प्रविधि


चीनको चर्चित एआई च्याटबट डिपसिकप्रति अस्ट्रेलिया चिन्तित

डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह
चीनको चर्चित एआई च्याटबट डिपसिकप्रति अस्ट्रेलिया चिन्तित

नेपालखबर
माघ १५, २०८१ मंगलबार १४:५०, सिड्नी

अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले मङ्गलबार चीनको चर्चित एआई च्याटबट डिपसिकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गरेका छन्। 

चीनस्थित प्रविधि स्टार्टअपद्वारा विकसित डिपसिक च्याटबटले गत हप्ता जारी भएयता उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ र वित्तीय बजारहरूमा हलचल ल्याएको छ। 

धेरै कम लागतमा पश्चिमी प्रतिस्पर्धीहरूसँग टक्कर लिन सक्ने क्षमताका लागि प्रशंसित यो च्याटबटले बजार अग्रणी च्याट जीपीटीलाई पछि पार्दै एप डाउनलोड चार्टको शीर्षमा पुगेको छ। 

तर अस्ट्रेलियाका विज्ञानमन्त्री हुसिकले सावधानी अपनाउन आग्रह गरेका हुन्। 

‘गुणस्तर, उपभोक्ता प्राथमिकता, डाटा र गोपनीयता व्यवस्थापनबारे समयक्रममा धेरै प्रश्नहरूको जवाफ दिन आवश्यक छ’, हुसिकले राष्ट्रिय प्रसारक एबीसीलाई भने, ‘म यसबारे धेरै सावधान रहन्छु। यस्ता विषयहरूलाई सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्छ।’

हुसिकले चिनियाँ कम्पनीहरू प्रयोगकर्ता गोपनीयता र डाटा व्यवस्थापनको मामिलामा पश्चिमी प्रतिस्पर्धीहरूभन्दा कहिलेकाहीँ फरक हुने बताए। 

‘चिनियाँहरू धेरै राम्रोसँग काम गर्ने उत्पादनहरू विकास गर्न सक्षम छन्। त्यो बजार उनीहरूको डाटा र गोपनीयतासम्बन्धी दृष्टिकोणसँग परिचित छ’, उनले भने, ‘जब तपाईं यसलाई त्यस्ता बजारहरूमा निर्यात गर्नुहुन्छ जहाँ उपभोक्ताहरूको गोपनीयता र डाटा व्यवस्थापनबारे फरक अपेक्षाहरू छन्, प्रश्न यो हो कि ती उत्पादनहरूलाई उस्तै तरिकाले स्वीकार गरिने छ कि छैन, म सोच्छु तपाईं सावधान हुनुपर्छ, म यसबारे पूर्ण रूपमा स्पष्ट र प्रत्यक्ष भइरहेको छु।’

अस्ट्रेलियाले सन् २०१८ मा राष्ट्रिय सुरक्षाको चिन्ता जनाउँदै चिनियाँ दूरसञ्चार दिग्गज हुवावेलाई आफ्नो राष्ट्रिय ५जी नेटवर्कबाट प्रतिबन्ध लगाएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad