ad ad

राजनीति


प्रदेश १ मा यी हुन् दलको नेताका दाबेदार

एमाले र माओवादीमा छैन सकस, कांग्रेसमा हुनसक्छ चुनाव
प्रदेश १ मा यी हुन् दलको नेताका दाबेदार

ध्रुव भट्टराई
पुस ९, २०७९ शनिबार १४:८, विराटनगर

प्रदेश १ का नवनिर्वाचित सांसदहरूले शपथ खाने मिति टुंगो लागेसँगै दलहरू संसदीय दलको नेता छान्ने गृहकार्यमा लागेका छन्। 

प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरूको शपथ यही पुस ११ गते सोमबारका लागि तोकिएको छ। कतिपय दलले शपथअगावै त कतिपयले शपथ कार्यक्रमपछि दलको नेता छान्ने तयारी गरिरहेका हुन्। 

केन्द्रमा भने धेरैजसो दलले संसदीय दलको नेता चयन गरिसकेका छन्। केन्द्रको समीकरण र निर्देशन कुरेर बसेका प्रदेशस्थित दलहरूले पनि पुस ११ भित्रै दलको नेता चयन गर्ने तयारी थालेका हुन्। 

नेपाली कांग्रेस प्रदेश १ की सहमहामन्त्री प्रमिला गच्छदारले प्रदेशसभा सदस्यको शपथअगावै दलको नेता चयन गर्नेगरी गृहकार्य भइरहेको बताइन्। उनले नेता चयनका लागि आइतबार कांग्रेसको प्रदेश संसदीय दलको बैठक बस्ने जानकारी दिइन्। 

‘नेताका लागि आकांक्षी धेरै हुनुहुन्छ, सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास हुनेछ’, सहमहामन्त्री गच्छदारले भनिन्, ‘सहमति भएन भने निर्वाचनबाट दलको नेता टुंग्याइनेछ।’

कांग्रेसमा दलको नेता बन्न पाँचजना आकांक्षी छन्। गठबन्धनमा सबैभन्दा ठूलो दल भएका कारण पनि प्रदेशको नेतृत्व पाइने आशामा कांग्रेसभित्र दलको नेताका लागि प्रतिस्पर्धा बढी छ।

कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरू अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दलको नेता बन्ने दौडमा छन्। 

कार्की शेखर कोइराला पक्षका हुन् भने थापा, अर्याल र पराजुली संस्थापन पक्षका। प्रदेश सभापति थापा कृष्णप्रसाद सिटौला समूहका हुन्। सिटौला संस्थापन पक्षमा लागेसँगै उनी पनि सोही समूहमा उभिएका झापाली नेता हुन्। 

प्रदेश १ मा कांग्रेससँग प्रत्यक्ष १७ र समानुपातिक १२ गरेर २९ जना सांसद छन्। कांग्रेसभित्र दलको नेताका आकांक्षी धेरै भएका कारण पनि निर्वाचनबाटै त्यसको छिनोफानो हुने सम्भावना बढी छ।

कांग्रेस प्रदेश १ मा संस्थापन पक्षमा १२, कोइराला पक्षमा ८ र सिटौला समूहका ९ जना सांसद छन्। यसरी हेर्दा सिटौलासहितको संस्थापन पक्ष प्रदेशमा बलियो देखिन्छ।

आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने कसरतमा लागेका दलहरू मुख्यमन्त्रीको बाटो खुला गर्न पनि संसदीय दलको नेताको टुंगो चाँडै लगाउनुपर्ने दबाबमा छन्।

प्रदेश १ मा गठबन्धन र गठबन्धनबाहिर रहेको एमालेबीच सरकारको नेतृत्व लिने होड छ। तर केन्द्रमा सरकार गठनबारे सहमति भइनसकेकाले यी दल पर्ख र हेरको स्थितिमा छन्। 

त्यसैगरी प्रदेश १ संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले पुस १० भित्रै संसदीय दलको नेता छान्ने तयारीसहित गृहकार्य गरिरहेको नेताहरूले बताएका छन्। 

ठूलो दलको हैसियतमा आफ्नो नेतृत्वमा सरकार निर्माण गर्न उसले साना दलहरूको साथका लागि उनीहरूसँगका संवाद र छलफललाई एकसाथ अघि बढाएको छ।

२५ जना प्रत्यक्ष र १५ जना समानुपातिक गरी प्रदेश १ मा एमालेका ४० सांसद छन्। 

एमालेमा यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालिसकेका अध्यक्ष केपी ओलीनिकट हिक्मत कार्की दलको नेताको बलियो दाबेदार हुन्। 

पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका उनलाई दलभित्र चुनौती दिन अहिलेसम्म कोही खुलेका छैनन्। हिजो १० बुँदे समझदारी गरेर आएकाहरू ज्यादै न्यून भएका कारण पनि एमालेभित्र दलको नेतामा प्रतिस्पर्धा हुने सम्भावना निकै कम छ।  

‘दलको नेता चयनमा पार्टीभित्र खासै सकस छैन’, एमाले प्रदेश समितिका सहइन्चार्ज विनोद ढकालले नेपालखबरसँग भने, ‘पूर्व प्रदेशमन्त्री अहिलेसम्म एक्लो आकांक्षी रहेका कारण पनि हामी दुई दिनभित्र दलको नेताको टुंगो लगाउँछौँ।’ दलको नेतामा कार्की नै सर्वसम्मत हुने अवस्था रहेको ढकालको भनाइ छ। 

प्रदेशसभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने प्रदेशसभा सदस्यहरूको शपथपछि मात्रै दलको नेता छान्ने भएको छ। केन्द्रमा पनि प्रतिनिधिसभा सदस्यहरूको शपथपछि मात्रै नेता चयन गरेको थियो। 

प्रत्यक्ष ९ र समानुपातिक ४ गरी १३ सदस्य रहेको माओवादी संसदीय दलभित्र अहिलेसम्म  वर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आम्ङ्बो र दुर्गा चापागाईंले दलको नेतामा दाबी गरेका छन्।

सुरुका तीन वर्ष र राजेन्द्र राई नेतृत्वको सरकार बनेयता लगातार आर्थिक मामिलामन्त्री रहेका उनी पार्टीका सबैभन्दा वरिष्ठ नेतासमेत भएकाले उनी नै नेता चुनिने माओवादी नेताहरू बताउँछन्। 

तेह्रथुम प्रदेशसभा २ बाट निर्वाचित चापागाईंले दलको नेतामा दाबी गरे पनि उनले गठबन्धनको नेतृत्वमा सरकार गठन भएमा मन्त्री पदका लागि मात्र ‘मोलमोलाइ’ गरेको नेताहरू बताउँछन्। 

९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन एक मात्र सांसद (निर्मला लिम्बू) भएको जसपा निर्णायक हुने अवस्था छ। तर उसले यस विषयमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। 

यसरी केन्द्रीय समीकरणको बाटो हेरेर बसेका कारण पनि प्रदेशमा दलहरूले दलको नेता चयनमा ढिलाइ गरेका हुन्। अरू दलले पनि एकजना मात्र आकांक्षी रहेकाले अबको दुई दिनभित्र दलको नेता छान्ने तयारी भइरहेको बताइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .