ad ad

समाज


साढे तीन करोडमा जेष्ठ नागरिक भवन बन्यो, तर नगरपालिकाले चाबी बुझ्न मानेन

साढे तीन करोडमा जेष्ठ नागरिक भवन बन्यो, तर नगरपालिकाले चाबी बुझ्न मानेन

नेपालखबर
साउन ९, २०७८ शनिबार १०:४१,

सर्लाहीको हरिवन नगरपालिका-१ कैलाशपुरीमा निर्मित जेष्ठ नागरिक आवास भवनको साँचो बुझ्न हरिवन नगरपालिकाले अस्वीकार गरेको छ। 


चुरे क्षेत्रमा अवस्थित ऐतिहासिक कैलाशपुरी मन्दिर परिसरमा सहरी विकास तथा भवन निर्माण विभागको झण्डै साढे तीन करोड रुपैयाँ लागतमा जेष्ठ नागरिक आवास भवन निर्माण गरिएको छ। 

कम्पाउण्डसहित निर्माण गरिएको सुविधासम्पन्न भवनमा १८ कोठा छन्। जसलाई ‘सुखी जेष्ठ नागरिक आवास’ नामाकरण गरिएको छ।

भवनको निर्माण कार्य पूरा भएपछि शुक्रबार त्यसको चावी हरिवन-१ का वडाध्यक्ष रामबहादुर क्याप्छाकीलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो। तर, कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँ र वडाध्यक्ष क्याप्छाकीसहितका जनप्रतिनिधि नआएपछि चाबी हस्तान्तरण कार्यक्रम नै स्थगित भएको भवन निर्माणमा सक्रिय युवा फडिन्द्र अधिकारीले बताए।

कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य डिल्ली उप्रेती, माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकी, हरिनव-९ का वडाध्यक्ष सीताराम पोखरेलसहित विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। तर, मेयर र सम्बन्धित वडाका अध्यक्षहरु कार्यक्रममा उपस्थित नभएपछि भवन हस्तान्तरण गर्ने कार्यक्रममै स्थगित भएको हो। 

प्रदेश २ सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले भवन बुभिलिनु भनेर पत्र पठाए पनि नगरपालिकाले त्यसलाई बेवास्ता गरेको अधिकारीले बताए। ‘यसमा हरिवन नगरपालिकाका जनप्रतिनिधिको राजनीतिक पूर्वाग्रहले काम गरेको छ,’ अधिकारीले भने, ‘यो माओवादी केन्द्रको अगुवाइमा भएको काम भएकाले उनीहरु कार्यक्रममा नआएका हुन सक्छन्।’

तर, हरिवन-१ का वडाध्यक्ष क्याप्छाकीले भने आफू बिरामी भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको दाबी गरे। ‘म बिरामी छु, मेयर सा’प पनि काठमाडौं जानुभएको छ,’ उनले भने, ‘कार्यक्रम छ भनेर खबर आएको थियो, तर जान सकिएन।’ 

उनले पछि अर्को कार्यक्रम गरेर भवनको चाबी बुझिने बताए। 

हरिवन- ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल पनि कार्यक्रममा उपस्थित भएनन्। ‘त्यहाँ कसले र किन भवन बनायो, कसलाई र किन हस्तान्तरण गर्न खोजिएको हो, मलाई केही जानकारी भएन,’ ढुंगेलले भने, ‘यो मेरो सरोकारको विषय पनि होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .