ad ad

कोशी


प्रदेश १ : सबै मन्त्री बिनाविभागीय हुँदा मुख्यमन्त्रीको कार्यालय अस्तव्यस्त

कोही होटलमा, कोही आफन्तको घरमा बस्न बाध्य
प्रदेश १ : सबै मन्त्री बिनाविभागीय हुँदा मुख्यमन्त्रीको कार्यालय अस्तव्यस्त

ध्रुव भट्टराई
माघ ४, २०७९ बुधबार १०:३, विराटनगर

प्रदेश १ मा हाल मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा रहेको मन्त्रिमण्डलमा सात सदस्य छन्। मुख्यमन्त्री कार्कीले गत पुस २५ गते शपथ खाएयता ६ जना मन्त्रीको नियुक्ति र शपथ भइसकेको छ। तर कसैको मन्त्रालय तोकिएको छैन, अर्थात् सबै बिनाविभागी मन्त्री बनेका छन्।  मन्त्रालय बाँडफाँड भएर जिम्मेवारी नपाएका कारण सबै मन्त्री मुख्यमन्त्रीको कार्यालयमै हाजिर हुने गरेका छन्। 

प्रदेश सरकार गठन भएको डेढ सातासम्म पनि मन्त्रालयको जिम्मेवारी नपाउँदा कतिपय मन्त्रीको बास होटेलमै भइरहेको छ भने कतिपय आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। हालसम्म नियुक्त मन्त्रीहरूमा तिलकुमार मेन्याङ्बो, दुर्गाप्रसाद चापागाईँ, भक्तिप्रसाद सिटौला, जीवन आचार्य, बुद्धिकुमार राजभण्डारी र निर्मला लिम्बू छन्। तर कसैले पनि मन्त्रालयको जिम्मा पाएका छैनन्। 

यसैकारण अहिले मुख्यमन्त्रीसहित ७ मन्त्रीको कार्यकक्ष मुख्यमन्त्री कार्यालयमै व्यवस्थापन गरिएको छ। मन्त्रीहरूले झन्डावाला गाडी पाए पनि जिम्मेवारी नपाउँदा मुख्यमन्त्रीको कार्यालयमा हाजिर भएर दिन कटाउनुपर्ने बाध्यता छ। यतिसम्म कि मन्त्रालय नतोकिँदा मन्त्रीहरू सरकारी निवासमा नभएर होटलमै बस्न बाध्य छन्। 

अहिले मन्त्रीहरू तिलकुमार मेन्याङ्बो र भक्तिप्रसाद सिटौला विराटनगरस्थित होटल बिगमा बसिरहेका छन्। उक्त होटलमा अर्का मन्त्री निर्मला लिम्बू पनि २ दिन बसिन्। त्यतिबेला ३ मन्त्री बसेको होटल भाडा प्रदेश सरकारले दैनिक २७ हजार रुपैयाँ तिरेको थियो। अहिले भने होटलमा दुई मन्त्री मेन्याङ्बो र सिटौला मात्र बसेका छन्। दुई मन्त्री र उनीहरूका पीएसओका लागि भनेर कूल ६ वटा कोठाको दैनिक २३ हजारभन्दा बढी भाडा तिरिरहेको प्रदेश सरकारले जनाएको छ। 

मन्त्रीहरू दुर्गाप्रसाद चापागाईं र बुद्धिकुमार राजभण्डारी विराटनगरमै आफन्तको घरमा बस्ने गरेका छन् भने जीवन आचार्य आफ्नै घरमा बसेका छन्। यस्तो अवस्थामाा पनि दलहरूबीच भागबन्डाको टुंगा लगाउन र मन्त्रालयको संरचनामा सहमति जुटाउन अझै केही दिन लाग्न सक्ने बताइएको छ। 

तर मुख्यमन्त्री हिक्मत कार्की केही दिनभित्रै मन्त्रीहरूलाई जिम्मेवारी दिने तयारी भइरहेको बताउँछन्। ‘मन्त्री र उहाँहरूको मन्त्रालयको टुंगो दुई÷तीन दिनभित्रैमा हुन्छ’, मुख्यमन्त्री कार्कीले भने, ‘तपाईंहरूले लेखिराख्नुभएको छ। होटलमा उहाँहरूले धेरै तिरेर बस्नु भएको छैन। ढुक्क हुनु होला, यो दुई/तीन दिन भित्रैमा टुंगिन्छ।’ 

मुख्यमन्त्री कार्यालयको भवन तीन तलाको छ। त्यसमै सबै मन्त्रीको कार्यकक्ष राखिँदा उनीहरू एउटा/एउटा कोठामा सीमित भएका छन्। जसले गर्दा  सचिवालय सदस्य बस्ने कोठा व्यवस्थापन गर्न मन्त्रालयका कर्मचारीलाई मुस्किल भइरहेको छ।

त्यसैगरी सबै मन्त्रीहरू मुख्यमन्त्री कार्यालयमा थुप्रिँदा पार्किङको पनि ठूलो समस्या भइरहेको छ। मन्त्रीकै गाडी पनि सार्वजनिक सडकमा पार्किङ गर्नुपर्ने अवस्था छ।

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन आउनेको भीड व्यवस्थापन हुन नसक्दा यतिबेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अस्तव्यस्त देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .