ad ad

राजनीति


काठमाडौंमा सीले घोषणा गर्ने ‘सरप्राइज’ सहयोग के होला?

काठमाडौंमा सीले घोषणा गर्ने ‘सरप्राइज’ सहयोग के होला?

चन्द्रलाल गिरी
असोज ४, २०७६ शनिबार १०:४१,

असोज अन्तिम साता पहिलो नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई अहिलेसम्मकै ठूलोे राशीको ‘सरप्राइज’ सहयोग घोषणा गर्ने संकेत मिलेको छ।

२३ वर्षपछि हुने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा काठमाडौंमा सी आफैले कुनै आयोजना उपहार स्वरुप बनाइदिने घोषणा गर्न सक्ने भ्रमणको तयारीमा जुटेका उच्च अधिकारीहरूले जनाएका छन्।

‘राष्ट्रपति सीले नेपाललाई कुनै एक परियोजना पूरै अनुदानमा बनाइदिने ‘सरप्राइज’ घोषणा गर्ने सम्भावना बढेको छ’, भ्रमणको तयारीमा संलग्न एक उच्च स्रोतले भन्यो, ‘नेपाललाई दिइने यस्तो सहयोग २३ वर्षसम्म चीनका राष्ट्राध्यक्षबाट भ्रमण नभएको अवस्थालाई बिर्साउने खालको हुनेछ, नेपालले नसोचेको ‘सरप्राइज’ पाउँदैछ।’

‘सरप्राइज’ का रुपमा सहयोग घोषणा गर्ने योजना रहेकाले त्यसलाई औपचारिक एजेण्डामा नराखेर गोप्य राखिएको बुझिएको छ।

२४ असोजमा भारत भ्रमणमा जान लागेका राष्ट्रपति सी सम्भवतः असोज २७ गते नेपाल आउने छन्। यद्यपी नेपाल र चीन दुवै पक्षले भ्रमणको सूची औपचारिक रुपमा सार्वजनिक गरेका छैनन्।

त्यस्तो ‘सरप्राइज बाकस’ भित्र के होला, जुन सीले काठमाडौंमा खोल्नेछन्?

सी भ्रमणको तालिका र एजेण्डा अझै गोप्य नै राख्ने प्रयास गरिरहेका काठमाडौंस्थित चिनियाँ दूतावासका एक अधिकारीले त्यसलाई सांकेतिक रुपमा मात्रै अथ्र्याए।

उनले भने, ‘नेपाल र चीनको सीमामा रहेका सेताम्य अग्ला हिमश्रृंखला पर्खालका रुपमा रहँदै आएका थिए। हिमालीे पर्खालले नेपाल–चीनबीचको सम्बन्धलाई छेकेको मानिथ्यो। राष्ट्रपति सीको नेपाल भ्रमणपछि अग्ला र दन्त लहरजस्तै मिलेका हिमाली श्रृंखलाहरु नेपाल–चीन मैत्री सम्बन्धका सेतु बन्नेछन्, व्यवहारिक रुपमै। प्रविधि र आधुनिकतासँगै हिमालको परिभाषा पर्खालबाट मित्रताको सेतुमा परिणत हुँदै गर्दा चीनको दक्षिण एशिया प्रवेश मार्ग नेपाल बन्नेछ। सी भ्रमणको मुख्य सन्देश यही हुनेछ र, सीले दिने ‘सरप्राइज’ उपहार यही सन्देशभित्र खोज्नुपर्छ।’

हिमालीे पर्खाललाई मैत्रीपूर्ण सम्बन्धमा विकास गर्ने पहलको थालनी नेपालका तत्कालीन राजा महेन्द्र र चीनका नेता माओले कोदारी राजमार्ग बनाउने घोषणा गरेसँगै भएको थियो। त्यसको करिब ६० वर्षपछि नेपालसम्म रेलमार्ग जोडेर माओको सपना पूरा गर्ने ऐतिहासिक अवसर राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुर्ने देखिएको छ।

सात एजेण्डा तयः पहिलो रेल, पाचौं मदनभण्डारी विश्वविद्यालय
नेपालले सुरुमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत ३५ वटा परियोजना प्रस्ताव गरेको थियो। पछि चीनको सुझावमा त्यो सूचीबाट नौ वटा छनोट गरिएको थियो।

राष्ट्रपति सीको भ्रमणको तयारीमा दुई साताअघि चीनका विदेशमन्त्री वाङ यी नेपाल आए, उनीसँग छलफलको आधारमा अहिले सात वटा परियोजना छनोट गरिएको छ। सीको भ्रमणको क्रममा तिनै सात वटा परियोजनामा समझदारी गर्ने अन्तिम तयारी भइरहेको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सात वटाभित्र अझै केही परियोजना हेरफेर हुन पनि सक्नेछन्। सी भ्रमण क्रममा नेपाल र चीनबीच यस्तो सात बुँदे समझदारी गर्ने अन्तिम तयारी भइरहेको छः

१. केरुङ–काठमाडौं रेलमार्ग
राष्ट्रपति सीले कस्तो ‘सरप्राइज’ सहयोग घोषणा गर्नेछन् भन्ने कुरा अनुमानको गर्भभित्रै छ। यद्यपी सीले केरुङ–काठमाडौं रेलमार्ग यो भ्रमणको प्राथमिक एजेण्डामा राखेको बुझिएको छ। सीको पहलमा अगाडि बढेको बीआरआईको मुख्य पक्ष नै अन्तरदेशीय कनेक्टिभिटि हो, जसमा एउटा मुख्य पक्ष रेल र सडकमार्गहरूको निर्माण हो।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको क्रममा राष्ट्रपति सीले नेपाललाई चीनको रेल सञ्जालसँग जोडन आफैं सक्रिय भएर लागेको बताएका थिए। उनले तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग नेपालतर्फ विस्तार गर्ने योजना बनाउन तिब्बत सरकारलाई निर्देशन दिइसकेको जनाएका थिए।

त्यसयता चिनियाँ अधिकारीहरुले विश्वमै जटिल मानिएको यो हिमालयपार रेलमार्गको प्राविधिकसहित अन्य पक्षबारे मिहिन अध्ययन गरिरहेका छन्।

वाङको नेपाल भ्रमण लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग चीनको एजेण्डा बनिसकेकोे बताउनुले पनि बेइजिङको मुख्य चासोलाई व्यक्त गर्छ।

वाङसँगको वार्तामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी विश्वविद्यालयलाई पहिलो प्राथमिकतामा राखेपनि वाङको भनाइले बीआरआई अन्तर्गत चीनको पहिलो प्राथमिकता रेलमार्ग रहेको बुझिएको छ।

‘मदन भण्डारी विश्वविद्यालय सीको भ्रमणको एउटा एजेण्डा बन्ने छ तर यो अहिले पाँचौं बुँदामा धकेलिएको छ’, उच्च भ्रमणको एजेण्डा तय गर्न भूमिका खेलेका नेकपाका एक जना नेता भन्छन्, ‘राष्ट्रपति सीको इच्छा अनुसार रेलमार्ग पहिलो प्राथमिकतामा परेको छ।’

केरुङ–काठमाडौं रेलमार्ग परियोजनालाई तीन चरणमा राखेर वर्गीकरण गरिएको छ। पूर्व–संभाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माण। गत वर्षको मंसीरमा नै रेलमार्गको पूर्व संभाव्यता अध्ययन सम्पन्न गरी चिनियाँ टोलीले बेइजिङ र काठमाडौंलाई प्रतिवेदन बुझाई सकेको छ। 

त्यसैले यसपाली सीको नेपाल भ्रमणको अवसरमा रेलमार्गको डीपीआर तयार गर्ने सम्झौता हुने स्रोतहरूले जनाएका छन्।

‘नेपालका लागि यो ठूलो उपलब्धी हुनेछ, अन्यौलमा रहेको केरुङ–काठमाडौं रेलमार्ग कार्यान्वयनको चरणमा प्रवेश गर्नुले ठूलो अर्थ राख्नेछ’, नेकपाका ती नेता भन्छन्, ‘रेलमार्ग निर्माणको चरणमा पनि चीनको ठूलो सहयोग हुने नै छ।’

२. रसुवागढी–काठमाडौं सडकमार्ग
बीआरआईको दोस्रो बुँदा अर्थात सी भ्रमणको दोस्रो एजेण्डा बनेको छ, रसुवागढी–काठमाडौं सडकमार्गको विस्तार। जसमा टोखा–छहरे सुरुङमार्ग र स्याफ्रुबेसी–मैलुङ खण्डको स्तरोन्नती छन्। यो खण्डमा सुरुङमार्ग पनि बनाउन सकिने विषयमा छलफल भइरहेको छ।

काठमाडौंबाट रसुवागढीसम्मको दूरी सय किलोमिटरभन्दा कम हुने गरी काठमाडौंको उत्तरी क्षेत्र सामाखुसीबाट टोखा हुँदै नुवाकोटको छहरे–त्रिशूली–बेत्रावती–मैलुङ–रसुवागढी सडकलाई नेपालले पनि प्राथमिकतामा राखेको छ। चिनियाँ नाका केरुङसम्म छोटो समयमै पुग्न सकिने सडकमार्गको निर्माण सरकारको प्राथमिकतामा परेको हो।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बिहिबार बुढानिलकण्ठ नगरपालिकाको एक कार्यक्रममा चीनसँग टोखा–छहरे राजमार्ग निर्माणसम्बन्धी सम्झौता हुने बताइसकेका छन्।

गल्छी हुँदै त्रिशूली पुग्न ८० किमि बाटो पार गर्नुपर्छ भने सामाखुसी–टोखा हुँदै त्रिशूली ५२ किमिमै पुग्न सकिन्छ। टोखा भएर त्रिशुली जाँदा २८ किमिको यात्रा छोटिन्छ। सुरुङमार्ग बनेपछि ५२ किमिबाट घटेर ४२ किमि मात्र हुनेछ। सुरुङले मात्रै १० देखि १२ किमि दूरी घटाउने छ।

सामाखुसीदेखि छहरे खोलासम्मको ३४.२ किमि सडक खण्डलाई डबल लेनमा विस्तार गर्न लागिएको छ। जसअन्तर्गत टोखादेखि नुवाकोटको छहरेसम्म ४.१७५ किमि लामो सुरुङमार्ग निर्माण हुनेछ।

हाल काठमाडौंबाट गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेसी–केरुङसम्मको दुरी १ सय ७४ किमि छ। टोखा–छहरे सुरुङमार्ग बनेपछि भने केरुङसम्मको दूरी सय किमिभन्दा कम हुनेछ।

३. अरनिको (कोदारी) राजमार्ग स्तरोन्नती
बीआरआई अन्तर्गत अहिले छनोट भएका सात बुँदामध्ये तेस्रो हो अरनिको राजमार्गको स्तरोन्नती। ०७२ सालको भूकम्पले ध्वस्त भएको अरनिको राजमार्ग संचालन गर्न नेपाललाई चीनले सहयोग गर्ने सहमती भैसकेको छ।

उच्च भ्रमणमा यो राजमार्गको पुर्नसंरचना र स्तरोन्नती गर्ने एजेण्डा तेस्रो नम्बरमा परेको छ।

४. किमाथांका र कोरला नाका खोल्ने
प्रदेश १ को संखुवासभाको किमाथांकास्थित नेपाल–चीन सिमा नाका खोल्ने तयारी भइरहेको छ। जोगवनी–किमाथांका जोड्ने कोसी कोरिडोर निर्माणधिन छ। राष्ट्रिय गौरवका परियोजनाभित्र परेको यो राजमार्ग उत्तरी सिमा नाका खुलेपछि पूर्वको एउटा मुख्य करिडोर हुने विश्वास गरिएको छ।

त्यस्तै प्रदेश ४ र ५ दुवैको साझा नाकाको रुपमा मुस्ताङको कोरला नाका पनि खोल्ने तयारी भइरहेको छ। सुनौली–बुटवल हुँदै कालीगण्डकी कोरिडोर भएर कोरला नाका चीनसम्म जोडिन्छ। सी भ्रमणको अवसरमा किमाथांका र कोरला नाका खोल्ने सम्झौता गर्ने तयराी अगाडि बढेको छ।

५. मदन भण्डारी विश्वविद्यालय
नेकपा (एमाले) का तत्कालीन महासचिव तथा नेपालका लोकप्रिय नेता मदन भण्डारीको नाममा विज्ञान तथा प्राविधि विश्वविद्यालय स्थापना गर्ने विषयलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले उच्च प्राथमिकतामा राखेका छन्।

बीआरआई अन्तर्गत सय वटा विश्वविद्यालय स्थापना गर्ने योजनामा मदन भण्डारी विश्वविद्यालय पनि समावेश गरिदिन नेपालबाट चीनलाई प्रस्ताव गरिएको छ। मकवानपुरको चित्लाङमा बनाउने प्रस्ताव गरिएको यो विश्वविद्यालय स्थापना गर्न चीनले सहमती जनाइसकेको बुझिएको छ।

६. अपर अरुण र तमोर जलविद्युत आयोजना
राष्ट्रपति सीको नेपाल भ्रमणको अर्को एजेण्डा हो, अपर अरुण र तमोर जलविद्युत आयोजनाको निर्माण। बुढीगण्डकी परियोजना विवादमा परेपछि सरकारले चीनको सीमा नजिकै १००० मेगावाटको अपर अरुण र ७ सय ६२ मेगावाट क्षमताको तमोर जलासयुक्त आयोजनामा लगानी गर्न चीनलाई प्रस्ताव गरेको छ।

७. काठमाडौंमा रिङरोडको बिस्तार
२७ किलोमिटर लामो काठमाडौंको रिङरोडको कोटेश्वर–कलंकी १० किमि खण्ड चीन सरकारको सहयोगमा बिस्तार भइसकेको छ। रिङरोडको बाँकी खण्डको विस्तार पनि चीनले सहयोग गर्नेगरी सम्झौताको तयारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .