म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्।
सत्तारुढ पाँचदलीय गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले पराजित गरेका हुन्।
गर्बुजाले २४ हजार २१ र श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका छन्। गर्बुजा २०७० र २०७४ सालमा एमालेका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए।
तेस्रो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले समर्थन गरेका थिए। यसअघि २०५६ सालमा म्याग्दीमा नेपाली कांग्रेसका उम्मेदवार नारायणसिंह पुनले चुनाव जितेका थिए।
म्याग्दीमा कांग्रेसले २३ वर्षपछि जित निकालेको हो। आइतबार भएको मतदानमा ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो। ९ जना उम्मेदवार थिए।
म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा यसअघिनै गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) निर्वाचित भएका छन्।
Shares
प्रतिक्रिया