ad ad

कोशी


मोरङ कांग्रेस : महेश आचार्य, भीम पराजुली र गुरुराज घिमिरेमाथि अन्तरघात आरोप

स्थानीय निर्वाचनको कमजोर नतिजाले भाँडभैलो
मोरङ कांग्रेस : महेश आचार्य, भीम पराजुली र गुरुराज घिमिरेमाथि अन्तरघात आरोप

सुमन पुरी
असार १४, २०७९ मंगलबार १८:१६, विराटनगर

स्थानीय तह निर्वाचनमा अनपेक्षित हार ब्योहोरेपछि अन्तरघात भएको भन्दै मोरङ कांग्रेसको एक पक्षले अर्को पक्षका नेताहरुलाई  कारवाही माग गरेका छन्। 

२०७४ को स्थानीय तह निर्वाचनको तुलनामा यस पटक  मोरङमा कांग्रेस कमजोर भएको छ। जहाँ एक्लै लडेको नेकपा एमाले बलियो भएर आएको छ। 

कांग्रेसले अघिल्लो पटक विराटनगर महानगरको मेयर-उपमेयरसहित ६ नगर प्रमुख र ३ गाँउपालिका अध्यक्ष जितेको थियो। 

यस पटक कांग्रेसले महानगरको मेयरसहित १ नगरपालिका र ६ गाउँपालिका अध्यक्ष जितेको छ। 

महानगरको उपमेयर समेत गुमाएको कांग्रेस १ उपमेयर र ३ उपाध्यक्षमा  खुम्चिन पुगेको छ। 

०७४ को निर्वाचनमा जिल्लामा सबैभन्दा बढी वडाअध्यक्ष जितेको कांग्रेस यसपटक ६० वटामा खुम्चिएको छ। ७८ वडा जित्दै एमालेले जिल्लामा पहिलो दलका आफूलाई उभ्याएको छ। 

गठबन्धन गरेर निर्वाचनमा जाँदा समेत दोस्रो पाएपछि कांग्रेसले निर्वाचन परिणाम र हारका कारणबारे समीक्षा गरेर पठाउन तल्ला कार्य समितिहरुलाई निर्देशन दिएको थियो। 

जिल्ला नेतृत्वले निर्वाचनबारे समीक्षा गरेर लिखित जवाफ पठाउन यसअघि जेठ ३० सम्मको समय दिएको थियो। 

जिल्लाका सबै बुथ र वडाबाट समीक्षा नआइ सकेपछि थप १० दिनको म्याद जिल्ला समितिले दिएको थियो। 

म्याद थप गरेपछि तल्लो तहबाटै निर्वाचनमा अन्तरघात गरेर आफ्ना उम्मेदवार हराएको भन्दै नेताहरुलाई कारवाही माग गरिएको छ। 

बुथ, वडा नगर हुँदै क्षेत्रीय समितिमा आएका लिखित समीक्षा पत्रमा पार्टीका केन्द्रीय नेताहरुलाई नै कारवाही माग गरिएको छ।

त्यहीअनुसार क्षेत्रीय समितिहरुले कारवाहीका लागि जिल्ला समितिलाई सिफारिस गरेका छन्। 

कारवाही माग गरिएका नेताहरुमा केन्द्रीय सदस्य एवम् विराटनगर महानगरका पूर्व मेयर भीम पराजुलीदेखि नेता गुरुराज घिमिरेसम्म छन्। 

गुरुराज घिमिरे प्रदेश १ सभापतिमा उद्धव थापासँग पराजित भएका नेता पनि हुन्। 

यस्तै भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलालाई पनि कांग्रेसका उमेदवार हराउन भूमिका खेलेको भन्दै कारवाहीका लागि जिल्ला समितिलाई सिफारिस गरिएको छ। 

निरौला कांग्रेसका तर्फबाट भूमि आयोगका अध्यक्ष भएका हुन्। उनलाई कानेपोखरी कमिटीबाट कारवाही माग राख्दै सिफारिस भएको छ। 

कांग्रेस केन्द्रीय सदस्य तथा विराटनगरका पूर्व मेयर भीम पराजुलीलाई उनकै वडा विराटनगर ३ बाट कारवाही सिफारिस भएको छ। 

उनले वडाअध्यक्ष कांग्रेस उम्मेदवार हराउन भूमिका खेलेको तल्लो तहका कार्यकर्ताहरूले आरोप लगाएका छन्।

उनले कांग्रेसका वडाअध्यक्षका उमेदवार कमल कुमार पुडासैनीलाई हराउन भूमिका खेलेको आरोपसहित कारवाही माग गरिएको हो। 

पराजित पुडासैनीले १९३८ मत ल्याउँदा एमालेका वासुबहादुर बस्नेतले  २३८३ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन्। 

पराजुलीले स्वतन्त्र उमेदवार सत्रुधनचन्द पौडेललाई सहयोग गरेको आरोप छ। उनी कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उमेदवार बनेका थिए। 

उनलाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाउन पराजुलीले जोड बल गरेका थिए। तर उनले कांग्रेसबाट वडाअध्यक्षमा टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

कांग्रेस बुथ समिति सभापति समेत रहेका पौडेलले ३२५ मत ल्याएका छन्। 

भिनाजुलाई वडाअध्यक्षको टिकट दिलाउन नसकेपछि पराजुलीले नै प्रजातन्त्रबाट उठाएर कांग्रेसका आधिकारिक उमेदवारलाई  हराउन लागेको वडाबाट आएको कारवाही पत्रमा उल्लेख छ। 

त्यस वडाबाट पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारबाहीको लागि क्षेत्रीय समितिमा पत्र आएको थियो। 

कांग्रेस छाडेर नेपाली कांग्रेस बीपीबाट रामचन्द्र गौतम मेयरमा उठेका थिए। कारबाहीको सिफारिसमा भीमका दाजु चूडामणि पराजुली पनि छन्।

उक्त वडाबाट कारबाही सिफारिस गरिएकाहरुमा पूर्व जिल्ला सदस्य विनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी पनि छन्।

आफ्नै वडाबाट गुरु घिमिरेलाई कारवाहीको माग 
कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेलाई पनि कारवाही माग गर्दै उनकै वडाबाट सिफारिस गरिएको छ। उनी मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ६ का मतदाता हुन्। 

उनलाई त्यही वडामा कांग्रेसका उम्मेदवार हराउन भूमिका खेलेको आरोप सहित कारवाहीको माग गरिएको छ। 

त्यस वडाबाट कांग्रेसका उमेदवार बनेका भएका सञ्जय माझीले घिमिरेलाई कारवाहीको माग गरेका छन्।

उनी एमालेका वीरनारायण चौधरी थारूसँग पराजित भएका थिए। माझीले ८६५ मत पाएका थिए। चौधरीले ८८३ मत पाएका थिए। 

घिमिरेले दिपेन्द्र विष्टलाई सघाएको आरोप छ। कांग्रेस स्रोतका अनुसार घिमिरेले विष्टलाई वडा अध्यक्षको उम्मेदवार बनाउन चाहेका थिए।

तर भूगोलबाट थारु समुदायको बाहुल्यता रहेको वडामा विष्टले नजित्ने निचोड निस्किएको थियो। त्यही आधारमा थारूबाट उम्मेदवार बनाउनु पर्ने दवाव आएको थियो। 

तल्लो तहबाट नै सिफारिस नभएपछि क्षेत्रले मण्डललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। 

मण्डलले उम्मेदवार बनाउने निर्णय भएपछि घिमिरेले सञ्जय चौधरीलाई वडाअध्यक्षको उम्मेदवार बनाउन भनेका थिए। 

तर क्षेत्रले उम्मेदवार परिवर्तन नगरेपछि घिमिरेको बलमा विष्ट स्वतन्त्र उम्मेदवार बनेको स्थानीय कांग्रेस कार्यकर्ताको आरोप छ। विष्टले स्वतन्त्रबाट उम्मेदवार बनेर ३४७ मत ल्याएका छन्। 

अर्को पक्षलाई पनि कारवाही माग 
गुटका कारण तल्लो तहबाटै कारवाहीको सिफारिस भएपछि असन्तुष्ट पक्षले अर्को पक्षलाई कारवाहीको माग राख्दै जिल्ला समितिमा पत्र दर्ता गराएका छन्। 

मोरङ क्षेत्र नम्बर ४ का २३ वडा मध्ये १८ वटा वडा गुमाउनुमा टिकट वितरण प्रमुख कारण भन्दै नेता महेश आचार्य, मोरङ क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति विनोद बस्नेत र महाधिवेशन प्रतिनिधि विश्वनाथ रिजाललाई कारवाहीको माग गरिएको छ। 

टिकट वितरणमा धाँधली भएर निर्वाचनमा पराजय भोग्नु परेको भन्दै कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली लगायतले जिल्ला समितिमा पत्र दर्ता गराएका हुन्। 

जिल्ला समितिमा पत्र दर्ता गराउने भने संस्थापन पक्षका नेताहरु हुन्। उनीहरुले संस्थापन इतरका नेताहरु आचार्य, रिजाल र बस्नेतलाई कारवाही माग गरेका छन्।

उनीहरुले टिकट वितरणमा धाँधली गरेको साथै पैसामा टिकट बेचेको समेत आरोप लगाएका छन्। 

तर संस्थापन इतरका नेताहरुलाई भने तल्लो तहबाट कारवाहीको माग भएको छैन। 

मोरङ कांग्रेसमा निर्वाचनलाई लिएर एकले अर्कालाई कारवाहीको माग राख्दा पार्टीमा भाँडभैलो भएको छ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले विभिन्न ठाउँबाट कारवाही सिफारिस आएको बताए।

'यसबारे अध्ययन भइरहेको छ', उनले भने, 'अहिले नै यसै गर्ने टुंगोमा पुगेका छैनौँ। सबैतिरबाट रिर्पोट आएपछि यसो गर्ने भनेर भन्न सक्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .