ad ad

समाज


हुम्लामा अझै पुगेनन् पाठ्यपुस्तक

हुम्लामा अझै पुगेनन् पाठ्यपुस्तक

नेपालखबर
साउन ११, २०७८ सोमबार १०:४,

कोरोना कहरको कारण हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित बनेको छ। 

हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो। नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन्। विद्यार्थीको हातमा पाठ्य पुस्तकसमेत पुगेको छैन। 

कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या सिर्जना भएको छ। 

अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि जिल्लामा पाठ्यपुस्तक आउन नसकेको सरोकारवालाहरुले बताएका छन्। 

प्रकाशन गृहले जिल्लामा पाठ्यपुस्तक ढुवानीमा दिँदै आएको ९० प्रतिशत रकमलाई घटाएर ३० प्रतिशतमा झारेका छन्। ढुवानी रकम घटेपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताए।

‘कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ, तर ढुवानी हुन नसक्दा रोकिएको छ,’ उनले भने, ‘अबको एक दुईदिनमा समन्वय गरेर पाठ्य पुस्तक जिल्लामा ल्याउने तयारी गरिरहेका छौँ।’

रोकायाले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन्।। तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय छन्। हुम्लामा  हवाईमार्गबाट पाठ्यपुस्तक ढुवानी हुँदै आएको छ। 

खार्पुनाथ गाउँपालिकामा भने कोरोना सङ्क्रमणको डरका कारण विद्यालय सञ्चालन गर्न नसके पनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक एजेन्ट र सम्बन्धित निकायलाई ताकेता गरिने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए। 

जिल्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ । बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मनिषा रावतले लामो समय कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा आफूहरुको पठनपाठनमा निकै घाटा भएको गुनासो गरिन्। 

विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याइदिएको भए घरमै बसेर पनि अध्ययन गर्न सकिने रावतकको भनाइ छ। पाठ्यपुस्तक  ढुवानीको जिम्मा लिएका एजेन्टको लापरवाहीका कारण आफूहरुले समयमै पुस्तक नपाएको गुनासो विद्यार्थीको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .