ad ad

प्रविधि


विश्वलाई क्षुद्रग्रहको खतराबाट जोगाउने चीनको यस्तो योजना!

विश्वलाई क्षुद्रग्रहको खतराबाट जोगाउने चीनको यस्तो योजना!

(फाइल तस्बिर)


नेपालखबर
असार २६, २०७८ शनिबार १६:३५,

चीनको अन्तरिक्ष कार्यक्रमले एक दिन विश्वलाई क्षुद्रग्रहको खतराबाट जोगाउनसक्ने चीनको सरकार समर्थित अध्ययनले जनाएको छ।

अन्तरिक्षबाट पृथ्वीमा खस्नसक्ने क्षुद्रग्रहले एउटा ठूलो शहर नै ध्वस्त गर्नसक्छ। अध्ययन अनुसार क्षुद्रग्रहको खतराबाट पृथ्वी जोगाउने लक्ष्यका साथ चीनले ठूलो लङमार्च सीजेट–५ रकेटहरु अन्तरिक्षमा पठाउने योजना बनाएको छ। जसले वर्षौसम्म अन्तरिक्षमा रहेर क्षुद्रग्रहको निगरानी गर्नेछ।

चीनले ‘उद्धारकर्ताको भूमिका’ ठानेको यो अभियानलाई भने अमेरिका लगायत राष्ट्रले खतराको रुपमा लिने गरेका छन्। यसको कारण हो चिनियाँ रकेटका टुक्राहरु आकाशबाट अनियन्त्रित भएर पृथ्वीमा खस्नु।

गत मे महिनामा चीनको २० टन रकेट अनियन्त्रित भएर पृथ्वीमा खस्दा विश्वभर त्रास फैलिएको थियो। सो रकेटका टुक्राहरु समुद्रामा खसेको थियो। त्यसले कुनै क्षति पुर्‍याएन।

यद्यपी गतवर्ष चिनियाँ रकेटका टुक्राहरु पश्चिम अफ्रिकी देश आइभोरी कोस्टको दुई गाउँमा खसेको थियो। पश्चिमा राष्ट्रले असुरक्षित चिनियाँ अन्तरिक्ष कार्यक्रमका कारण पृथ्वीमा त्रास फैलिएको बताउने गरेका छन्।

एससीएमपीका अनुसार चिनियाँ सरकार समर्थित अनुसन्धानले चीनले २३ वटा लङ मार्च रकेट प्रक्षेपण गर्नसक्ने जानकारी दिएको छ।

यी ९ हजार टनका रकेटले सौर्यमण्डलका चट्टानी वस्तुहरू तोड्नसक्ने बताइएको छ। अन्तरिक्षमा केही क्षुद्रग्रह साना ढुंगा जत्रा पनि हुन्छन् तर कुनै सयौं किलोमिटर लामो हुन्छन्। एउटा ५ सय मिटरको क्षुद्रग्रहले १० लाख मानिसको ज्यान समेत लिनसक्छ।

(-एसेम्बल्ड काइनेटिक इम्प्याक्टरसहितको चीनको लङ मार्च ५ ‘सीजेट–५’ रकेट, यस्ता २० रकेटले ठूलो क्षुद्रग्रहलाई ठक्कर दिएर अर्को स्थानमा सार्न सक्ने अपेक्षा गरिएको छ।)
 

यतिबेला क्षुद्रग्रह पृथ्वीमा खस्ने सम्भावना न्यून छ यद्यपी अन्तरिक्षमा ‘बेन्नु’ नाम गरेको एउटा क्षुद्रग्रह छ जो एक शताब्दीपछि पृथ्वीमा खस्नसक्छ।

बेइजिङको नेसनल स्पेस साइन्स सेन्टरका अनुसन्धानकर्ता लि निङताओ र उनका सहकर्मीहरु यतिबेला पृथ्वीलाई क्षुद्रग्रहबाट कसरी जोगाउन सकिन्छ भन्ने अनुसन्धानमा लागि परेका छन्।

सरकारले उनीहरुलाई मानव सम्भता डाइनासोरको जसरी लोप हुन नपरोस भनेर त्यस विषयमा अनुसन्धान गर्न खटाएको हो। पृथ्वीमा हजारौं वर्ष अगाडि १० किलोमिटर लामा क्षुद्रग्रहहरु खस्दा डाइनोसोर लोप पुगेको थियो।

डरलाग्दो गतिमा पृथ्वीतर्फ खस्ने क्षुद्रग्रहको मार्ग परिवर्तन गर्न धेरै गतिज उर्जाको आवश्यकता पर्दछ। आणविक हतियारले त्यो काम गर्न सक्छ तर यस्तो विस्फोटले लक्ष्यलाई धेरै खतरनाक भागहरूमा विभाजित गर्दछ।

नेसनल स्पेस साइन्स सेन्टरले आफ्नो प्रस्तावमा एकै समयमा चीनभरि विभिन्न स्थानबाट २३ सीजेट–५ रकेट प्रक्षेपण गर्न सुझाव दिएको छ। आफ्नो लक्ष्यमा पुग्न यो रकेटहरुले लगभग तीन बर्ष यात्रा गर्नुपर्नेछ।

सौर्यमण्डलको अध्ययनसँग सम्बन्धित अन्तर्राष्ट्रिय जर्नल इकारसका अनुसार यी प्रत्येक रकेटको अगाडि डिफ्लेक्टर हुनेछ जसलाई क्षुद्रग्रह टुक्रिनबाट जोगाउन डिजाइन गरिएको छ। चिनियाँ अनुसन्धानकर्ताका अनुसार यी प्रत्येक रकेट एकपछि अर्को गर्दै क्षुद्रग्रहसँग ठोक्किनेछन् जसले क्षुद्रग्रहको गतिलाई परिवर्तन गर्नसक्छ।

यो कार्यले बेन्नुको आकारको क्षुद्रग्रहलाई पृथ्वीमा खस्नबाट जोगाउने सकिने अपेक्षा लिइएको छ। वैज्ञानिक लि निङताओ क्षुद्रग्रहबाट बच्न सम्भव भएको बताउँदै भन्छन्,‘दशवर्ष भित्र हामी यस्तो चिनियाँ प्रविधिबाट पृथ्वीको रक्षा गर्न सक्छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .