ad ad

राजनीति


हुम्लामा छक्कबहादुर युगको अन्त्य

हुम्लामा छक्कबहादुर युगको अन्त्य

जीवनबहादुर शाही र छक्कबहादुर लामा।


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २२:९, काठमाडौँ

‘हुम्लामा आफूले जसलाई साथ दियो, हुम्लाको निर्वाचनमा त्यसैले विजय हासिल गर्छ’ भन्ने न्यारेटिभ पछिल्ला केही निर्वाचनबाट गर्न सफल भएका थिए, सो जिल्लाका निवर्तमान सांसद छक्कबहादुर लामाले।

२०४८ को आम निर्वाचनमा संयुक्त जनमोर्चाले विजय हासिल गरेका ९ सांसदमध्ये लामा एक थिए। 

तिनै लामाले २०७४ को आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजय हासिल गरेपछि यस्तो न्यारेटिभ निर्माण भएको थियो। 

वामगठबन्धनबाट माओवादीले पाएको हुम्लामा आफूलाई उम्मेदवार नबनाइएपछि छक्कबहादुर पार्टीबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका थिए। 

बागी छक्कबहादुर ८ हजार ४ सय ९१ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मतमा पाएका थिए। 
 

वाम गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका छिमी दोर्जे लामा २७ सय मतमा सीमित भए। 

२०६४ माओवादीले जितेपनि २०७० मा माओवादीले गुमाएको यो जिल्लामा स्वतन्त्र उम्मेदवारका रुपमा छक्कबहादुरले विजय हासिल गरेपछि हुम्लाको राजनीतिमा उनी नै निर्णायक हुन् न्यारेटिभ बनेको थियो।   

शाही शासनकालमा राज्यमन्त्रीसमेत बनेका उनी शान्ति प्रक्रिया सुरु भएपछि फेरि माओवादीमा फर्किए। २०७४ मा बागी बनेर उम्मेदवारी दिएपनि विजय हासिल गरेपछि उनलाई फेरि माओवादीले पार्टीमा भित्र्यायो। 

नेकपा विभाजनका बेला ओलीसँग निकट सम्बन्धमा रहेका उनी मन्त्री बन्ने सम्भावना नदेखेपछि माओवादीमै रहे। 

तर, राजनीतिक रुपमा अस्थिर स्वभावका कारण उनलाई माओवादीले टिकट नदिने भयो। माओवादी केन्द्रबाट छिरिङ डम्दुल लामा सत्तागठबन्धनको उम्मेदवार बने। 

प्रतिनिधि सभामा माओवादीले आफूलाई उम्मेदवार नबनाउने भएपछि उनी एमाले प्रवेश गरे। माओवादीले अपमान गरेकाले आफू एमाले प्रवेश गरेको र आफूमा टिकटको लोभ नभएको उनको कथन थियो।

प्रतिनिधि सभाको टिकटको आशाका साथ एमाले प्रवेश गरेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश सभाका लागि हुम्ला ‘ख’ को टिकट दिलाए। सो सिटमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही (नेपाली कांग्रेस) सत्तागठबन्धनको उम्मेदवार थिए। 

हुम्लामा माओवादी केन्द्र कांग्रेस र एमालेको प्रतिस्पर्धी दल हो। तर, पार्टीको पोलिटब्यूरो सदस्य रहेका लामा एमाले प्रवेश गरेपछि त्यहाँ माओवादी कमजोर हुने ठानिएको थियो। 

स्वतन्त्र उम्मेदवारका रुपमा २०७४ मा विजय हासिल गरेका कारण एमालेबाट उम्मेदवार बनेका लामाले हुम्ला ‘ख’ मा पनि यसपटक मुख्यमन्त्री शाहीलाई पराजित गर्न सक्छन् भन्ने आशा एमाले पंक्तिमा थियो। 

तर, उनी पराजित भए।   

तर हुम्लाको राजनीतिमा छक्कबहादुर लामा युगको अन्त्य भएको संकेत आम निर्वाचन– २०७९ को परिणामले गरेको छ। 

प्रतिनिधि सभाको सिटमा जारी मतगणनामा माओवादी केन्द्रका छिरिङ डम्दुल लामाले निरन्तर अग्रता लिइरहेका छन्। हुम्ला ‘क’ मा पनि माओवादी केन्द्रका रणसिंह परियारलेपनि एमाले उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरिसकेका छन्। 

अन्तिम मतगणनाको परिणाममा लामापनि भारी मतान्तरले पराजित भएका छन्। विजेता शाहीले ७ हजार ५६ मत प्राप्त गर्दा छक्कबहादुर २ हजार ९ सय ७९ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका छन्।  

शाही र लामाबीच ४ हजार ७७ मतको अन्तर छ। कम मत खसेको क्षेत्रमा यति मतान्तर निकै ठूलो हो। 

हिमाली जिल्ला हुम्लामा छक्कबहादुर लामालाई हुम्लाका पहिलो कम्युनिष्ट मानिन्थ्यो। पाँच भाषाका ज्ञातासमेत रहेकाले जिल्लामा उनको परिचय बौद्धिक राजनीतिक नेताका रुपमा थियो।  

जिल्लाको राजनीतिमा लामो समयदेखि निर्णायक रहेपनि यसपटकको पराजयले हुम्लामा उनी अब छक्कबहादुर लामा निर्णायक होइनन् भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .