राजनीति


कसैको आदेशका भरमा अभिलेखालय स्थानान्तरण हुँदैनः मन्त्री भट्टराई

कसैको आदेशका भरमा अभिलेखालय स्थानान्तरण हुँदैनः मन्त्री भट्टराई

नेपालखबर
असोज १७, २०७६ शुक्रबार १५:११,

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले कसैको आदेशका भरमा राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने बताएका छन्। अभिलेखालयको ५२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपयुक्त विकल्प तयार नभएसम्म ऐतिहासिक, पुरातात्विक सामग्री रहेको भवन नसर्ने स्पष्ट पारे।

‘ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण अभिलेख नेपाल भ्रमण वर्ष–२०२० मा देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ, पाँचौँ शताब्दीदेखिका अभिलेख पढ्न नेपाल आऊ भनी पर्यटकलाई निमन्त्रणा गरिनुपर्छ, अभिलेखालयलाई खुला विश्वविद्यालयका रुपमा विकास गरिनुपर्छ, अभिलेखालयमा ज्ञान लिन विश्वसमुदायलाई आह्वान गर्न सकिन्छ’, उनले भने।

अभिलेखालयमा जनशक्ति, साधन एवं स्रोत पूर्ति गर्न लागिपर्ने मन्त्री भट्टराईको प्रतिबद्धता थियो। अभिलेख व्यवस्थित रुपमा राख्न सक्ने कर्मचारी व्यवस्थापन गरिने उनले बताए। पूर्वमन्त्री ऋद्धिबाबा प्रधानले ३५ हजारभन्दा धेरै हस्तलिखित ग्रन्थ रहेको दक्षिण एशियाकै उत्कृष्ट अभिलेखालयको भवन वैज्ञानिक रुपमा निर्माण गरिएकाले सार्न नहुने बताए।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सिल्भाँ लेभीले राष्ट्रिय अभिलेखालयमै अध्ययन गरेर नेपालको इतिहाससम्बन्धी दुई पुस्तक लेखेको स्मरण गर्दै हजारौँ सन्दर्भ सामग्रीको संरक्षण गर्नुपर्नेमा जोड दिए। ‘भौतिक समृद्धि मात्र नभई सांस्कृतिक सम्पत्तिमा पनि हाम्रो ध्यान जानुपर्छ, महर्षि याज्ञवल्क्य, गौतम बुद्ध जस्ता ऋषि महर्षिको योगदान जीवित राख्न पनि सांस्कृतिक सम्पत्ति जोगाउन ध्यान दिनुपर्छ’, उनले भने।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चालू आर्थिक वर्षमा ५५ हजार ग्रन्थलाई ‘डिजिटलाइज्ड’ गर्न बजेट व्यवस्था गरिएको बताए। प्राचीन सामग्री अभिलेखालयलाई हस्तान्तरण गरी सहयोग गर्न पनि उनले आह्वान गरे। मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले अभिलेखालयमा आदिकालदेखि हालसम्मका अभिलेख सुरक्षित रहेकाले सभ्यता र संस्कृतिको बिम्बका रुपमा स्थापित गरिनुपर्ने बताए।

अभिलेखालयको भवन रहेको जग्गा सर्वोच्च अदालतलाई दिन मन्त्रिपरिषद्ले विसं २०७१ मा गरेको निर्णय फिर्ता लिनुपर्ने उनको माग थियो। पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले अभिलेखालयलाई विभागस्तरमा स्तरोन्नति गरिएसँगै यसको सङ्गठन संरचना निर्माण गरिनुपर्ने बताए। अभिलेखालयलाई अध्ययन अनुसन्धानको थलोका रुपमा स्थापित गर्न उपकरण एवं साधन स्रोतको व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो।

अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानाङ्गले ऐतिहासिक सामग्री सङ्ग्रह गर्न वातानुकूलित रुपमा निर्माण गरिएको भवन बिना तयारी सार्न पत्राचार भइरहँदा कार्यालय सञ्चालनमै प्रभाव परेको गुनासो गरे। सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष जोशीलाई अभिनन्दन गरिएको थियो।

कार्यक्रममा अभिलेखालयले प्रकाशन गरेको ‘परागतन्त्र’ र ‘प्रथम लगत’ पुस्तकको विमोचन गरिएको थियो। पुस्तकमाथि क्रमशः माधवप्रसाद लामिछाने र भीमप्रसाद नेपालले समीक्षात्मक मन्तव्य राखेका थिए। अभिलेखालयलाई ऐतिहासिक सामग्री दिनुहुने त्रिलोकमान आङ्बो, सुशीलविक्रम थापा, साफल्य अमात्य र भगीरथ इङनामलाई सो अवसरमा सम्मान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .