ad ad

कोशी


विराटनगरमा माघ १९ देखि ‘सीएनआई कोशी एक्स्पो’

विराटनगरमा माघ १९ देखि ‘सीएनआई कोशी एक्स्पो’

नेपालखबर
माघ १६, २०७९ सोमबार १८:५५, विराटनगर

विराटनगरमा माघ १९ देखि २८ गतेसम्म सञ्चालन हुने सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ।

आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले आज पत्रकार सम्मेलन गरी  उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरु रहने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई केही सहयोग पुर्याउने उद्देश्यका साथ एक्स्पोको आयोजना गर्न लागिएको बताए। उनले एक्स्पोका अत्याधुनिक ह्याङ्गरहरुमा उत्पादनका क्षेत्र अनुसार अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने बताए।

आफ्नो उत्पादनको प्रवर्द्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीहरुलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको छ। ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषिक्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ। त्यसरी स्टल राख्ने उद्यमीका लागि सम्बन्धित स्थानीय तहले एक्स्पोको प्रवर्द्धनमा सहयोग गर्नेछन्।

एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरु पनि रहने जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष घिमिरेले नेपालका छिमेकी देशहरु भारतको बिहार, जोगवनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भीमनगर, बंगाल सिलगुडीबाट समेत ५० हजार माथि अवलोकनकर्ता एक्स्पोमा आउने लक्ष्य लिएको बताए।

एक्स्पोलाई रोचक र ज्ञानवर्द्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरिय स्थापना गरिएको छ। विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने, विभिन्न उमेर अनुसारको दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने पनि आयोजकले जनाएको छ।

‘यसबाट विशेष गरी विद्यार्थीहरुले हाम्रो सौर्यमण्डलबारे ज्ञान हासिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास आयोजक पक्षले लिएको छ।

एक्स्पोले बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट शुल्क र विद्यार्थीको लागि भने ५० रुपैयाँ तोकेको छ। साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ। मेलामा ३ करोड बराबरको खर्च हुने आयोजकको भनाइ छ।

यस्तै, त्यतिनै बराबरको आम्दानी गर्ने आफूहरुको लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए। मेलामा देश तथा विदेशका गरी ३ लाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान आफूहरुको रहेको आयोजकको दाबी छ।

एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ भने प्रायोजकहरुमा केएल दुगड र म्याजिक जुत्ताचप्पल रहेको छ। यस्तै सहप्रायोजकमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप, क्लालिटी बिस्कुट, रुस्लान र क्लिन कन्क्रृट नेपाल रहेका छन्।

एक्स्पोलाई नेपाल सरकारको कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नम्बर प्रदेश सरकारअन्तर्गतका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा गाउँपालिकाले प्रवर्द्धनमा सहयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .