मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउन लुम्बिनी प्रदेश सभामा आह्वान गरिएको विशेष अधिवेशन आज सुरु हुँदैछ।
विपक्षी दलहरूको मागअनुसार प्रदेश सभाका प्रमुखले आज दिउँसो १ बजे सुरु हुने गरी विशेष अधिवेशन बोलाएका हुन्।
आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना पाउनासाथ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गराएका थिए। त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वान गर्न गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए।
सोहीबमोजिम प्रदेश प्रमुखले वैशाख १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको विशेष अधिवेशन बोलाएका हुन्।
प्रदेश सचिवालयका अनुसार आजको पहिलो बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले अविश्वास प्रस्तावबारे आफ्ना धारणा राख्ने छन्।
त्यस क्रममा उठाइएका प्रश्नमा मुख्यमन्त्री पोखरेलले सोमबार आफ्ना भनाइ राखेपछि अविश्वास प्रस्तावका पक्ष र विपक्षमा मतदान हुनेछ।
पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पास होला?
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित २ सांसद एमालेमा प्रवेश गरेका कारण पदबाट हटाइएकाले सदस्य संख्या ८५ मा झरेको छ। फेरि जनता समाजवादी पार्टीले पनि आफ्नो पार्टी मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा हुँदाहुँदै उनकै नेतृत्वको सरकारमा मन्त्री बन्न गएपछि आफ्ना ४ सांसदलाई बर्खास्त गरेपछि लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय भएको छ।
अविश्वास प्रस्ताव दर्ता गर्दा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदले हस्ताक्षर गरेका थिए। तर जसपाका ६ जनामध्ये कल्पना पाण्डे लम्सालले भने हस्ताक्षर गरेकी थिइनन्।
अविश्वास प्रस्तावलगत्तै मुख्यमन्त्री पोखरेलले लम्सालसहित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीसमेतलाई मन्त्री बनाएका थिए। त्यसको २ घण्टामै जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतले उनीहरूलाई सांसद पदबाट हटाएको हो।
अहिले लुम्बिनी प्रदेश सभामा बाँकी ८१ सदस्यमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको एमालेका ४१ जना छन्।
अविश्वास प्रस्ताव पारित हुन ४१ मत पुग्नुपर्छ। तर विपक्षी दलसँग सभामुखसहित ३९ मत मात्र छ। एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले साथ दिँदा पनि ४० मत मात्र हुन्छ।
यी पनि :
लुम्बिनी प्रदेशका चार सांसदमाथिको कारबाही रोक्न ठाकुरले गुहारे आयोग (पत्रसहित)
लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए
जसपाका ४ सांसदलाई कारवाही गर्ने निर्णय पार्टीमा भएको छैनः महन्थ ठाकुर
Shares
प्रतिक्रिया