ad ad

कोशी


माओवादी प्रदेश १ : नामकरणको प्रतिबद्धता, जातीय पहिचान कि भौगोलिक अलमलमा

माओवादी प्रदेश १ : नामकरणको  प्रतिबद्धता, जातीय पहिचान कि भौगोलिक अलमलमा

सुमन पुरी
कात्तिक १३, २०७९ आइतबार १९:२१, विराटनगर

माओवादी केन्द्र प्रदेश १ ले आगामी प्रदेशको नामकरण गर्ने प्रतिवद्धता जनाएको छ। ५ वर्षे कार्यकाल बित्दा पनि प्रदेशको नामकरण गर्न नसकेको प्रदेश १ सरकारमा अधिकांश समय माओवादी केन्द्र छ। 

नेकपा हुँदा प्रदेश सरकारमा सामेल भएको माओवादी भीम आचार्य नेतृत्वको एमाले सरकार विस्थापन भएसँगै नयाँ बनेको सरकारमा पनि सहभागी छ । 

अधिकांश समय सत्तामा रहेको माओवादीले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुने कि भौगोलिक पहिचानको आधारमा गर्ने भन्ने खुलाएको छैन। 

जातीय पहिचान कि भौगोलिक पहिचानका आधारमा प्रदेशको नाम राख्ने विषयमा विवाद हुँदा नामकरण हुन नसकेको प्रदेश १ नामकरण के आधारमा गर्ने भन्ने विषयमा माओवादीको प्रतिवद्धता पत्रमा समेत स्पष्ट छैन। 

माओवादीको प्रतिवद्धता पत्रमा भनिएको छ, ‘प्रदेशवासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी प्रदेशको नामकरण गरिने छ।’

अघिल्लो प्रदेश सभामा रहेका अधिकांश माओवादीका प्रदेश सभा सदस्यहरु जातीय पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने पक्षमा थिए। सो दलका संसदीय दलका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वो प्रदेशको नाम किराँत राख्नु पर्ने बताउँदै आएका छन्।

आसन्न निर्वाचनका लागि जारी भएको प्रतिवद्धता पत्रमा माओवादी केन्द्रले प्रदेशको प्रहरी गठन गर्ने उल्लेख छ। प्रतिवद्धता पत्रमा प्रदेश राजधानीको लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारको निर्माण कार्य आगामी ५ वर्षभित्रमा सम्पन्न गर्ने उल्लेख छ। 

माओवादी केन्द्र प्रदेश १ ले संविधान अनुसार प्रदेशमा हस्तान्तरण हुन बाँकी रहेका संघीय मन्त्रालय मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने बताएको छ। माओवादीले स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र संघीयता कार्यान्वयनको कामलाई अगाडि बढाउने समेत प्रतिवद्धता जनाएको छ। 

प्रदेश १ मा स्थानीय तह र प्रदेश सरकारका बिचमा समन्वय हुन नसकेको भन्दै प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्दै आएको थियो।

समाजवाद उन्मूख आत्मनिर्भर अर्थतन्त्र 
माओवादी केन्द्र प्रदेश १ ले  समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्रबाट नेपाली विषेशतासहितको समाजवादको आधार तयार गर्ने जनाएको छ। उसको प्रतिवद्धता पत्रमा प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको पहिचान एवं परिचालन गर्दै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण तयार गर्ने उल्लेख छ। 

बजारको आवश्यकता र माग अनुसार प्रदेशको विशिष्ट उत्पादनको कार्यक्रममा जोड दिने, प्रदेशको रणनीतिक महत्वका र रुपान्तरणकारी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ।  

आर्थिक बृद्धि, रोजगारी सिर्जना र गरीबी न्युनिकरणको लागि उच्च योगदान दिने क्षेत्रमा लगानी विस्तार गर्ने गर्ने र  सरकारी, सहकारी र निजी क्षेत्रको समन्वयात्मक भूमिकाको आधारमा उत्पादन र विकाससहित समग्र आर्थिक कार्यक्रम सञ्चालन गर्ने उसको प्रतिवद्धता पत्रमा उल्लेख छ। 

रोजगारी सिर्जना र गरीबी न्यूनीकरणका लागि कृषि उद्योग, पर्यटन र भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने,श्रम सहकारीमार्फत रोजगार अभिबृद्धिको कार्यक्रम सञ्चालन गर्ने माओवादी प्रदेश १ ले जनाएको छ। 

माओवादीले प्रदेशमा आधुनिक र व्यवस्थित औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्ने र धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनको लागि आउन इच्छुक उद्योगहरुलाई सहुलियत प्रदान गर्ने प्रतिवद्धता पत्रमा जनाएको छ। 

जिल्ला अस्पताल ५० शय्या विस्तार 
माओवादी प्रदेश १ ले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा जिल्ला अस्पतालहरुलाई न्यूनतम् ५० शय्यामा विस्तार गर्ने जनाएको छ। ती अस्पतालमा  विशेषज्ञ डाक्टरसहितको दरबन्दी र उपकरणको व्यवस्था गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने माओवादीको प्रतिवद्धता छ। 

स्थानीय तहमा निर्माणाधीन ५ देखि १५ शय्याका अस्पताल निर्माण सम्पन्न गरी आवश्यक उपकरण र डाक्टरसहितको दरबन्दी व्यवस्था गर्ने, गर्भवती महिलाहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण र प्रसुतिको व्यवस्था, आङ खस्ने पाठेघरको समस्या तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ। 

क्यान्सरलगायतका जटिल रोगहरुको परीक्षण र उपचार प्रदेशभित्रै सहज रुपमा विरामीले प्राप्त गर्नेगरी अस्पतालको स्तरोन्नति गर्ने माओवादीको प्रतिवद्धता पत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .