ad ad

कोशी


मोरङमा ३६७ घर परिवार विस्थापित, सुनसरीमा २३९ जनालाई सुरक्षित स्थानमा सारियो

मोरङमा ३६७ घर परिवार विस्थापित, सुनसरीमा २३९ जनालाई सुरक्षित स्थानमा सारियो

सुमन पुरी
असार १५, २०७९ बुधबार १६:१, विराटनगर

लगातारको वर्षाका कारण सुनसरी र मोरङका ४ सय भन्दा बढी परिवार विस्थापित भएका छन्। स्थानीय खोला तथा नदीमा पानीको सतह बढ्दै गएकाले थप घर प्रभावित हुने अवस्थामा छन्।

लगातारको वर्षाका कारण मोरङमा डुबान र बाढीका कारण ३६७ घर विस्थापित भएका छन्। आज बिहान ९ बजेसम्ममा १ हजार ३ सय ६७ जनालाई डुबान तथा खोलाका कारण अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर ८ को सुकुम्वासी बस्तीमा सिंगिया खोला पसेर डुबान हुँदा २५ घरका ९५ जनालाई सुरक्षित स्थानमा त्रिपालमुनी सारिएको छ। 

त्यस्तै विराटनगर वडा नम्बर ७ मा  ३८ घरका १४५ विस्थापित भएका छन्। विस्थापित भएका मध्ये १७ घरलाई गायत्री माविमा राखिएको छ भने बाँकी आफन्तको शरणमा छन्।

बेलवारी नगरपालिका वडा नम्बर  ६ मा रहेको बाहुनी खैटे खहरे खोला गाउँ पसेको छ। खहरे खोला गाउँ पस्दा ८ घरका ३३ जना आफन्तको शरणमा पुगेको प्रहरीले जनाएको छ। कटहरी गाउँपालिकाको वडा नम्बर १ का १५० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोईरालाले  जानकारी दिए। 

उनका अुसार कटहरी गाउँपालिका वडा नम्बर १ को टाइगर टोलका ८० घरका २८० जना, हनुमान मन्दिर क्षेत्रका ४० घरका १७० जना र नारी विकास क्षेत्रको ३० घरका १०० जना विस्थापित भएका छन्। यी बस्तीमा सिंगिया खोला गाउँ पसेको हो।  

डुबानमा परेका परिवारलाई नारी विकास संस्थाको भवन, एकीकृत कृषि थोक बजार र कतिपयलाई सुरक्षित स्थानमा त्रिपाल टाँगेर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी कोइरालाले जानकारी दिए। 

त्यस्तै, बुढीगंगा गाउँपालिका १ खापटोलमा सिंगिया खोला गाउँ पसेको छ। खोला गाउँ पस्दा २६ घरका १२५ जना विस्थापित भएका छन्। उनीहरुलाई वडा कार्यालयको भवनमा राखिएको छ। 

सोमबार मध्यरातिदेखि निरन्तरको वर्षाको कारण धेरै क्षेत्र जलमग्न भएको छ। वर्षाको कारण विस्थापित हुनेको संख्या बढ्नसक्ने भएकोले सतर्क रहन भनिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

सुनसरीमा २३९ विस्थापित 
सुनसरीमा बाढीबाट सबैभन्दा बढी भोक्राह नरसिंह गाउँपालिकामा बाढीले क्षती पुर्याएको छ। सुनसरी खोला गाउँ पस्दा वडा नम्बर ५ का ३० घर विस्थापित भएका छन्। ती घरका १७० जनालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुनसरीको बर्जु गाँउपालिकाका १५ परिवार विस्थापित भएका परिवारका सदस्यलाई मुसहर भवन र स्थानीय रामजानकी प्राथमिक विद्यालयमा राखिएको बताए। 

सुनसरीको इटहरी उप महानगरपालिका वडा ५ सिमरवनामा एउटा परिवार विस्थापित भएको छ। 

शिमरवनाका रामवृक्ष चौधरीको घर सुकुमारी खोलाले भत्काएको छ। बाढीका कारण सुनसरीका दक्षिणी गाँउपालिका जलमग्न भएका छन्। अविरल रुपमा आएको वर्षाका कारण सुनसरीका दक्षिणी क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

इनरुवा हुँदै हरिनगर जाने बाटोमा ठाउँ ठाउँमा सडकमा खोला कुँदेको छ। सुनसरीको दक्षिणी क्षेत्रमा रहेका शसस्त्र प्रहरीको विओपीहरु पनि डुबानमा परेका छन्। 

सडकमै खोला कुद्दा आवगमनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। सम्भावित जोखिम क्षेत्रमा प्रहरी परिचालन गरेर उद्धारको काम भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .