ad ad

कोशी


प्रदेश १ : स्थानीयको मत हिसाब गर्दै कांग्रेस, एमालेका सिटमा माओवादी र समाजवादीको नजर

सिट बाँडफाटमा गठबन्धनभित्र अहिलेबाटै विवाद
प्रदेश १ : स्थानीयको मत हिसाब गर्दै कांग्रेस, एमालेका सिटमा माओवादी र समाजवादीको नजर

फाइल तस्बिर


सुमन पुरी
साउन २७, २०७९ शुक्रबार १७:१४, विराटनगर

पाँचदलीय गठबन्धनका शिर्ष नेताहरुबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गरेर चुनाव लड्ने सहमति हुँदा प्रदेश र जिल्लाका नेताहरु भने आफ्ना अडान नछाड्ने पक्षमा देखिएका छन्। 

सत्ता गठबन्धनमा रहेका दलका प्रदेश र जिल्लाका नेताहरुले अडान नछाड्दा स्थानीय तहको निर्वाचनमा जस्तै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनको लय नमिल्ने संकेत देखिएको छ। 

केन्द्रमा नेपाली कांग्रेस, नेकपा माओवादीले केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका छन्। तर, सिट बाँडफाँटमा जिल्ला र प्रदेशमा भने लफडा शुरु भएको छ। 

माओवादी र एकीकृत समाजवादीले यसअघि जितेका क्षेत्र नछाड्ने, एमालेले जितेका निर्वाचन क्षेत्रमा पनि आफूहरुको हिस्सा रहेको भन्दै ती क्षेत्रमा पनि दाबी गरेका छन्। 

७४ को निर्वाचनमा एमालेसँग तालमेल भएकाले हिस्सा रहने भन्दै माओवादी र समाजवादीले जितेका बाहेक थप क्षेत्रमा दावा गर्न थालेपछि कांग्रेस स्थानीय तहको निर्वाचनमा आएको मतभारका आधारमा सिट बाँडफाँट गर्नुपर्ने पक्षमा देखिएको छ। 

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ १६ स्थान जितेको थियो। माओवादीले प्रतिनिधि सभाका ६ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो भने कांग्रेस ५ स्थानमा खुम्चिएको थियो। 

प्रदेश १ मा एमाले कांग्रेस र माओवादीबाहेक एउटा क्षेत्र राप्रपाले जितेको थियो। 

एमालेबाट जितेका झलनाथ खनाल र भवानी खापुङ एकीकृत समाजवादीमा गएका छन्। 

एकीकृत समाजवादीका नेता महेश रेग्मीले एमालेले जितेका स्थानमा आफूहरुको हिस्सेदारी रहने बताए। गठबन्धन गर्दा एमालेले जितेका केही स्थानहरुमा दाबी रहने उनको भनाई छ।

अहिले नै कुन कुन क्षेत्रमा माग गर्ने भनेर निर्णय गरिनसकेको र एक दुई दिनमा बैठक बसेर निर्णय गर्ने उनले बताए। 

माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती 'सुशील'ले आफूहरुले जितेकाबाहेक एमालेले जितेका स्थानमा समेत माओवादीको दाबी रहने बताए। 

‘हिजो हामी सँगै चुनाव लडेका हौँ। सँगै लडेका स्थानमा हाम्रो मतले एमालेले जितेको हो’ उनले भने, ‘यसैले एमालेले जितेका र हाम्रो संगठन राम्रो भएका स्थानमा हाम्रो दाबी रहन्छ।’

उनले निर्वाचनमा कुन कुन क्षेत्रमा दाबी गर्ने भनेर प्रदेश निर्वाचन क्षेत्रीय कमिटीको बैठक बसिरहेको र बैठक सकेपछि माग गरिने बताए। 

नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले भने स्थानीय तहको निर्वाचनमा पार्टीलाई आएको मतभारको आधारमा सिट बाँडफाँट गरिने बताए। 

पछिल्लो निर्वाचनमा कुन पार्टीले कति मत पायो? यही आधारमा बढी मत आएको क्षेत्रमा त्यही पार्टीको उम्मेदवार उठाउन सके जित निकाल्न सजिलो हुने महामन्त्री थापाले बताए। 

‘हामी आन्तरिक तयारीमा छौँ’ उनले भने, ‘पहिला आन्तरिक तयारी सकेपछि गठबन्धनका विषयमा छलफल थाल्छौँ। कहाँ कति सिट लिन र दिने विषयमा अहिलेसम्म कुरा भएको छैन।’

प्रदेशमा कसले कति जिते?
प्रदेश १ मा ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। ती मध्ये अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले ३६ सदस्य जितेको थियो। जितेका मध्ये ५ जनाले समाजवादी रोजेका छन्। 

माओवादी केन्द्रले ११ जना प्रदेश सभा सदस्य जितेको थियो। कांग्रेसले भने ८ जना मात्रै प्रदेश निर्वाचन जितेको थियो। एउटा निर्वाचन क्षेत्र भने जसपाले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .