ad ad

प्रविधि


अझ विकसित हुँदैछ अनुहार चिन्ने प्रविधि

अझ विकसित हुँदैछ अनुहार चिन्ने प्रविधि

केड मेट्ज
असार ३०, २०७६ सोमबार ७:१५,

मानिसका अनुहारको दर्जनौं डेटाहरु विभिन्न कम्पनी र अनुसन्धानकर्ताले उनीहरुको जानकारी बिना लिन्छन् र विश्वभर फैलाइदिन्छन्। यसले अनुहार पहिचान गर्ने प्रविधिको विकासमा आगो झोस्ने काम गरेको छ।

सामाजिक सञ्जालमा अपलोड भएको चित्र, फोटो वेबसाइट, इन्टरनेट डेटिङ सेवा, रेस्टुरेन्टमा राखिएका क्यामेरा र कलेज परिसरमा राखिएका क्यामेराले मानिसको डेटा संकलन गर्दछन्।

यस्तो डेटा सेन्टरको कुनै गन्ती हुँदैन। गोपनियताको पक्षधरमा रहेका अभियन्ताहरु भन्छन्, ‘यस्ता प्रविधि माइक्रोसफ्ट, स्टानफोर्ड युनिभर्सिटी र अन्यले बनाएका हुन्। यहाँ एकले करोडौं फोटो डेटा संकलन गर्दा अर्कोले २० लाखभन्दा बढी फोटो डेटा संग्रहित गरेको छ।’

अनुहार चिन्ने प्रविधिको विकास गर्नका लागि अग्रपंक्तिमा उभिने दौडका कारण यतिबेला अनुहारको डेटा संकलन भइरहेका हुन्। यो प्रविधिले मानिसको फोटोलाई मूल्यांकन गरेर मानिसको पहिचान खुलाउँछ। यसको लागि जटिल गणितीय प्रणाली र पर्याप्त डेटाहरुको आवश्यकता हुन्छ। प्रविधिको क्षेत्रमा ठूलो नाम फेसबुक र गुगलसँग मानिसका पर्याप्त डेटाहरु छन्। अनुसन्धानअनुसार उनीहरु त्यो कसैलाई वितरण गर्दैनन्। कैयौं त्यस्ता कम्पनी र विश्वविद्यालय छन् जसले मानिसको डेटा वितरण गर्दछन्।

अस्ट्रेलिया, चीन, भारत, सिंगापुर र स्विट्जरजल्यान्डका कम्पनीले आर्टिफिसिय इन्टिलिजेन्स (एआइ) प्रविधिको विकासका लागि डेटा वितरण गर्ने गरेका छन्। कम्पनी र ल्याबहरुले दशकौंदेखि मानिसको मुहार चित्र संकलन गरिरहेका छन्। ती सबै डेटाहरु अनुहार पहिचान प्रविधिको विकासको लागि संकलन गरिएका हुन् तर मानिसहरुलाई आफ्नो अनुहारको डेटा संकलन भएको थाहा छैन।

यतिबेला अनुहार पहिचान प्रविधिमा प्रयोग भएका डेटासेटबारेमा प्रश्न चिन्हहरु खडा भएका छन् किनभने यो प्रविधि यतिबेला अनावश्यक तवरबाट प्रयोग भइरहेको छ। गत आइतबार सार्वजनिक एक आलेखमा अमेरिकी आप्रवासन र सीमा शुल्क प्रवद्र्धन अधिकारीहरुले एक मोटरसाइकल यात्रुको फोटा पहिचान गर्न अनुहार चिन्ने प्रविधिको प्रयोग गरेको जनाइएको छ।

अमेरिकाको संघीय अनुसन्धान निकाय एएफबीआइले पनि यो प्रविधि अपराधी चिन्नका लागि एक दशका यतादेखि प्रयोग गरिरहेको सरकारी प्रतिवेदनले जनाएको छ। गत बुधबार अमेरिकी कँग्रेसमा सरकारले यस प्रविधिको प्रयोग गर्न हुने या नहुने भन्नेबारे बहस भयो।

यद्यपि अनुहार चिन्ने प्रविधिको डेटाबेस अहिलेसम्म निरीक्षण भएको छैन। अभियन्ताहरुले यस प्रविधिको डेटासेट संकलन गर्ने कम्पनी अथवा मानिसले फोटोको दुरुपयोग गर्न सक्ने आशंका गरेका छन्। दुरुपयोग भए यसले नैतिक प्रश्न खडा गर्ने उनीहरुको आँकलन छ।

अमेरिकाको एक डेटाबेस चिनियाँ कम्पनीसँग साझेदारी गरिएको थियो। त्यो चीनले उसको देशको अल्पसंख्यक मुसलमानको तथ्यांक प्रोफाइल उतार्न प्रयोग गरेको खबरहरु आएका छन्। केहीहप्ता यता माइक्रोसफ्ट र स्टानफोर्डजस्ता कम्पनी र विश्वविद्यालयले अनुहारको डेटासेट इन्टरनेटबाट हटाएका छन्। गोपनीयताको ख्याल गर्दै उनीहरुले ती डेटाहरु हटाएका हुन्।

यद्यपि ती डेटाहरु पहिल्यै बाँडिएकाले ती तस्बीरहरु अमेरिका साथै कसैले प्रयोग गर्न सक्ने अनुसन्धानकर्ताको दाबी छ।

face recoginization1

‘अनुहार चिन्ने प्रविधिको संस्कार हेर्दैजाँदा यो हस्तक्षेपकारी देखियो, महशुस गर्दैजाँदा यस्ता कम्पनी हाम्रो गोपनीयतासँग गम्भीर नभएको देखियो’ अनुहार पहिचान प्रविधिको डेटासम्बन्धी अनुसन्धान गरिरहेकी ओ’सुलिभानले भनिन्। उनका अनुसार यो संस्कारको विरोध गरिनुपर्छ।

‘यो प्रविधि जति फस्टाउँछ, हामी त्यतिनै मात्रामा खुला हुँदै जान्छौं। गोपनियता भंग हुँदै जान्छ’, उनी भन्छिन्। गुगल, फेसबुक र माइक्रोसफ्ट यसबारे केही बोल्न चाहँदैनन्।

सन् २०१४ मा स्ट्यानफोर्डले ब्रेनवास डेटाको नाममा एक डेटाबेस संकलन गरेको थियो। सानफ्रान्सिस्कोको एक क्याफेमा रहेको क्यामेरामार्फत् ती डेटा संकलन भएका थिए। एक अध्ययनअनुसार अनुसन्धानकर्ताले तीन दिनको अवधिमा त्यहाँबाट दशहजार भन्दाबढी फोटो संकलन गरेका थिए।

स्ट्यानफोर्डले त्यस ब्रेनवास डेटा चीनसँग साझेदारी गरेको थियो। चीनले उक्त डेटाको सहयोगमा आफ्नो देशका अल्पसंख्यक मुसलमानमाथि निगरानी बढाएको न्युयोर्क टाइम्सले बताएको छ। 

जर्मनीका अभियन्ता आडम हार्भीले ब्रेनवास डेटा मेगापिक्सल भन्ने वेबसाइटबाट ट्रयाक गर्न थालेपछि पछि इन्टरनेटबाट ब्रेनवास डेटा हटाइयो। ब्रेनवास डेटा र चीनको नेसनल युनिभर्सिटीेले प्रयोग गरेको डेटामा समानता भएको हार्भीको अनुसन्धानले देखाउँछ।

स्ट्यानफोर्डका अनुसन्धानकर्ताले भने यस विषयमा कुनै टिप्पणी गर्न चाहेका छैनन्। ‘अनुसन्धानको प्रक्रियाको हिस्साको रुपमा स्ट्यानफोर्डले अनुसन्धान र सहयोगी दस्तावेजहरु सार्वजनिक गर्दछ’ स्टानफोर्ड भन्छ,‘एकपटक अनुसन्धान सार्वजनिक भइसकेपछि, यस विश्वविद्यालयले त्यसको प्रयोगबारे सोधखोजी गर्दैन।’ 

विश्वविद्यालयमै क्यामेरा

ड्युक युनिभर्सिटीले पनि सन् २०१४ मा विश्वविद्यालय परिसरमा ८ वटा क्यामेरा राखेर डेटाबेसको सुरुवात गरेको थियो। ड्युकका अनुसन्धानकर्ताले त्यसबेला २० लाखभन्दा बढी भिडियो र २७ सयभन्दा बढी मानिसका फोटोहरु संकलन गरेका थिए। उनीहरुले अनलाइनमा डेटासेटको नाम ड्युक एमटीएमसी राखे।

उक्त डेटासेट पछि चीन, जापान, वेलायत लगायतका राष्ट्रले प्रयोग गरे। अनुसन्धानमा खटेका एक अनुसन्धानकर्ता डाक्टर टोमासीका अनुसार उक्त डेटाहरु अनुहार चिन्ने प्रविधिका लागि संकलन गरिएको थिएन। किनभने क्यामेराको लाइटिङ र एंगल राम्रोसँग मिलाइएको थिएन।

‘हामीले कम्प्युटरको एल्गोरिदम र त्यसको जटिल गतिको परीक्षण गर्नका लागि डेटा संकलन गरेका थियौं’ उनले भने,‘यसले मानिसको गतिसँगै साइकल, कार, कमिला, माछा लगायतको पनि अध्ययन गर्दछ।’ 

अनुसन्धाकर्ताका अनुसार माइक्रोसफ्टले अनुहार चिन्ने विशाल डेटासेटको विकास गरेको छ। यसलाई एमएस सेलेब भनिन्छ। यहाँ एक लाखभन्दा बढी मानिसको करोडभन्दा बढी फोटो संकलन गरेर राखिएको छ। एएस सेलेबमा सेलिब्रिटिको मात्र फोटो संग्रहित गरिने बताइएको थियो। सेलिब्रिटिको तस्बिर राखिनु जायज पनि हो। तर पछि यसले अभियन्ता, प्राध्यापक लगयातका फोटोहरु पनि संग्रह गर्यो।

हार्भीको मेगापिक्सल प्रोजेक्टका अनुसार एमएस सेलेबले डेटा विश्वभर फैलाएको छ। साइबर सुरक्षासम्बन्धी पत्रकार किम जेटर भन्छिन्,‘माइक्रोसफ्ट डेटासेट रोकिनुपर्छ।’ ‘हामी निगरानी प्रणालीको विकासका लागि चारो भएका छौं।’ उनी भन्छिन्,‘यो विदेशी सरकारसँग वितरण हुन्छ त्यसपछि असुरक्षाको महशुस सुरु हुन्छ।’

म्याज जेलर जो क्लारिफाइ एआइ कम्पनीका कार्यकारी प्रमुख हुन् उनका अनुसार उनको कम्पनीले ओकेक्युपिड डेटिङ साइटमा भेटिएका तस्बीरको माध्यमबाट अनुहार चिन्ने प्रविधिको विकास गरिरहेको छ। उनका अनुसार क्लारिफाइ कम्पनीलाई ओकेक्युपिडको फोटो प्रयोग गर्न छुट छ, किनभने क्लारिफाइमा उनीहरुको लगानी छ।

उनले आफूले ठूलो सामाजिक सञ्जाल कम्पनीसँग अनुहार चिन्ने प्रविधिको लागि डेटाको लागि सम्झौता गरेको बताए। उनले कुन कम्पनी भनेर नाम खुलाउन चाहेनन्। उनी भन्छन्,‘प्रविधि कम्पनी क्लारिफाइले विश्वसनीयता कायम गर्न सक्नुपर्दछ।’  

ओकोक्युपिड कम्पनीकी प्रवत्ताले भनेका छन्,‘क्लारिफाइले कम्पनीसँग अनुहार चिन्ने प्रविधिको विकासमा सहकार्य गर्ने सम्झौता भएको छ।’ उनले क्लारिफाइलने ओकेक्युपिडको फोटो नसोधी चलाउन पाउँछ भन्ने विषयमा खुलाइनन्। 

क्लारिफाइले ओकेक्युपिडको फोटो प्रयोग गर्दछ। डेटिङ साइट भएकाले क्लारिफाइले ओकेक्युपिडको फोटो अध्ययन गरेर उमेर, लिंग र वर्ण पत्ता लगाउँछ र मिल्ने जोडीको सम्पर्क गराउन मद्दत गर्दछ। (न्युयोर्क टाइम्सबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .