ad ad

कोशी


मोरङ ५ को रोचक दृश्य : जसपालाई एमालेका बागीको डर, माओवादीलाई बिरासतको चिन्ता

मोरङ ५ को रोचक दृश्य : जसपालाई एमालेका बागीको डर, माओवादीलाई बिरासतको चिन्ता

सुमन पुरी
कात्तिक ६, २०७९ आइतबार ६:४९, बिराटनगर

बिराटनगर। दुई बर्षअघि योगेन्द्र मण्डल एमाले प्रवेश गरे। उनीसँगै ५ हजार जना एमाले प्रवेश गराएको दावी एमालेले गर्यो। एमाले अध्यक्ष केपी ओलीले मण्डललाई पार्टीमा स्वागत गरे।

योगेन्द्र मण्डल विराटनगरस्थित जीवन विकास नामक लघुवित्त संस्थाका अध्यक्ष हुन्। दुई दशकदेखि लघुवित्त मार्फत सामाजिक अभियानमा लागेका मण्डलको जीवन विकास नामक एनजीओ पनि छ। मण्डल एमालेमा आएसँगै संगठन बलियो बनेको एमाले नेताहरु बताउँछन्।

मण्डल एमाले प्रवेश गरेसँगै यस क्षेत्रबाट प्रतिनिधि सभाको उमेद्वार बन्ने तयारीमा लागे। तर, अन्तिम समयमा आएर एमाले–जसपा गठबन्धन बनेपछि क्षेत्र नम्बर ५ एमालेको भागमा परेन।

यस क्षेत्रमा एमालेले प्रतिनिधिसभामा जसपाका उम्मेदवार राजकुमार यादबलाई सघाउने सहमति भएको छ। तर, एमालेका नवप्रवेशी योगेन्द्र मण्डलले जसपासँगको तालमेलको विरोध गर्दै बागी उमेद्वारी दिएका छन्।

सत्ता गठबन्धनबाट यस क्षेत्रमा माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डल प्रतिनिधि सभाको उमेद्वार बनेका छन्।

मधेसी समुदायको बाहुल्य रहेको यस क्षेत्रमा योगेन्द्र मण्डल बागी उठेसँगै यहाँको चुनावी भिडन्त रोचक बनेको छ। मण्डलको आफ्नै प्रभावका कारण यस क्षेत्रमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको स्थानीयको अनुमान छ।

मोरङ क्षेत्र नम्बर ५ मा १ लाख ४९४ मतदाता छन्। यस क्षेत्रमा विराटनगर महानगरपालिकाको वडा नम्बर १२ र १८ पर्छन्। साथै धनपालथान गाउँपालिका र जहदा गाउँपालिका पनि यस क्षेत्रमा पर्छन्। यस क्षेत्रमा रंगेली नगरपालिकाका ४ र ७ नम्बर वडा पनि समेटिएका छन्।

स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरको वडा नम्बर  १२ मा जसपाले जितेको थियो। जसपाका वडाअध्यक्ष हिरालाल साहले १३७४ मत ल्याउँदा एमालेले १२७१ मत पाएको थियो। सो वडामा कांग्रेसले १२३९ मत ल्याएको थियो भने एकीकृत समाजवादीले ५५३ मत पाएको थियो।

वडा नम्बर १८ मा भने स्वतन्त्र उमेद्वार जितेन्द्र कुमार साह विजयी भएका थिए। उनी जसपाका बागी हुन्। सो वडामा जसपाले ६२४ मत ल्याएको थियो भने एमालेले ४९४ र कांग्रेसले ५३२ मत पाएको थियो। यस वडामा माओवादी केन्द्रको ४१२ मत आएको थियो। 

धनपालथानमा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको छ। ७ वटा वडामध्ये ४ वटा माओवादीले जितेको छ। कांग्रेसले २ र एमालेले एउटा वडा जितेका छन्।

धनपालथान गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको छ। ७ वटा वडामध्ये ४ वटा वडा कांग्रेसले जितेको छ भने माओवादीले १ र जसपाले २ वटा वडा जितेका छन्। रंगेली नगरपालिकामा पर्ने दुईवटा वडा एमालेले जितेको छ।

सत्ता गठबन्धनका शिवकुमार मण्डल
सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उमेद्वार बनेका शिवकुमार मण्डलले ०४८ सालमा नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) बाट राजनीति शुरु गरेका ब्यक्ति हुन् । ०५५ सालबाट माओवादी प्रवेश गरेका मण्डल अनेरास्ववियू क्रान्तिकारीमा आवद्ध भए । उनी मोरङ जनसरकारको उपप्रमुख भएपछि  मोरङ–सुनसरी संयुक्त जनसरकारको प्रमुख भए।

शान्ति प्रक्रियामा आउनुपूर्व मधेशी मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष र पार्टीको ब्युरो सदस्य हुँदै ०६३ सालको अन्तरिम संसदमा सांसद भएर संसदमा छिरे।

संविधानसभाको पहिलो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उनी रामा मण्डलसँग पराजित भए। ०७० सालमा सोही निर्वाचन क्षेत्रबाट चुनाव लडेका उनले कांग्रेसका गयानन्द मण्डललाई ८ मतले पराजित गरे। ०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका अमृत अर्याललाई पराजित गर्दै विजयी बने।

मण्डलले अर्यालभन्दा करिब ३ हजार ८ सय बढी मत पाएका थिए।  अहिले यनी तेस्रोपटक जनता समाजवादी पार्टीका नेता राजकुमार यादवसँग प्रतिस्पर्धा गर्दैछन् ।

जसपा नेता यादवसँग माओवादी नेता मण्डल ०७० र ०७४ सालमा आमने सामने भइसकेका छन्। अब आगामी मंसिर ४ गतेको निर्वाचनमा उनीहरु तेस्रोपटक आमने–सामने भएका छन्।

मण्डलका लागि अर्को नयाँ कुरा के हो भने हिजो उनैसँग पराजित व्यक्ति अमृत अर्याल आगामी निर्वाचनको सहयात्री बनेका छन् ।

माओवादी नेता मण्डल भन्छन्, ‘मैले मेरो कार्यकालमा भौतिक पूर्वाधारको कामलाई प्राथमिकतामा राखेको छु।’

एमाले गठबन्धनका राजकुमार
विराटनगरमा ०२९ साल बैशाख ५ गते जन्मिएका जसपा नेता राजकुमार यादव पनि १७ वर्ष अगाडि एमालेमै थिए। मधेश आन्दोलनपछि उनी मधेशी जनअधिकार फोरममा लागे।

टकुवा गाबिसको गाउँ कमिटी अध्यक्ष हुँदै  क्षेत्रीय कमिटीको सदस्य, जिल्ला सदस्य, जिल्लाको सचिवालय सदस्य हुँदै ०७० सालमा उनी मधेशी जनअधिकार फोरमको मोरङ जिल्ला अध्यक्ष भए।  अहिले जिल्ला अध्यक्षसहित प्रदेशको उपाध्यक्ष छन् ।

दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नम्बर ४ बाट निर्वाचनमा सहभागी भएका यादव ०७४ सालमा पुनः निर्वाचनमा होमिए। दुबै निर्वाचनले उनलाई सफलता दिन सकेन। दुबै पटक तेस्रो स्थानमा रहेका यादव आगामी निर्वाचनमा पासा पल्टाउने दाउमा छन्।

२०७० सालको निर्वाचनमा यादवका प्रतिस्पर्धी गयानन्द मण्डल दोस्रो र शिवकुमार मण्डल बिजयी भएका थिए। ०७४ सालमा अमृत अर्यालले १९ हजार १५३ मत ल्याएका थिए भने शिवकुमार मण्डलले करिब २२ हजार मत ल्याउँदा जसपाबाट एक्लै लडेका राजकुमारले १८ हजार ६४९ मत पाएका थिए।

‘चुनाव हारेको भए पनि जनताको दुःख–सुखमा लागेको छु, यादव भन्छन्, म विचलित भएको छैन, योपटकको चुनाव जित्छु।’

दुई पटक जितेको मान्छेले केही गर्न नसकेको भन्दै यो पटक जनताको मत आफ्नो पक्षमा आउने उनले दाबी गरे।

बागीको जित्ने दाबी
एमालेबाट बागी उठेका योगेन्द्र मण्डललाई धेरैले जोगी भनेर जिन्छन्। उनी मोरङ कटहरीमा रहेको जीवन विकास समाजको संस्थापक अध्यक्ष भएर २५ वर्ष पहिला संस्था स्थापना गरेर सामाजिक क्षेत्रमा लागेका मण्डल राजनीति भन्दा पनि सामाजिक पृष्ठभूमिका हुन्।

मण्डल विराटनगरदेखि २२ किलोमिटर पूर्व–दक्षिण अमाहीबरियातीमा जन्मिएका हुन्।  उनले २५ वर्षको अवधिमा संस्था स्थापना गरेपछि  अहिलेसम्म २ हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको दाबी गर्दै आएका छन्।

‘गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि निरन्तर काम गर्दै आएको छु,’ उनी भन्छन्, ‘मेरो उम्मेदवारी भनेको राजनीतिको नीति बदल्न र समाज परिवर्तनका लागि हो।’

एमालेको मत राजकुमारलाई जाला कि बागीलाई ?
जसपासँग गठबन्धन गरे पनि एमालेबाट टिकट नपाएपछि बागी उठेका योगेन्द्र मण्डललाई एमाले कार्यकर्ताको भोट जाने अनुमान गरिएको छ। तर, उनी एमालेमा भन्दा पनि समाजिक कामले प्रभाव जमाउने दाबी गर्छन्। भरखर मात्रै एमालेमा आएका मण्डलको पार्टीमा भने कम प्रभाव छ। तर, उनलाई जातीय मत भने आउने देखिन्छ।

मण्डल भने एमालेको मत आफूलाई नै आउनेमा विश्वस्त छन्। मण्डल भन्छन्,‘मैले गरेको सामाजिक कामका कारण मलाई मत आउँछ।’

स्थानीय तहको निर्वाचनमा धनपाल थान र जहदामा एमालेको मत ७ हजार ८५९ मत आएको थियो। विराटनगर महानगरका दुईवटा वडाबाट १ हजार ८९५ मत आएको छ भने रंगेलीका दुईवटा वडाबाट १ हजार ८३८ मत स्थानीय चुनावमा एमालेलाई आएको छ।

पछिल्लो निर्वाचनमा एमालेलाई आएको सबै मत मण्डलका पक्षमा जाने हो भने एमाले जसपाको गठबन्धनका उमेद्वार राजकुमार यादबलाई समस्या हुने देखिन्छ।

तर, एमाले मोरङका उपाध्यक्ष बावुराम कार्की गठबन्धनको मततलमाथि नहुने बताँउछन्। उनी भन्छन्, ‘मोरङमा मात्रै होइन, देशैभर जसपा र एमालेको गठबन्धन छ, गठबन्धन भएकाले हामी कडाइका साथ जसपालाई मत हाल्न निर्देशन दिएका छौं।  

यस्तो छ अंकगणित
०७४ को निर्वाचनमा यस क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट शिवकुमार मण्डल विजयी भए। उनले २२ हजार ९४३ मत ल्याए भने कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत ल्याए। जसपाका राजकुमार यादबले १८ हजार ६४९ मत ल्याए।

प्रदेश सभा अन्तरगत क्षेत्र नम्बर १ मा बाम गठबन्धनका तर्फबाट एमालेका ज्ञानेश्वर राजबंशीले १२ हजार ८६१ मत ल्याए। उनका प्रतिस्पर्धी कांग्रेसका सुकदेव प्रसाद सिंहले ८ हजार ८२८ मत पाए। जसपाका विजयकुमार सिंहले ८ हजार ५७३ मत पाए।

प्र्रदेश क्षेत्र नम्बर ख मा भने जसपाका जयराम यादव ११ हजार २०१ मत ल्याएर विजयी भएका थिए। वाम गठबन्धनका राजेशकुमार गुप्ताले ९ हजार ९१८ र वाम गठबन्धनका सुभान मियाले ८ हजार ६६५ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .