ad ad

कोशी


धरापमा धनकुटाको गठबन्धन, कांग्रेसलाई माओवादीले नमान्ने, जसपाको बेग्लै दाबी

एमालेमा पनि तीन जनाको तानातान
धरापमा धनकुटाको गठबन्धन, कांग्रेसलाई माओवादीले नमान्ने, जसपाको बेग्लै दाबी

नेपालखबर
साउन २५, २०७९ बुधबार १९:४२, काठमाडौँ

प्रतिनिधिसभाका लागि धनकुटा जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छ । सत्ता गठबन्धनबाटै यहाँ तीनजना दाबेदार छन् । तीनैजनाले दाबी नछाड्दा धनकुटाको सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको विरासत बोकेका कांग्रेस नेता, पूर्वमन्त्री एवं पूर्वसांसद सुनील बहादुर थापा सत्ता गठबन्धनका तर्फबाट  टिकटका बलिया दाबेदार हुन् । सांसद जित्ने लक्ष राखेर नै थापा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

अर्का पूर्वसांसद तथा पूर्वमन्त्री रकम चेम्जोङ पनि जनता समाजवादी पार्टीका तर्फबाट अर्का बलिया दाबेदार हुन् ।  धनकुटाको चौबीसेमा जन्मेका पूर्वशान्तिमन्त्री चेम्जोङले आफू यसपटक धनकुटाबाटै उठ्ने बताएका छन् । उनी टिकट वितरण गर्ने ११ सदस्यीय कार्यदलको सदस्यसमेत हुन् । चेम्जोङ धनकुटाका सिनियर वामपन्थी नेता हुन् । ०४८ सालमा उनले एमालेबाट प्रतिनिधिसभाको चुनाव जितेका थिए, अहिले अशोक राईसँगै जसपामा छन् ।

त्यस्तै, अर्का पूर्वसभासद एवं माओवादीका युवा नेता हेमराज भण्डारी पनि प्रतिनिधिसभाका लागि अर्का दाबेदार हुन् । चौबीसे क्षेत्रमा विशेष प्रभाव रहेका भण्डारीले हालै दुईसाता लगाएर जिल्लाको भ्रमण गरेका छन् । कथंकाल पार्टीले गठबन्धनबाट टिकट नदिए स्वतन्त्रबाटै भए पनि चुनाव लड्ने भण्डारीको तयारी छ ।

माओवादीले अरुलाई भोट हाल्दैन : भण्डारी
‘यसपालि धनकुटामा माओवादीले अरुलाई भोट हाल्दैन,’ माओवादी नेता भण्डारीले नेपालखबरसँग भने, ‘०७४ सालमा संघ र प्रदेश दुबैमा एमालेलाई भोट हालियो, यसपालि सुनील बहादुर थापालाई भोट हाल्ने हो भने धनकुटाका माओवादीले कहिलेसम्म अरुलाई भोट हाल्ने ?’

भण्डारीले सुनील बहादुर थापा र रकम चेम्जोङलाई सुझाव दिँदै भने, ‘सुनीलजीलाई राष्ट्रियभामा व्यवस्थापन गर्न सकिन्छ, रकमजी मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा जानुभयो भने बेस हुन्छ । धनकुटाले प्रतिनिधिसभामा राम्रो परफरमेन्स गर्न सक्ने युवा नेतृत्व खोजेको छ ।’

आफूले संविधानसभाको सदस्य हुँदा तमोर कोरिडोर, पाख्रिबास कृषि क्याम्पस र बेलाहारमा विमानस्थलको योजना ल्याउन पहल गरेको दाबी गर्दै भण्डारीले भने, ‘धनकुटाको विकासका लागि कुन सांसदका पालामा के–के भएको छ, त्यो हेरौं ।’

माओवादी नेता भण्डारीलाई नेपालखबरले सोध्यो, ‘तपाईको पार्टी गठबन्धनमा छ, माथिबाटै प्रचण्डले धनकुटामा सुनीलबहादुर थापालाई छाडिदिने सहमति जनाएको अवस्थामा त तपाईले पार्टीको निर्णय त मान्नैपर्ला नि?’

जवाफमा भण्डारीले भने, ‘स्थानीय चुनावमा धनकुटामा कांग्रेसले देखाएको व्यवहारका कारण माओवादी कार्यकर्ताले अरुलाई भोट हाल्नेवाला छैनन् ।  यसपटक हाम्रो आफ्नै उम्मेदवारी रहन्छ ।’

सुनील बहादुर थापा

गठबन्धनको निर्णय मान्नैपर्छ : थापा
नेपाली कांग्रेसका नेता सुनील बहादुर थापाले भने आफूले नै टिकट पाउनुपर्ने दाबी गरेनन् । तर, उनले भने, ‘हामीले देशभरि गठबन्धन गरेर जाने भनेका छौं, गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ, उसलाई हामी सबैले मान्नैपर्छ ।’

कांग्रेस नेता थापाले नेपालखबरसँग भने, ‘कसलाई उम्मेदवार बनाउने भन्ने त गठबन्धनले नै निर्णय गर्छ नि, व्यक्तिले निर्णय गरेर हुने होइन । गठबन्धन नभएको भए पो जसले जे भने पनि हुन्छ, गठबन्धनको परिधिभित्र रहेर गठबन्धनले जे भन्छ, त्यसैअनुसार जाने हो ।’

धनकुटामा ०७४ सालको भोटको हिसाबले हेर्ने हो भने पनि नेपाली कांग्रेसले नै टिकट पाउनुपर्ने थापाले बताए । स्थानीय चुनावमा पनि गठबन्धनका अरु दलको भन्दा कांग्रेसको मत धेरै माथि रहेको उनले बताए । कांग्रेस नेता थापाले भने, ‘मैले सुने अनुसार गठबन्धनले अहिले बनाएको क्राइटेरिया पनि यही हो ।’

धनकुटाबाट तपाई सांसद र मन्त्री भएकै बेला जिल्लाका सरकारी अड्डा बिराटनगर सारियाे, मन्त्री बनेर पनि तपाईले केही गर्न सक्नुभएन भन्ने विपक्षीको आरोप छ नि ? भन्ने नेपालखबरको प्रश्नमा थापाले अरुलाई दोष लगाउनुभन्दा आफ्नै कार्यकाल हेर्न सुझाए ।

थापाले अगाडि भने, ‘नेकपाले तीन वर्षसम्म सरकार चलाउँदा उहाँहरुले के गर्नुभयो त ? एमाले–माओवादीको दुईतिहाई सरकारले केही गरेन । उहाँहरुले किन गर्न नसकेको त ? अर्कालाई दोष लगाएर आफू पन्छिन मिल्दैन । आफूले गर्न नसकेको कुरा पो हेर्नुपर्यो । त्यो तीनवर्ष उहाँहरुले सरकार बनाएकै बेलाको कुरा हो त्यो ।’

गत स्थानीय चुनावमा कांग्रेसले माओवादीलाई धोका दियो भन्ने गुनासो रहेछ नि भन्ने प्रश्नमा थापाको जवाफ छ, ‘धोका दिएको जस्तो त लाग्दैन, धोका दिएको भए छथरमा माओवादीले कसरी जित्यो ? छथरमा माओवादीले उपाध्यक्ष जितेको छ । कतिपय ठाउँमा गठबन्धनका हाम्रै साथीहरु पनि त हारेका छन् नि । गठबन्धनले धोका दियो भन्न त मिलेन।’

माओवादी नेता हेमराज भण्डारीले सुनील थापा राष्ट्रियसभामा गए हुन्छ भनेर सुझाव दिएको सन्दर्भ सुनाउँदा थापाले हाँस्दै भने, ‘म पार्टीभित्र बसेको मान्छे, पार्टीले जे निर्णय गर्छ, त्योअनुसार गर्ने हो । मैले गैरजिम्मेवारीपूर्वक कोल्न त भएन नि । पार्टीको केन्द्रीय सदस्य भएको मान्छेले त पार्टीले जे निर्णय गर्यो, त्यही मान्ने हो ।’

रकम चेम्जोङ

०७४ मा सुनीललाई सघायौं, यसपालि त मेरो पालो : चेम्जोङ
यसैवीच जसपाका नेता रकम चेम्जोङले पनि धनकुटाबाट आफूले टिकट पाउनुपर्ने दाबी गरेका छन् ।

चम्जोङले नेपालखबरसँग भने, ‘कांग्रेसबाटै हुँदाखेरि त उम्मेदवार सुनील थापाजी नै हो । तर, ०७४ मा पनि हामीले उहाँलाई सघाएका थियौं, उहाँले जित्न सक्नुभएन । यसपालि त मेरो पालो हुनुपर्ने हो । त्यसैले, धनकुटामा मेरो दाबी स्वाभाविक हो ।’

धनकुटामा आफूहरुले मात्रै बारम्बार अरुलाई छाड्न नसकिने जसपा नेता चेम्जोङ बताउँछन् । उनी भन्छन्, ‘अब यसपालि पनि गठबन्धनबाट कसै न नसकैले त छोड्नैपर्यो । बारम्बार हामीले मात्रै छोड्नुपर्ने त होइन होला ।’

तर, गठबन्धनबाटै सुनील थापाजस्तै माओवादी नेता हेमराज भण्डारीको पनि दाबी छ नि भन्ने नेपालखबरको प्रश्नमा चेम्जोङले भने, ‘हेमराजजीको दाबी पनि स्वाभाविक हो । किनभने, ०७४ मा उहाँहरु एमालेसँग गठबन्धनमा हुनुहुन्थ्यो, उहाँले टिकट पाउनुभएन, प्रदेश र संघ सबै एमालेले लग्यो । त्यसकारणले गर्दा उहाँहरुलाई सायद अन्याय भएको थियो । त्यो अन्याय भएको हुनाले उहाँले पार्टीभित्र दाबी गर्नु स्वाभाविक कुरा हो ।’

तर, धनकुटामा कांग्रेस, एमाले, माओवादी वा एकीकृत समाजवादीले एक्लै–एक्लै लडेर नजित्ने चेम्जोङ बताउँछन् । उनी भन्छन्,‘धनकुटाको सन्दर्भमा एक्लै उठेर कसैले पनि जित्ने स्थिति छैन । कांग्रेस एक्लैले पनि जित्ने स्थिति छैन, अरु कसैले पनि एक्लै जित्ने स्थिति छैन । एक्लाएक्लै उठेर त रिजल्ट निस्कन्न ।’

धनकुटामा गठबन्धन दलहरुलाई अर्को पनि अप्ठ्यारो छ । यहाँ संघको एउटा र प्रदेशका दुईवटा गरी जम्मा तीन सीट छन् । तर, गठबन्धनमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पनि अस्थित्वमा छन् । सीट तीनवटा, पार्टी चारवटा भएकाले भागबण्डा गर्न सकस छ ।

यो सकसबारे सोधिएको प्रश्नमा जसपा नेता चेम्जोङले नेपालखबरसँग भने, ‘हामी १६५ सीटमा तालमेल गर्छौं । यो भनेको १६५ सीट नै बाँडफाँट गर्ने हो । स्वाभाविक रुपमा कसैले एउटा क्षेत्रमा पाएको हुन्छ, कसैले अर्कोमा पाएको हुन्छ । १६५ सीट भित्रै तालमेलमा परेपछि कहाँ पाए, कहाँ पाएनन् भन्ने कुरै भएन, त्यसमा सबै मिलाएकै हुन्छ ।’

सीटको भागवण्डा मिलाउन बनेको ११ सदस्यीय पाँचदलीय गठबन्धनको कार्यदलका सदस्य समेत रहेका चेम्जोङले भने, ‘अहिले १६५ सीटमै तालमेल गर्ने भन्ने बार्ता चलिराखेको छ । यसो नगरौं, बाँकी यति सीटमा तालमेल गरेर अरु छाडिदिऔं भन्ने हो भने त्यही किसिमको हुने भयो । तर, अहिलेको तालमेलको मोडालिटी हेर्ने हो भने १६५ मै पर्छ । तालमेललाई त मान्नुपर्यो नि ।’

संघमा अरुलाई छाडेर तपाई मुख्यमन्त्री बन्नेगरी प्रदेशमा चुनाव लड्दा के हुन्छ भन्ने प्रश्नमा जसपा नेता चेम्जोङको जवाफ छ,‘मुख्यमन्त्री बन्ने परिस्थिति भयो भने गठबन्धनबाटै हुन्छ होला, एकलौटी त कसैको हुँदैन होला । यो भनेको छुट्टै विषय हो । अहिले ३३० मा छलफल गर्ने कि नगर्ने, १६५ लाई प्याकेजमा डिल गर्ने कि नगर्ने भन्ने पनि छ । त्यसैले, यी सबै कुराहरु सेटल नभइकन भन्न सकिने स्थिति देख्दिनँ ।’

उनले थपे, ‘सबै दलका आ–आफ्नै रणनीतिहरु पनि छन् नि त ।’

एमालेमा पनि तीन प्रतिस्पर्धी
नेकपा एमालेमा पनि प्रतिनिधिसभा सदस्यका लागि तीनजना दाबेदार देखिएका छन् । वर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, पार्टीका जिल्ला अध्यक्ष एवं वर्तमान प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली र पूर्वसभासद टीका चेम्जोङ एमालेका तर्फबाट टिकटका दाबेदार हुन् ।

धनकुटामा मुख्य तीनवटा जातिको सेन्टिमेन्ट छ, राई, लिम्बु र खसआर्य । यसका साथै दलित, नेवार र अन्य जातिको पनि भोट बैंक छ । मुख्य तीन समुदाय र तमोर वारि–पारिको सेन्टिमेन्टलाई विचार गरेर मात्रै उम्मेवारी दिनुपर्ने बाध्यतामा दलहरु छन् ।

यो सेन्टिमेन्टका आधारमा विपक्षीले कस्तो उम्मदेवार दिन्छ, त्यसलाई हेरेर उम्मेदवार चयन हुने नेताहरु बताउँछन् ।

तर, नेकपा एमालेभित्र टिकटका लागि कुनै विवाद नरहेको सांसद राजेन्द्र राईले बताए । उनले नेपालखबरसँग भने, ‘एमालेमा कुनै विवाद छैन, संघीय सीटमा मेरो विकल्प पनि छैन ।’

 

जिल्लाको शक्ति सन्तुलन
०७४ को स्थानीय चुनावमा एमालेले धनकुटाका सबै स्थानीय तह जितेर क्लिन स्वीप गरेको थियो । संघीय चुनावमा पनि संघमा एमालेका राजेन्द्र राई र प्रदेशसभामा एमालेकै इन्द्रमणि पराजुली र निरन राईले जितेका थिए । माओवादीसँग गठबन्धन भए पनि तीनै सिट एमालेले लिएको थियो ।

प्रतिनिधिसभाको चुनावमा ०७४ मा धनकुटाबाट एमालेका राजेन्द्र राईले ३७ हजार ३३३ मत ल्याएका थिए भने राप्रपाका सुनील बहादुर थापाले २६ हजार ८७४ मत ल्याएका थिए । त्यसबेला थापालाई कांग्रेस र जसपाले सघाएको थियो भने एमाले नेता राईलाई माओवादीले सघाएको थियो ।

अहिले नेकपा एमाले फुटेको अवस्थामा छ । फुटको असर धनकुटामा पनि परेको छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले गत स्थानीय चुनावमा गत स्थानीय चुनावमा वडाध्यक्षमा पाएको मत रहेको छ ।  

त्यसैगरी विगतमा जस्तो आगामी चुनावमा एमालेले माओवादीको पनि साथ पाउने स्थिति छैन । गत स्थानीय चुनावमा माओवादीले पाएको वडाध्यक्षको मत देखिन्छ । जबकि ०७४ मा यो मत एमालेले पाएको थियो ।

गत स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत हेर्दा एमाले पहिलो दल बनेको छ भने कांग्रेस दोस्रो । एमालेले पाएको मत ३६ हजार ३३६ छ भने काँग्रेसले २८ हजार १८२ र माओवादीले ५ हजार ४५८ मत पाएको छ । त्यस्तै जसपाले २ हजार २९३, नेकपा एकीकृतले १ हजार ७२८ र राप्रपाले ३०४ मत पाएको देखिन्छ ।  

आगामी चुनावमा सुनील थापाले गठबन्धनको टिकट पाएको स्थितिमा कांग्रेसकै असन्तुष्ट पक्षले थापालाई भोट नदिने माओवादी नेता हेमराज भण्डारीको दाबी छ । माओवादी कार्यकर्ताले पनि स्थानीय चुनावमा धोका पाएको हुनाले कांग्रेसलाई भोट नहाल्ने भण्डारीको भनाइ छ । माओवादीले एमालेलाई पनि भोट नदिने उनी बताउँछन् ।

तर, सुनील बहादुर थापा र रकम चेम्जोङ भने गठबन्धनले जे निर्णय गर्छ, सबैले त्यो मान्नैपर्ने बताउँछन् ।

त्यसो त  गत स्थानीय चुनावमा धनकुटामा देखिएको भाँडभैलोलाई हेर्ने हो भने आगामी चुनावमा पनि सबै पार्टीभित्र घात–अन्तरघात हुने खतरा बढ्दो छ ।

याे पनि-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .