ad ad

राजनीति


अर्काे ‘शेरे धनुषा’को उदय

धनुषाबाट महासेठ दम्पती नै विजयी
अर्काे ‘शेरे धनुषा’को उदय

जयन्त ठाकुर
मंसिर १३, २०७९ मंगलबार १०:५९, जनकपुरधाम

नेकपा एमालेका सचिव रघुवीर महासेठ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतान्तरले हराएका हुन्। विजयी महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत पाए। 

मतगणनाका क्रममा तीव्र प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई हराउँदै महासेठले चुनाव जितेका हुन्। 

यसअघि महासेठकी श्रीमती जुलीकुमारी महतो पनि एमालेकै टिकटमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भइसकेकी छन्। 

उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झालाई हराउँदै संघीय सांसद बनेकी हुन्। 

योसँगै महासेठ दम्पती धनुषाबाटै प्रतिनिधिसभा सदस्य बन्ने जोडी बनेको छ। एउटै जिल्लाबाट श्रीमान्–श्रीमती दुवैले जितेको रेकर्ड यसअघि हेमबहादुर मल्ल र शारदा मल्लले मात्र बनाएका थिए। जसका कारण हेमबहादुरलाई शेरे धनुषा भनेर सम्बाेधन गरिन्छ। 

अहिले महासेठ दम्पतीले पनि उक्त रेकर्ड बनाएको हो। महासेठ दम्पतीको जितपछि एमाले कार्यकर्ताहरूले रघुवीरलाई ‘शेरे मधेश’ भनेर सम्बोधनसमेत गर्न थालेका छन्।

एमालेका प्रदेशसभा सदस्य शिवशंकर साह हीरा सामाजिक सञ्जालमा लेख्छन्, ‘रघुवीर महासेठ शेरे धनुषा मात्रै होइन, शेरे मधेश हुन्।’

ओलीनिकट महासेठ दम्पतीको राजनीतिक यात्रा
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाटै राजनीति सुरु गरे पनि राजनीतिमा महासेठको खासै सक्रियता थिएन। पछि सिभिल इन्जिनियरिङका लागि उनी भारतको राँचीस्थित बीआईटी कलेज पुगे। इन्जिनियरिङको अध्ययन सकाएर महासेठ जागिरका लागि इलाम गए। इलामममा भने उनी एमाले पार्टीको राजनीतिमा धेरथोर सक्रिय भए। त्यहाँ उनले एमालेको जिल्ला सचिव भएर समेत काम गरेको धनुषाका एमाले नेताहरू बताउँछन्। 

इलाममा एमालेका तत्कालीन प्रभावशाली नेता झलनाथ खनालसँग उनको घनिष्ठता बढ्दै गयो। त्यो समयमा उनको निकटता माधवकुमार नेपालसँग पनि बढ्दै गएको थियो। राजनीतिमा सक्रियता बढ्दै जान थालेपछि महासेठको जागिर नै धरापमा पर्ने सम्भावना बढ्दै गयो। पछि माधव नेपालको पैरवीका आधारमा महासेठलाई उदयपुर सिमेन्टको महाप्रबन्धक (जीएम) बनाइयो।

यसपछि नेपालका धनाढ्य व्यापारीमध्येका एक उपेन्द्र महतोको बहिनी जुलीकुमारी महतोसँग महासेठको विवाह भयो। घरमा जुलीको आगमनसँगै उनको राजनीतिक यात्राले गति लिन थालिसकेको थियो। 

उदयपुर सिमेन्टको जीएम पदबाट हटेपछि महासेठले एमालेको सक्रिय राजनीतिलाई तीव्रता दिन थाले। एमालेभित्र महासेठको कित्ता परिवर्तनको खेल सुरु भयो। उनी माधव नेपालको साटो वामदेव गौतमको विश्वास पात्रका रूपमा आफूलाई स्थापित गर्न सफल भए।

महासेठ २०५४ सालमा एमाले विभाजन हुँदा मालेको केन्द्रीय सदस्यसमेत बने। एमालेको २०५९ सालको सातौं महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने। आठौं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा हारे। त्यो समयमा उनी ओली इतरको समूहमा थिए।

लामो समयसम्म एमालेभित्र वामदेव गौतमको विश्वास पात्रका रूपमा रहेका महासेठ २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा सचिव पदका उम्मेदवार बने तर हारे। पछि महासेठ केपी शर्मा ओलीको नजिक हुन पुगे। ओलीको प्यानलबाट पार्टीको सचिव पदमा लडेका महासेठ केन्द्रीय सदस्य पदमा समेत जित हासिल गर्न सकेनन्। 

एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत लड्न पाउने व्यवस्था छ। पदाधिकारीमा पराजित भए पनि केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो। तर महासेठ दुवै पदमा हारे। 

वास्तवमा ओलीको निकट भएदेखि महासेठले पार्टीमा अवसर पाउन थाले। महासेठ नेपालमा पहिलोपटक २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव लडे। तर हारे। पछि धनुषा ५ बाट निर्वाचित डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति भएपछि धनुषा ५ मा पुनः निर्वाचन भयो। जहाँ महासेठ पहिलोपटक विजयी भएर संसदसम्मको यात्रा तय गरे।

सांसद बनेलगत्तै झलनाथ खनाल नेतृत्वको सरकारमा २०६७ फागुन १ गते पहिलोपटक मन्त्री बने। उनलाई सिँचाइमन्त्रीको जिम्मेवारी दिइएको थियो। तर उनको कार्यकाल ६ महिना मात्र टिक्यो। 

संविधान जारी भएपछि २०७४ सालमा भएको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाटै नेपाली कांग्रेसका महेन्द्र यादवलाई हराउँदै विजयी भए। निर्वाचनपछि ओली नेतृत्वको सरकार गठन हुँदा महासेठलाई २०७४ चैत २ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइयो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रिपरिषदमा गरिएको फेरबदलमा महासेठले स्थान पाएनन्। तर उनकी पत्नी जुली महतोलाई महिला बालबालिका तथा समाज कल्याणमन्त्री बनाइयो। 

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि ओलीले पुनः संसद् विघटन गर्ने बेला जुलीलाई मन्त्रिपरिषदबाट हटाएर महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुका साथै उपप्रधानमन्त्रीसमेत बनाइयो। 

यता जुलीकुमारी महतो पनि तीन दशकदेखि राजनीतिमा क्रियाशील छिन्। तर उनको  संसदीय यात्रा २०६४ मा मात्रै सुरु भयो। संविधानसभा सदस्य निर्वाचन २०६४ का बेला एमालेबाट उनी समानुपातिक सदस्य भइन्। संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा उनलाई नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले हराए। त्यसपछि २०७४ सालमा पुनः उनी  समानुपातिक सदस्य बनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .