ad ad

समाज


नयाँ अध्ययन भन्छः कोरोनाबाट भारतमा ३० लाखभन्दा बढीको मृत्यु भएको हुनसक्छ

नयाँ अध्ययन भन्छः कोरोनाबाट भारतमा ३० लाखभन्दा बढीको मृत्यु भएको हुनसक्छ

(भारतमा काेराेनाबाट मृत्यु भएका व्यक्तिहरुकाे शव जलाइँदै, तस्बिर: राेयटर्स)


नेपालखबर
साउन ६, २०७८ बुधबार १६:२९,

भारतमा कोरोना भाइरस ‘कोभिड १९’बाट ३० लाखभन्दा बढीको मृत्यु भएको हुनसक्ने एउटा नयाँ अध्ययनले जनाएको छ।

अमेरिकाको अनुसन्धान संस्था सेन्टर फर ग्लोबल डेभलोपमेन्टको अध्ययनअनुसार भारतमा अहिले तथ्यांकमा देखिएको भन्दा झन्डै १० गुणा बढीको कोरोनाका कारण मृत्यु भएको हुनसक्छ।

मृतकको तथ्यांक, अन्तर्राष्ट्रिय अनुमान, सेरोलोजिकल अध्ययन र घरेलू सर्वेक्षणको आधारमा भारतमा कोरोनाबाट भएको मृत्युको मात्रा पुष्टि गर्ने प्रयास गरिएको थियो।

जसबाट त्यहाँ तथ्यांकमा देखिएका भन्दा धेरैको कोरोनाले ज्यान लिएको अनुमान गरिएको हो। 

अध्ययनअनुसार भारतमा सन् २०२० जनवरीदेखि यसवर्षको जुनसम्म ३४ लाखदेखि ४७ लाख व्यक्तिको कोरोनाको कारण मृत्यु भएको हुनसक्छ।

यस अध्ययनमा संलग्न अध्ययनकर्ता तथा भारत सरकारको पूर्व मुख्य अर्थ सल्लाहाकार अर्बिन्द सुब्रमनियन भन्छन्,‘साँचो मृत्युहरू सयौं हजारमा होइन दशौं लाखमा हुने सम्भावना छ, यो भारतको सबैभन्दा खराब मानवीय संकट हुनसक्छ।’

अध्ययनअनुसार भारत सरकारले कोरोनाबाट भएको हजारौं मृत्युलाई बेवास्ता गर्‍यो। रातारात जलाइएका लाश, गंगामा बगेका शवको बारेमा भारतले खोजी गर्न नसकेको जनाइएको छ।

(दोस्रो लहरले भारतमा दैनिक हजारौंको मृत्यु हुँदा अन्त्येष्टी गर्न पनि लाइन बस्नुपर्ने अवस्था थियोl तस्बिर: एपी)

न्युयोर्क टाइम्सअनुसार भारतमा अहिलेपनि दैनिक ४० हजार व्यक्ति कोरोनाबाट संक्रमित बनिरहेका छन्। सोही अवधिमा ५ सयले ज्यान पनि गुमाइरहेका छन्।

भारतमा हालसम्म ७ प्रतिशत व्यक्तिले मात्र पुरा खोप लगाएको पनि बताइएको छ। 

अध्ययनमा संलग्न मोदी सरकारका पूर्व अर्थ सल्लाहकार सुब्रमनियनले महामारीको चुनौती समाप्त हुने देखिएको बताउँदै खोप कार्यक्रमले आशा जगाउने र भारतमा खोप कार्यक्रम तीव्र रुपमा अगाडि बढाउनु बताउँछन्।

कोरोनाको नयाँ भेरियन्टका कारण भारतमा दोस्रो लहरका बेला दैनिक ४ लाखसम्म संक्रमित भएका थिए। त्यसबेला झन्डै ४ हजारले दैनिक ज्यान गुमाएका थिए।

भारतमा तेस्रो लहर निम्तनसक्ने पनि चेतावनी दिइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .