ad ad

समाज


रूपा सुनार प्रकरणमा शिक्षामन्त्री श्रेष्ठलाई बोलायो सर्वाेच्च अदालतले

रूपा सुनार प्रकरणमा शिक्षामन्त्री श्रेष्ठलाई बोलायो सर्वाेच्च अदालतले

नेपालखबर
असार २३, २०७८ बुधबार १७:४,

रूपा सुनार प्रकरणमा सर्वाेच्च अदालतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेको  छ।

आफूलाई जातीय भेदभाव गर्ने घरबेटीलाई हिरासतमुक्त गराई आफ्नै सरकारी गाडीमा घर पुर्याइदिएपछि सञ्चारकर्मी सुनारले दिएको रिट निवेदनबारे बुधबार सुनुवाइ गर्दै अदालतले मन्त्री श्रेष्ठसमेत विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो। 

न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न अन्तरिम आदेश माग गरिएको विषयमा भने छलफल गर्न दुवै पक्षलाई असार २९ गते अदालत बोलाएको छ।

‘जातको आधारमा व्यक्तिविरूद्ध छुवाछुतको भेदभाव गरिने कार्य क्रूर र अमानवीय भएकोमा विवाद छैन। यस्तो कार्य संविधान र कानुनले वर्जित गरेको छ र दण्डनीय अपराध मानेको छ,’ सर्वोच्च अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘रिट निवेदकले आफूविरूद्ध जातको आधारमा छुवाछुतको भेदभाव गरिएको कानुनबमोजिम अनुसन्धान गरी दोषीमाथि कारबाही होस् भन्ने माग गर्नु निवेदकको कानुनी अपेक्षाको विषय रहेको र निवेदकलाई न्याय दिनु राज्यको कर्तव्य रहेको हुँदा सो सम्बन्धमा के कसो भएको छ कसरी अनुसन्धान अघि बढिरहेको छ भनी विपक्षीहरू समेतको सहभागितामा छलफल गरी अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्णय गर्नुपर्ने हुँदा सो प्रयोजनका लागि सर्वाेच्च अदालतको नियमावली २०७४ नियम (४९) (२) (ग) बमोजिम मिति २०७८/३/२९ को पेसी तोकी विपक्षीहरूलाई सूचना दिनू।’

हेर्नुहोस्, सर्वाेच्च अदालतको आदेश :

 

यही असार १ गते काठमाडौंको बबरमहलमा डेरा खोज्ने क्रममा घरधनी सरस्वती प्रधानले रूपा सुनारलाई कोठा दिने पक्कापक्की गरिन्। तर अन्त्यमा जात सोध्दा सुनारले आफू कामी भएको बताएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिइन्। 

यसपछि सञ्चारकर्मी सुनारले आफूलाई जातीय विभेद भएको भन्दै प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिइन्। प्रधानलाई प्रहरीले पक्राउ पनि गर्‍याे। तर हिरासतमा बसेको ३ दिनका दिन शिक्षामन्त्री श्रेष्ठले यही असार ९ गते आफैं प्रहरी कार्यालय पुगेर प्रधानलाई छुटाई आफ्नै झन्डावाल गाडीमा राखेर घर पुर्‍याइदिए।  

यसरी मन्त्रीले नै जातीय विभेदको पक्ष लिएको भन्दै सुनारले घरबेटीसमेत शिक्षामन्त्रीविरुद्ध यही असार २० गते सर्वाेच्च अदालतमा रिट निवेदन दिएकी हुन्। 

यस्तो छ, रिट निवेदन : घरबेटीसहित शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले हालिन् सर्वोच्च अदालतमा मुद्दा

यी पनि :

शिक्षामन्त्री श्रेष्ठलाई सरकारबाट नहटाए राष्ट्रिय सभामै अनशन बस्ने चेतावनी

रूपा सुनारलाई न्याय र शिक्षामन्त्रीको बर्खास्तगी माग गर्दै ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा शिक्षामन्त्रीको बचाउ, रूपा सुनारको आलोचना

रूपा सुनारविरुद्ध भ्रम फैलाउने ६ अनलाइन बन्द गराउन पत्राचार

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .