारसम्म पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जना (१५.८ प्रतिशत), पूर्ण खोप लगाउने १४ लाख ३० हजार ४ सय १६ जना (६.६ प्रतिशत) रहेका छन्। 

हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० मात्रा खोप प्राप्त गरिसकेको छ। त्यसमा कोभ्याक्स सुविधाबाट जम्मा १८ लाख ८२ हजार ८ सय ५० मात्रा प्राप्त भएको छ। यसमा कोभिसिल्ड ३ लाख ४८ हजार, जानसेन १५ लाख ३४ हजार ८ सय ५० डोज समावेश छन्। 

निषेधाज्ञाको नीति
तेस्रो लहरमा पनि संक्रमण बढ्दै गए निषेधाज्ञाको नीति लिने मन्त्रालयले जनाएको छ। हाल संक्रमण क्रमशः घट्दै गएको अवस्थालाई दृष्टिगत गरी लकडाउनलाई जोखिमस्तरको आधारमा क्रमशः खुकुलो पार्ने र जोखिम बढेका स्थानमा मात्र पुनः निषेधाज्ञा गर्ने व्यवस्था गर्नु उपयुक्त हुने स्वास्थ्य सचिव अर्यालले बताए। 

‘जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै कोरोनाबाट जोगिने मुख्य उपाय हो। तर संक्रमण बढ्दै गयो भने अवस्था हेरेर निषेधाज्ञा गर्नुपर्ने हुन्छ,’ सचिव अर्यालले भने। 

उपचार व्यवस्थापन
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन केन्द्रका संयोजक डा. गुणराज लोहनीले तेस्रो लहरमा उपचार व्यवस्थापनका लागि वीर अस्पतालाई कोभिड–१९ केन्द्रीय अस्पतालको रूपमा सञ्चालन गरिने, उपचारका लागि निजी र सरकारी गरी देशभरका १५७ अस्पतालहरू सूचीकृत भएको जानकारी दिए।  

यी अस्पतालहरुमा आईसीयू बेड संख्या तीन हजार रहेको र ६३० वटा आईसीयू बेड थप्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। यस्तै हाल नेपालमा भेन्टिलेटरको संख्या ९ सय रहेकोमा अरु १८० बेड थप्ने प्रक्रियामा रहेको उनले बताए। 

यस्तै हालसम्म सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजीमा ७७८ वटा एचडीयू बेडहरु सञ्चालनमा रहेको र १४ सय एचडीयू बेड थप्ने प्रक्रियामा रहेको उनले बताए। 

त्यसबाहेक बच्चाहरूमा जोखिम बढी रहेकाले उनीहरुका लागि १८० भेन्टिलेटरसहितको २७५ आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको उनले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .