ad ad

समाज


मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

नेपालखबर
असार २२, २०७८ मंगलबार १९:३४,

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ। इन्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून संकायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको विश्वविद्यालयले जनाएको छ। बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक र पन्त करारका हुन्।

उपकुलपति प्राडा नन्दबहादुर सिंहले कार्यक्रम निर्देशक यादवले आफूखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तले परीक्षाअगावै प्रश्नपत्र सार्वजनिक गरेको प्रमाणित भएपछि बर्खास्त गरेको जानकारी दिए। 

‘यो अक्षम्य शैक्षिक अपराध हो, प्राज्ञिक मर्यादामा आँच आउने काम भयो’, विश्वविद्यालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति सिंहले भने, ‘छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उहाँहरुलाई निष्काशन गरिएको छ।’ 

‘स्कूल अफ ल’ का पन्तलाई तीन महिनाअघि नै निलम्बन गरिए पनि छानबिन समितिको निष्कर्षपछि बर्खास्त गरिएको हो।     

उपप्राध्यापकद्वयलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गरिएको छ। यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर पास गराएको आरोप छ। विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुशी नम्बर दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

स्ट्रक्चरल इन्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापक यादवले आफूखुशी नम्बर दिएको पाइएको छानबिन समितिको ठहर छ। उपकुलपति सिंहले उनीहरूलाई विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन नियमावली २०६९, परिषद् ३३ को नियम १७४ बमोजिम प्राडा दीपबहादुर रावलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .