ad ad

कोशी


प्रचण्ड–माधवलाई कांग्रेसको मतको चिन्ता, विश्वास दिलाउने देउवाको प्रयास

देउवाले हँसिया हतौडाको प्रचार गर्दा माधवले भने– कलम पनि छ
प्रचण्ड–माधवलाई कांग्रेसको मतको चिन्ता, विश्वास दिलाउने देउवाको प्रयास

सुमन पुरी
कात्तिक ५, २०७९ शनिबार १४:३३, विराटनगर

सत्ता गठबन्धनमा रहेर आसन्न चुनवी प्रतिस्पर्धामा होमिएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेस कार्यकर्ताहरुले आफूहरुलाई मत नहाल्ने हो की भन्ने चिन्ताले पिरोलेको छ। जसको झल्को प्रदेश नम्बर १ ले शनिबार विराटनगरमा आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यक्रममा पनि देखियो। 

काठमाडौंबाट संयुक्त भेलालाई सम्बोधन गर्न आएका गठबन्धनका शीर्ष नेताहरुले यही पेरिफेरिमा बसेर मन्तव्य राखेका छन्। 

विराटनगरमा आयोजित भेलामा सबै दलका शीर्ष नेता तथा कार्यकर्ताहरु उपस्थित थिए। 

सम्बोधनका क्रममा केही नेताले नियुक्ति दिने आश्वासन दिए त केहीले चुनावपछि समीक्षा गरेर अघि बढ्ने प्रण गरे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेपछि हुने राजनीतिक नियुक्ति र राजदुतको कुरा निकालेर कार्यकर्तालाई आश्वास्त पारेका थिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कसैलाई अन्याय भएको भए चुनावपछि समीक्षा हुने बताए। 

नेताहरुको आश्वासन सुन्नासाग हलभित्र भएका नेता, कार्यकर्ताहरुले हाँसोको फोहोरा छुटाएका थिए। 

चण्डले चुनाव जितेपछि अवसर नै अवसर रहेको दावी गर्दै भने,‘पहिले गठबन्धनदलाई जिताउन होस् त्यसपछि अवसरै अवसर छ। राजनीतिक नियुत्ती होला राजदुत होला चुनाव जितेपछि अवसरै अवसर छ।’ 

प्रचण्डका अनुसार रुख चिन्हवालालाई हँसिया हतौडा र हँसिया हतौडावालाहरुलाई रुख चिन्हमा भोल हाल्न असजिलो हुनसक्ने सुनाए। तर, ती असजिलोलाई सजिलो बनाउँदै चुनाव अघि अन्य कुरा नसोच्न प्रचण्डले आग्रह गरेका छन्। 

‘कलमवालालाई रुख हसिया हथौडामा भोट हाल्न पनि सहज नहोला,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘तर अहिले जे जे समस्या भए पनि निर्वाचन पछि समिक्षा गरौं। यदी निर्वाचनमा हारियो भने हामी सबैको हालत खराब हुन्छ’

उनले कुनै द्वीविधामा नबसि सत्ता गठबन्धनका पक्षमा भोट हाल्न अपिल गरेका छन्। उनले सत्ता गठबन्धन १२ बुँदे सहमति र विस्तृत शान्ती सम्झौताको निरन्तरता भएको दावी गर्दै आफूले विस्तृत शान्ती सम्झौता भएकै दिन रुखमा भोट हालेको दावी पनि गरे।

माधव नेपालको चिन्ता उस्तै
प्रचण्डको जस्तै चिन्ता देखियो एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई। उनले कार्यक्रममा सम्बोधन गर्दै गुन सम्झनपर्ने बेला भएको सुनाए। 

एमालेसँग आफूले विद्रोह नगरेको भए शेरबहादुर देउवाको नेतृत्वमा सरकार नबन्ने दावीसमेत उनले गरे। ‘मैले र प्रचण्ड जी ले विद्रोह नगरको भए कसैलेपनि केपी ओलीलाई पछार्न सक्ने थिएन। यसैले केपी ओली गठबन्धनलाई हराउन सहमति अनुसार भोट हाल्नु पर्छ।’

 

नेताहरुले चुनावपछि हुने अवसर र गुनको कुरा सुनिरहेका प्रदेश १ का कांग्रेस कार्यकर्ताहरु भने हाँसिरहेको देखिन्थ्यो। 

यीनै मध्येका थिए मोरंग सुन्दर हरैचाका शिवप्रसाद ढकाल। उनी स्थानीय तहको निर्वाचनमा सुन्दर हरैँचा नगरपालिकामा मेयर पदमा पराजित भएका थिए। पार्टी भित्रकै असहयोगका कारण निर्वाचन हार्नु परेको आरोप लगाउने ढकाललाई नेपालखबरले ‘अवसर अझै रैछ नी?’ भनि राखेको प्रश्नमा मुसुमुसु हाँसे मात्र।

देउवा भन्छन्–हामी मिलिसक्यौं, तपाँईहरु पनि मिल्नोस्
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुृर देउवाले भने कांग्रेसले गठबन्धन अनुसार नै मत हाल्ने आश्वासन दिएका छन्।

उनले संम्बोधनका क्रममा आफूले पहिले नै हसिया हतौडामा मत हालिसकेको भन्दै कार्यकर्तालाई आश्वस्त पारे। प्रधानमन्त्री देउवाले कुनै पनि हालतमा गठबन्धनले जित्नु पर्ने बताएका छन्। 

‘हँसिया हतौडामा भोट हाल्न किन लजाउनु?,’ देउवाले प्रश्न गर्दै भने। 

उनले हँसिया हतौडाको प्रचार गर्दैगर्दा सँगै मञ्चमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘कलम पनि छ।’

त्यसपछि देउवाले थपे, ‘माधबजी को कलममा भोट हाल्न किन अफ्ठेरो मान्ने?’ देउवा र नेपालबीचको यो अन्तरक्रियाले हलमा हाँसाको फोहोरा छुटेको थियो। 

‘जहाँ रुख छ त्यहाँ रुखमा भोट हाल्नस् जहाँ हसिया हथौडा र कलम छ त्यहाँ त्यही चिन्हमा मतदान गर्नुस्,’ देउवाले कार्यकर्तालाई आश्वस्त पार्दै अनुरोध गरेका छन्। उनले अहिलेको चुनाव स्पस्ट भएको र कुनै कन्फुजन नभएको बताए । 

प्रधानमन्त्री तथा सभापति देउवाले संबिधान र गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको दाबी दोहोर्याए। ‘हामी मिली सकेका छौ तपाँइहरु पनि मिल्नुस्,’ देउवाले सम्बोधनको क्रममा भने। 

उनले चुनाव प्रचारका लागि संयुत्ता कार्यक्रम लिएर जनताकोमा जान नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .