ad ad

राजनीति


मुख्यमन्त्री गुरुङको चतुर्‍याइँ !

मुख्यमन्त्री गुरुङको चतुर्‍याइँ !

वाशुदेव मिश्र
बैशाख २६, २०७८ आइतबार १२:२४,

सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो।

यसअघि मतदानकै दिन बिरामी भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही तंग्रिसकेका थिए।

उनले अविश्वासको प्रस्तावकै पक्षमा मतदान गर्ने भएपछि मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित हुने निश्चित थियो।

अविश्वासको प्रस्ताव पारित भएपछि स्वभाविक रुपले विपक्षी गठनबन्धनले सरकार बनाउँथे।

विपक्षीहरुले संविधान अनुसार नै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए।

तर, अचानक आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिए।

उनले अविश्वासको प्रस्ताव सामना गरेनन् बरु मुख्यमन्त्रीले राजीनामासँगै धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न माग गरे।

संविधानको धारा १६८ का उपधारा २ मा मन्त्रिपरिषद गठनसम्बन्धी व्यवस्था गरिएको छ।

सो धाराको उपधारा ३ मा भनिएको छ,‘ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।’

माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता गरेसँगै मुख्यमन्त्री गुरुङ यसै अल्पमतमा थिए।

विपक्षीहरुले साविक नेकपा फुटेकाले उनले विश्वासको मत लिनुपर्ने माग गर्दै आएका थिए।

संविधानको धारा १८८ को उपधरा (२) मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने प्रावधान रहेको थियो।

मुख्यमन्त्रीले त्यो कुरा सुनेनन्। माओवादी केन्द्रले गएको बैशाख २ गते लिखित रुपमा नै उनीमाथि दिएको विश्वासको मत फिर्ता गर्‍यो तर पनि मुख्यमन्त्री बहुमतमै थिए।

उनीसँग साविक एमालेका २७, स्वतन्त्र सभासद भनिएका दीपक मनाङे र जनमोर्चा नेपालका ३ सभासदको साथ नै थियो।

राजीनामा दिने बेलामा चाहिँ उनले स्पष्ट रुपले आफू अल्पमतमा रहेको स्वीकारे र दुई वा दुईभन्दा बढी दललाई लिएर सरकार बनाउन आह्वान गरे।

यो आह्वानको स्पष्ट सन्देश के हो भने ,मुख्यमन्त्रीले पद छाडेका हुन्, ठूलो दल भएको नाताले सरकारको नेतृत्वको दावी छाडेका हैनन्।

परिआए अझै आफू सरकार बनाउने अभियानमै लाग्ने उनले संकेत गरेका हुन्।

यद्यपि, विपक्षी दलका नेताहरुले चाहिँ आफूहरु सरकार बनाउने अभियानमा जुटिसकेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .