ad ad

कोशी


सुरक्षित स्थानमा जान मानेनन् सप्तकोसी प्रभावित, तत्काल तटबन्ध बनाउन माग गर्दै प्रदर्शन

सुरक्षित स्थानमा जान मानेनन् सप्तकोसी प्रभावित, तत्काल तटबन्ध बनाउन माग गर्दै प्रदर्शन

सुमन पुरी
साउन २१, २०७९ शनिबार १७:१८, विराटनगर

सप्तकोसी नदीमा अस्वाभाविक रुपमा पानीको मात्रा बढिरहँदा उदयपुरको बेलका नगरपालिकाका सप्तकोसी प्रभावितहरु तत्काल नदी छेक्न माग राख्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका छन्।
 

अन्नपात, गाईवस्तु छाडेर जोखिम क्षेत्रबाट बाहिर आउन नसक्ने भन्दै  प्रभावितहरुले तटबन्ध निर्माणको माग राखेका छन्।
 
बेलकाका डुम्रीबोटेबाट सप्तकोसी नदीले बुधबार बिहान धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिकाका ४ वडाका २३ सय परिवारका झण्डै २० हजार सर्वसधारण प्रभावित भएका छन्। 

यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिकाका २ वटा वडाका १३ सय परिवारका ५ हजार सर्वसाधारण पनि प्रभावित भएका छन्। 

प्रभावित भएकाहरुकालाई बुधबार र बिहीबार दिनभरि गरेर उद्धार गरिएको भए पनि शुक्रबार पानीको सतह घटेको भन्दै उनीहरु पुनः जोखिम क्षेत्रमा नै फर्कन थालेका छन्।
 

उद्धार गरिएकाहरु पनि पालिकाले व्यवस्थापन गरेको शिविरमा नबसेका कारण नदी प्रभावितहरु कहाँ र कुन अवस्थामा छन् भन्ने तथ्यांक छैन। 

उनीहरु स्थानीय प्रशासन र पालिकाको सम्पर्कमा नहुँदा पुन जोखिम मोलेर प्रभावित क्षेत्र श्रीलंका टापुमै फर्किएको हुन सक्ने अनुमान गरिएको छ।
 
जोखिम क्षेत्रमा फर्किन खोजेपछि सुरक्षाकर्मीले उनीहरुलाई रोकेको छ। सुरक्षाकर्मीले रोकेपछि शनिबार तटबन्ध लगाउनु पर्ने माग राख्दै प्रभावितहरु पालिका घेराउमा आएको बेलका नगरपालिकका मेयर अशोक कार्कीले बताए। 

उनले भने, ‘तत्काल तटबन्ध लगाउनु पर्ने माग राखेर घेराउमा आउनु भएको छ। हामीले पानीको मूलधार नै पश्चिमतर्फ भएकाले तटबन्ध गर्न सकिन्न भन्ने जवाफ दिएका छौँ।’
 
मेयर कार्कीले प्रभावितहरुले जोखिम क्षेत्र छाड्न नमानेका कारण समस्या भएको बताए।

‘नदीमा पानीको सतह बढ्ने सूचना आएपछि माइकिङ गरेका छौँ। सुरक्षाकर्मी परिचालन गरेर पनि निकाल्ने प्रयास गरिरहेका छौँ। पश्चिमतर्फ धार परिवर्तन गरेको भंगालो पनि सहजै तरेर जान सक्ने अवस्था नभएका कारण उद्धारमा समस्या छ,’ कार्कीले भने।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने, ‘उहाँहरु आउनै मान्नु हुन्न। आउन नमानेपछि जाखिम क्षेत्रमा डुंगासहित सुरक्षाकर्मी परिचालन गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .